छापा खबर


वर्षा विपद्ः काठमाडौं उपत्यकामा ४ को मृत्यु, १ बेपत्ता, यस्तो छ घटना

वर्षा विपद्ः काठमाडौं उपत्यकामा ४ को मृत्यु, १ बेपत्ता, यस्तो छ घटना

नेपालखबर
असार २८, २०७६ शनिबार १:५,

लगातार वर्षापछि आएको पहिरोले पुरिएर काठमाडौं र ललितपुरमा गरी ४ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन्।

उपत्यकाका तीनै जिल्लाका खोला आसपासका क्षेत्र डुबानमा परेका छन्।

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–६, मूलपानी बाबाचोकस्थित अस्थायी टहरामा बस्दै आएका ३५ वर्षीया शर्मिला यादव, ३० वर्षीया नीतु यादव र १० वर्षीय कुन्दन यादवको मृत्यु भएको हो।

अस्थायी टहरामा बस्दै आएका उनीहरूलाई सँगैको घरको पर्खाल ढलेर पुरेको प्रहरीले जनाएको छ।

शर्मिला र कुन्दन आमा छोरा हुन्। बारा, देवताल गाउँपालिकाकी शर्मिलाको परिवार डेढ वर्षदेखि मूलपानी बस्दै आएको थियो।

शर्मिलाका पति र देवर मिलेर बाबाचोकमा जग्गा भाडामा लिई ६ महिनाअघि टहरो बनाएर बसेका थिए।

उनीहरू नजिकै मोटरसाइकल ग्यारेज र सिरक–डसना पसल चलाउँछन्। दाजुभाइकै परिवार राति त्यही टहरामा बस्थे । श्रीमान् र देवर शुक्रबार बिहानै आ–आफ्नो काममा निस्कएका थिए ।

टहरामा सर्मिला, देउरानी निलु र छोरा कुन्दन मात्र थिए । दिउँसो अचानक टहरादेखि माथि रहेको पक्की घरको ‘प्रोटेक्सन वाल’ भत्किएर उनीहरूलाई थिच्यो । ढिस्कोमा रहेको बलराम खतिवडाको घर परिसरमा बनाइएको पिल्लर र बिमसहितको पर्खाल भत्किएको हो। तीनै जनाको घटनास्थलमै मृत्यु भएको स्थानीयले जानकारी दिए ।

पर्खालले टहरो पुरिनासाथ सशस्त्र, नेपाली सेना र प्रहरीको संयुक्त टोली उद्धारका लागि आएको थियो । टोलीले करिव डेढ घण्टा लगाई पिल्लर, डन्डी काटेर तीन जनाको शव निकालेको स्थानीयले जानकारी दिए ।

त्यसैगरी ललितपुरको वाग्मती गाउँपालिका २, बगुवामा पञ्चलाल जिम्बाको घर पहिरोमा पर्दा ११ वर्षीय शरद जिम्बाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार करिब ११ बजे खसेको पहिरोले जिम्बालाई पुरेको हो। यो खबर आजको कान्तिपुरमा प्रशान्त मालीले लेखेका छन्।

काठमाडौंको कुलेश्वरमा मनमती खोलाले बगाएर ल्याएको सिलिन्डर निकाल्न जाने क्रममा बाढीले बगाउँदा ३० वर्षीय विनोद चौधरी बेपत्ता भएका छन्।

उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। मनमतीको बाढी बल्खुको बस्तीमा पसेको छ भने कलंकीस्थित मालपोत र ट्राफिक प्रहरीको कार्यालय डुबानमा परेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad