छापा खबर


प्रचण्ड र नेपालसहितकाे भेला कोटेश्‍वरमा : ओलीको विकल्प खोज्‍न सबै उपाय अपनाउने निष्कर्ष

प्रचण्ड र नेपालसहितकाे भेला कोटेश्‍वरमा : ओलीको विकल्प खोज्‍न सबै उपाय अपनाउने निष्कर्ष

नेपालखबर
बैशाख १५, २०७७ सोमबार २:४९,

नेकपामा विवाद चर्किरहेका बेला आइतबार वरिष्ठ नेता माधवकुमार नेपालनिकट स्थायी समिति सदस्यको भेला कोटेश्वरमा बस्यो।

नेपालसँगै पार्टी अध्यक्ष पुष्पकमल दाहाल पनि त्यहाँ उपस्थित थिए। सहभागी नेताले तत्काल स्थायी समिति बैठक बोलाउनका लागि प्रधानमन्त्रीलाई कडा दबाब दिन दाहाल र नेपालसमक्ष आग्रह गरेका खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा रामकृष्ण अधिकारीले लेखेका छन्।

उनीहरूले वन पैदावर समितिको कार्यालयमा भेला भई पार्टी बैठक बोलाउन, आवश्यक परे त्यही बैठकबाटै प्रधानमन्त्री केपी ओलीको विकल्पसमेत खोजेर जान सुझाएका हुन्।

त्यसमा अष्टलक्ष्मी शाक्य, गोकर्ण विष्ट, भीमप्रसाद आचार्य, भीमबहादुर रावल, मुकुन्द न्यौपाने, युवराज ज्ञवाली, योगेश भट्टराई, रघुजी पन्त, वेदुराम भुसाल, सुरेन्द्रप्रसाद पाण्डेलगायत नेता सहभागी थिए। कृषिमन्त्रीसमेत रहेका नेता घनश्याम भुसाल भने अनुपस्थित थिए।

नेपालले आफूनिकट नेताहरूसँग मात्र पछिल्लो राजनीतिक घटनाक्रमबारे परामर्श गर्न चाहेका थिए। नेताहरूले भने दाहाललाई बोलाउन आग्रह गरेका थिए। दाहाल र नेपालनिकट २० सदस्यले यही वैशाख १० मा दुवै अध्यक्षलाई पत्र लेखेर स्थायी समिति बैठक बोलाउन माग गरेका थिए। विधानतः एकचौथाइ सदस्यले बैठक माग गरेको १५ दिनभित्र बोलाउनुपर्ने हुन्छ।

प्रधानमन्त्री ओलीले पार्टीमा छलफल नगरी मन्त्रिपरिषद् बैठकबाट ठाडो प्रस्तावका रूपमा दुई अध्यादेश ल्याएका थिए। चौतर्फी विरोधपछि ओलीले पाँच दिनमै दुवै अध्यादेश फिर्तासमेत लिए।

पार्टीलाई छल्दै मनोमानी निर्णय गर्दै जाने ओलीको शैलीका कारण नेकपा बदनाम बन्दै गएकाले अब कोटेश्वर भेलाले आक्रामक रूपमा प्रस्तुत हुनुपर्ने निष्कर्ष निकालेको छ।

अध्यादेश प्रकरणका विषयमा प्रधानमन्त्रीले पार्टी बैठकमा जवाफ दिनुपर्ने उनीहरूको माग छ। ‘बाहिर–बाहिर छलफल गरेर केही हुँदैन। पार्टीभित्रै छलफल गरेर समस्याको समाधान खोज्नुपर्छ। त्यसका लागि बैठक बोलाउन अडान लिनुहोस् भन्ने सुझाव हामीले दिएका छौं’, स्थायी समिति सदस्य युवराज ज्ञवालीले भने, ‘प्रधानमन्त्री मान्नुहुन्न भने पनि के–के उपाय खोजेर हुन्छ बैठक बोलाउने वातावरण बनाउनुहोस्। छलफल बैठकमै गरौं भन्ने छ।’

अर्का नेता सुरेन्द्र पाण्डेले पार्टी बैठक छलेर समस्याको समाधान नहुने भएकाले बैठक दबाब बढाउन नै छलफल भएको बताए।

ओली पक्षले भने यसलाई प्रधानमन्त्रीविरुद्धको घेराबन्दीका रूपमा अथ्र्याउन थालेको छ। नेताहरूका आआफ्ना अडानका कारण नेकपाभित्रको संघर्ष चर्किंदै जाने संकेत देखिएको छ।

प्रधानमन्त्री ओलीले पनि आफूनिकट नेतासँगको परामर्शलाई तीव्र बनाएका छन्। उनले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, नेकपा संसदीय दलका उपनेतासमेत रहेका स्थायी समिति सदस्य सुवास नेम्बाङ, प्रदेश ५ का मुख्यमन्त्री तथा स्थायी समिति सदस्य शंकर पोखरेल, विष्णु रिमाललगायत नेता र कानुन व्यवसायीसँग बालुवाटारमा छलफल गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad