छापा खबर


भारतकै तीनवटा नक्सामा कालीको मुहान लिम्पियाधुरा

भारतकै तीनवटा नक्सामा कालीको मुहान लिम्पियाधुरा

नेपालखबर
जेठ १, २०७७ बिहिबार १:१४,

नेपालको भूमि अतिक्रमण गर्दै भारतले चीनको स्वशासित क्षेत्र तिब्बतमा रहेको कैलाश, मानसरोवरसम्म जाने गरी निर्माण गरेको सडक वैशाख २६ गते उद्घाटन गरेपछि लामो समयदेखिको नेपाल–भारत सीमा विवाद पुनः चर्किएको छ।

सन् २०१५ मे १४-१६ मा भएको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणताका भारत र चीनबीच नेपालको लिपुलेक हुँदै उक्त सडक निर्माण गर्ने सम्झौता भएको थियो।

सडक उद्घाटन भएपछि नेपाल सरकारले कडा विरोध जनायो तर भारतले भने वार्ताका लागि बस्ने भन्दै सडक भारतीय भूमिमा नै निर्माण भएको दाबी गर्‍याे।

त्यही विषयलाई लिएर परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले वैशाख २९ गते नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्रालाई परराष्ट्र मन्त्रालयमा बोलाएर नेपालको कूटनीतिक विरोध पत्र पनि भारत सरकारलाई दिए। संसद् र सडकमा पनि भारतीय कदमको विरोध भएका छन्।

पछिल्लो समय भारतले सडक बनाएको क्षेत्रलाई आफ्नो भूमि दावी गरे पनि भारतकै तीनवटा नक्सामा कालापानीको मुहान लिम्पियाधुरा देखाइएको खबर आजको गोरखापत्र दैनिकमा केदार भट्टराइले लेखेका छन्।

पछिल्लोपटक सन् २०२० मा जारी भएको भारतको राजनीतिक नक्सामा खोल्सीलाई काली नदी मानिएको छ। तर त्यसको तीन वर्षअघि सर्वे अफ इन्डियाबाट सन् २०१७ मा प्रकाशित भारतको राजनीतिक नक्सामा भने लिम्पियाधुरामा मुहान रहेको नदीलाई नै काली नदी मानिएको छ।

नदीहरुको जलप्रवाहको स्थिति, हिमाल र पहाडको पानी ढलोको अध्ययन गर्दै नदी क्षेत्रहरुको अध्ययन गरिएको अर्को एउटा नक्सामा पनि काली नदीलाई लिम्पियाधरासम्म रहेको देखाइएको छ।

भारतको उत्तराखण्डको नदी प्रणाली देखाउँदै सन् २००७ मा जारी भएको अर्को नक्सामा लिम्पियाधुरासम्मको क्षेत्रलाई पनि समेट्ने गरी माथिल्लो काली (अप्पर काली) भनी उल्लेख भएको पाइन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad