छापा खबर


पासको दुरुपयोग भएपछि उपत्यकामा ‘टाइम कार्ड’ लागू, बिनाप्रयोजन हिँडे पास नै जफत हुने

पासको दुरुपयोग भएपछि उपत्यकामा  ‘टाइम कार्ड’ लागू, बिनाप्रयोजन हिँडे पास नै जफत हुने

नेपालखबर
बैशाख २८, २०७७ आइतबार १:२७,

सरकारले काठमाडौं उपत्यकामा सवारी साधन चलाउन पासका साथै टाइम कार्ड लागू गरेको छ।

यसअघि पासका आधारमा मात्र सवारी सञ्चालन गर्न पाइएकामा अब भने टाइम कार्डअनुसार सवारी चलाउनुपर्ने भएको खबर आजको राजधानी दैनिकमा टेनिस रोकाले लेखेका छन्।

सरकारले काठमाडौं उपत्यकामा कुन क्षेत्रका लागि कुन समयमा सवारी चलाउन पाउने भनेर समय विभाजन गरेको छ । अबदेखि काठमाडौं उपत्यकामा पास भएका सवारीले पनि टाइम कार्डअनुसार मात्र सवारी चलाउन पाउनेछन्।

उपत्यकाका तीन जिल्लाकै प्रमुख जिल्ला अधिकारी, महानगरीय प्रहरी प्रमुख, ट्राफिक प्रहरीसहित सरोकारवाला निकायको शुक्रबार बसेको बैठकले उपत्यकामा टाइम कार्डका आधारमा सवारी सञ्चालन गर्न दिने निर्णय गरेको हो।

ट्राफिक प्रहरी प्रमुख एसएसपी भीम ढकालले कोरोनाको संक्रमण नफैलियोस् भनेर सजकता अपनाउन भीडभाड कम गर्ने उद्देश्यले टाइम कार्ड प्रयोगमा ल्याइएको जानकारी दिए । उनले आइतबारदेखि जसलाई जुन समय छुट्याइएको छ, त्यहीँ समयमा मात्र सवारी चलाउने पाउने बताए।

औषधि, खानेपानी बोकेका सवारी साधनका लागि भने जुनसुकै समय खुला गरिएको छ । एसएसपी ढकालका अनुसार आइतबारदेखि सरकारी कार्यालयका कर्मचारी बिहान ९ बजेदेखि साढे १० बजेसम्म कार्यालय जान र बेलुका ५ बजेदेखि ६ बजेसम्म घर फर्कने समय तोकिएको छ।

यसैगरी, बैंक तथा वित्तीय संस्थाका कर्मचारीका लागि बिहान ९ बजेदेखि साढे १० बजेसम्म गइसक्नुपर्ने र बेलुका साढे ३ बजेदेखि ५ बजेसम्म फर्कनुपर्ने छ।

खाद्यान्न, तरकारी तथा अत्यावश्यक खाद्य सामग्री बोकेका सवारी साधन सामान्यतया बिहान १० बजेभित्र ढुवानी गरिसक्नुपर्नेछ । निर्माण सामग्री बोकेका ठूला सवारीलाई बेलुका ८ बजेपछि मात्र बिहान ६ बजेसम्म उपत्यकाभित्र प्रवेश गर्न पाउने समय तोकिएको छ।

 ट्राफिक प्रमुख ढकालले पास भएका सवारी साधनहरू दिउँसो सञ्चालन गर्न पाइने भएपछि सही प्रयोजनका लागि मात्र सञ्चालन गर्नुपर्नेछ । ‘पास भएकाहरूले दिउँसो गुड्न पाउँछन् तर बिनाप्रयोजन हिँडेको रहेछ भने प्रहरीले नियन्त्रणमा लिन्छ, पास पनि जफत हुन्छ।’

ट्राफिक प्रहरीले यसअघिदेखि नै पासको दुरुपयोग गर्नेहरूमाथि निगरानी बढाउँदै आएको छ । पासको दुरुपयोग गर्नेहरूको जफत गर्दै आएको छ भने बिनापास हिँडडुल गर्नेहरूलाई नियन्त्रणमा लिँदै आएको छ।

ट्राफिक प्रहरीले शनिबार मात्र उपत्यकामा झन्डै हजारको संख्यामा लकडाउन उल्लंघन गर्ने सवारी साधनलाई नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad