कुलेश्वरको व्यवस्थित ओरियन्टल कोलोनीभित्र नै बाढी पसेर भुइँतला डुबानमा पर्यो ।
यीसँगै भक्तपुरको राधेराधे र ललितपुरको पाटन क्षेत्रका बाढीपीडितलाई सशस्त्र प्रहरीले बोटबाट उद्धार गर्यो। यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।
त्यस्तै, ग्वार्कोस्थित किस्ट अस्पतालको भुइँतलामा पानी पसेपछि बिरामीहरूको उपचारसमेत प्रभावित भयो ।
बिहीबारदेखि सुरु भएको अविरल वर्षाका कारण पहाडमा पहिरो गएको छ भने काठमाडौं उपत्यका र तराई डुबानमा परेका छन् । शुक्रबार रातिसम्म १८ जनाको मृत्यु भएको गृह मन्त्रालयले पुष्टि गरेको छ । सात बेपत्ता छन् । मृतक र बेपत्ताहरूको संख्या थपिने क्रम जारी छ।
विपद्मा उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाबाट विशेष टिम परिचालन गरिएको छ । उपत्यकामा डुबान भएका क्षेत्रमा डुंगासहित नेपाली सेना र सशस्त्र प्रहरीको टोली खटिएको छ।
तराईमा पनि सेना र सशस्त्र प्रहरीका विशेष टोली खटिएका छन् । पहाडी जिल्लाहरूका लागि पनि उद्धारमा सुरक्षा टोलीहरू राखिएको गृह मन्त्रालयले जनाएको छ।
शुक्रबार विभिन्न ठाउँबाट उद्धारका लागि हेलिकोप्टर माग भएको थियो । उद्धारका लागि तीन ठाउँमा हेलिकोप्टर स्ट्यान्डबाई राखिएका थिए । तर, प्रतिकूल मौसमका कारण उडान हुन सकेन।
यसपटक पूर्वसूचना प्रणाली प्रभावकारी भएको छ । एक्सन प्लानअनुसार जिल्लाजिल्लामा उद्धार र पूर्वतयारीका काम भइरहेका छन् ।
स्थानीय तहबाट समेत प्रभावकारी काम भइरहेको छ । सुरक्षा निकाय, सडक विभागलगायत निकायका संयुक्त टोलीहरू पनि परिचालन भएका छन् । रणनीतिक ठाउँमा विशेष टोलीहरू खटिएका छन् ।

प्रतिक्रिया