छापा खबर


सगरमाथाको मापन : उचाइ बढ्ला कि घट्ला?

सगरमाथाको मापन : उचाइ बढ्ला कि घट्ला?

नेपालखबर
जेठ १७, २०७७ शनिबार ३:२७,

नेपालले सगरमाथाको मापन अन्तिम चरणमा पुर्‍याइरहेको बेला चिनियाँ सर्भे टोलीले सगरमाथा शिखरमै पुगेर मापन कार्य पूरा गरेको छ।

६५ वर्षअघि सन् १९५५ मा मापन भएको सगरमाथाको उचाइ हालसम्म ८ हजार ८ सय ४८ मिटर अर्थात् २९ हजार २८ फिट मानिँदै आइएको छ। सगरमाथाको नयाँ मापनले अब नयाँ उचाइ कति छ भन्ने विषयमा यथार्थ विवरण आउनेछ। यो खबर आजको राजधानी दैनिकमा निराजन पौडेलले लेखेका छन्।

सन् २००५ मा चिनियाँ नापी सर्भेपछि सगरमाथाको उचाइ ८ हजार ८ सय ४४ दशमलव ४३ रहेको र त्यसमा हिउँको उचाइ चार मिटर रहेको निष्कर्ष निकालिएको थियो । चिनियाँ पक्षले निकालेको सर्भे विवादमा आएपछि सन् २०१० मा नेपाल र चीनबीच सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटर नै कायम गर्ने गरी सहमति जुटेको थियो।

चिनियाँ सर्भेमा रहेका ३० जना सगरमाथाको शिखरमा पुगेर फर्केपछि नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल र चीनले संयुक्त रूपमा सगरमाथाको उचाइ सार्वजनिक गर्ने बताएकी छन्।

राजदूत यान्छीले ट्वीट गर्दै चिनियाँ सर्भेयरले पनि चुचुरोमै पुगेर सगरमाथाको नाप लिएको बताएकी छन् । उनले ट्वीटरमा फोटो पोस्ट गरेर २६ मे २०२० मा चिनियाँ सर्भेयर टोली सगरमाथाको चुचुरोमा पुगेको बताइन्।

नेपालका तर्फबाट भने सगरमाथा मापनको अन्तिम काम अझै बाँकी रहेकाले उचाइ तत्काल सार्वजनिक नहुने नापी विभागका सूचना अधिकारी दामोदर ढकालले बताए। चीन र नेपालले सगरमाथाको उचाइ सार्वजनिक गर्ने विषयमा नापी विभागलाई कुनै जानकारी नभएको ढकालको भनाइ छ।

‘हामी अहिले तथ्यांक प्रशोधन गर्ने काम गरिरहेका छौं,’ अब छिट्टै काम पूरा गरी सगरमाथाको उचाइ सार्वजनिक गर्नेछौं,’ ढकालले भने।

सगरमाथा उचाइ मापन सचिवालयका अनुसार सन् २०१७ को डिसेम्बरमा अन्तर्राष्ट्रिय कार्यशाला गोष्ठी सम्पन्न गरेपछि नेपालले पहिलोपटक आफैंले सगरमाथाको उचाइ नाप्ने प्रक्रिया अघि बढाएको हो ।

सन् १९५४ मा भारतीय नापी विभागले सगरमाथाको उचाइ नापेको थियो। त्यसयता सगरमाथाको आधिकारिक उचाइ ८ हजार ८ सय ४८ मिटर रहेको मानिँदै आइएको छ। तर, २०७२ सालमा नेपालमा गएको भूकम्पका कारण उचाइ घटेको समाचार अन्तर्राष्ट्रिय समाचार माध्यममा आएसँगै सगरमाथाको उचाइ पुनः मापन गर्न थालिएको हो।

सन् १९९९ मेमा अमेरिकन टोलीले जीपीएस प्रणालीबाट सगरमाथाको उचाइ नापेर थप दुई मिटर अग्लो रहेको जनाएको थियो । अहिलेको अध्ययनले सगरमाथाको उचाइबारे देखिएको विवादलाई आधिकारिक रूपमा समाधान गर्ने नापी विभागका सूचना अधिकारी ढकालले बताए।

सबैभन्दा पहिलोपटक ‘द ग्रेट ट्रिगोनोमेट्रिक सर्भे’अन्तर्गत ब्रिटिस उपनिवेशकालीन समयमा भारतीय उपमहाद्वीपको वैज्ञानिक नक्सांकन गर्ने क्रममा सन् १८४७ मा सर्भे अफ इन्डियाले सगरमाथाको उचाइ ८ हजार ८ सय ७८ मिटर रहेको घोषणा गरेको थियो।

सन् १९६६ ६८ मा चीनले सगरमाथा मापनको काम अघि बढाएको थियो। पहिलोपटकको चिनियाँ सर्वेक्षणमा सगरमाथाको उचाइ ८ हजार ८ सय ५० मिटर देखिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad