छापा खबर


नेकपामा समझदारी : आफ्नै सहकर्मीका कारण प्रचण्ड-नेपाल समूह दबाबमा थियाे

नेकपामा समझदारी : आफ्नै सहकर्मीका कारण प्रचण्ड-नेपाल समूह दबाबमा थियाे

नेपालखबर
बैशाख २१, २०७७ आइतबार २३:५६,

प्रधानमन्त्री केपी ओलीले आत्मालोचना गरेर सचिवालय बैठक सुरु गरेपछि नेकपा विवाद समझदारीउन्मुख भयो । तर, ओलीले त्यसो नगरेको भए पनि आफ्नै सहकर्मीहरूका कारण प्रचण्ड–नेपाल समूह सम्झौताका लागि दबाबमा परिसकेको थियो।

प्रधानमन्त्री ओलीले संसदीय दलमा बहुमत पुर्‍याउन हस्ताक्षर अभियान चलाए पनि उनले बहुमत पुर्‍याउन सकेका थिएनन् । खासगरी प्रचण्ड–नेपाल समूहनिकट मानिने मन्त्रीहरूले प्रधानमन्त्रीको अभियानमा हस्ताक्षर गरेका थिएनन् ।

तर, उनीहरूले सरकारको नेतृत्व परिवर्तन गर्ने योजनालाई पनि खुलेर साथ नदिएका खबर आजको नयाँ पत्रिका दैनिकमा शुरोजंग पाण्डेले लेखेका छन्।

पूर्वमाओवादी समूहका रामबहादुर थापा बादल र लेखराज भट्ट खुलेरै प्रधानमन्त्रीको पक्षमा उभिए । त्यस्तै, वनमन्त्री शक्ति बस्नेत पनि सरकार परिवर्तनको पक्षमा थिएनन् । ऊर्जामन्त्री वर्षमान पुन पनि तटस्थ बसेका थिए।

उता पूर्वएमाले समूहका घनश्याम भुसाल पनि सरकार परिवर्तनको पक्षमा सक्रिय भएनन् भने अर्का मन्त्री योगेश भट्टराईले त माधव नेपाल समूहको बैठकमा खुलस्त भनेका थिए, ‘हाम्रा असहमति राखौँ, तर प्रधानमन्त्री नै परिवर्तन गर्ने माग अहिले उठाउन उचित हुँदैन भन्ने मलाई लाग्छ।’

उता भैंसेपाटी भेटघाटपछि पार्टी सचिवालयमा बहुमतमा रहेको गठबन्धन बालुवाटार पुग्दासमेत उल्टो भइसकेको थियो । महासचिव विष्णु पौडेल प्रधानमन्त्रीको पक्षमा उभिएनन् मात्र, उनले उपाध्यक्ष वामदेव गौतमलाई पनि ओलीको पक्षमा पुर्‍याए ।

गौतमलाई प्रतिनिधिसभामा जिताउने र प्रधानमन्त्री बनाउने ओलीको घोषणाका योजनाकार पौडेल नै हुन् । यसरी सचिवालयमा ओलीको पक्षमा पाँच र विपक्षमा चारजना मात्र हुने अवस्था आयो ।

तैपनि पार्टी स्थायी समिति, संसदीय दल र केन्द्रीय कमिटीबाट ओलीलाई दबाबमा राख्न सक्ने विकल्प प्रचण्ड–ओलीसँग थियो ।

तर, ओलीले ‘पार्टी नै फुट्छ कि जस्तो भयो, अब तितोपिरो बिर्सौँ, म प्रधानमन्त्री र पार्टी अध्यक्षको रूपमा मैले आत्मालोचना गर्छु, तपाईंहरूले पनि आ–आफ्नोतर्फबाट आत्मालोचना गर्नुस्, अब मिलेर अघि बढौँ, पार्टी बचाऔँ’ भनेपछि प्रचण्ड–नेपाल समूह अगाडि बढ्न सकेन।

यसबाहेक चिनियाँ पक्षको सक्रियताले पनि प्रचण्ड–नेपाल समूहलाई एक कदम पछाडि हट्न बाध्य पार्‍यो ।

चिनियाँ राष्ट्रपतिसँग राष्ट्रपति विद्या भण्डारीको फोनवार्ता, दुई देशका विदेशमन्त्रीबीच फोनवार्ता, चिनियाँ राजदूतद्वारा प्रचण्ड र नेपालसँग एकैदिन छुट्टाछुट्टै भेट पनि नेकपामा युद्धविरामका लागि कारक बनेको पार्टी नेताहरूको समीक्षा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad