छापा खबर


दश दिनपछि ओली-प्रचण्ड भेटवार्ता : तोडिएला अविश्वास?

दश दिनपछि ओली-प्रचण्ड भेटवार्ता : तोडिएला अविश्वास?

नेपालखबर
बैशाख ७, २०७७ आइतबार ०:१९,

प्रधानमन्त्री केपी ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच दश दिनपछि शनिबार भेटवार्ता भएको छ।

उनीहरुबीच कोरोना भाइरसले सिर्जना गरेको जटिल स्थिति, लकडाउनलाई प्रभावकारी बनाउने र बीचबाटोमै अलपत्र परेका मजदुरको उद्धार तथा नागरिकलाई राहत दिने विषयमा दुई घन्टा छलफल भएको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

कहिलेकाहीँ दिनमै दुईपटकसम्म भेटवार्ता गर्ने ओली र प्रचण्डबीच गत २५ चैतमा बसेको सचिवालय बैठकयता भेट भएको थिएन।

एक साताअघि एक टेलिभिजन अन्तर्वार्तामार्फत प्रचण्डले प्रधानमन्त्रीसँग आफूले खुलस्त लामो समयसम्म छलफल गर्न चाहेको र त्यसका लागि उपर्युक्त समय मिलाउन भनेको बताएका थिए।

शनिबारको भेटवार्तामा संवादहिनता हुनुका पछाडिका कारणमा केन्द्रीत रहेर समीक्षात्मक कुराकानीसमेत भएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ।

छलफलमा अध्यक्ष प्रचण्डले कोरोना भाइरसको त्रासको कारण बाटोमै बिचल्लीमा परेका मजदुरहरुको तत्काल उद्धारमा सरकारले तदरुकता देखाउनुपर्ने सुझाब प्रधानमन्त्री ओलीलाई दिएका थिए।

‘उहाँले बीचबाटामै बिचल्लीमा परेका मजदुरहरुको उद्धार र राहतमा सरकारको भूमिका प्रभावकारी बनाउने, लकडाउनलाई अझ कडाइका साथ कार्यान्वयन गर्नेलगायतका विषयमा प्रधानमन्त्रीसँग छलफल गर्नुभएको छ,’ प्रचण्डलाई उद्धृत गर्दै उनी निकट एक नेताले भने।

राजदूत लीलामणि पौडेललाई चीनबाट फिर्ता बोलाउने प्रधानमन्त्री ओलीको निर्णय र कोरोना संक्रमण विस्तार हुन नदिन सहकार्यका लागि सर्वदलिय संयन्त्र गठन गर्नुपर्ने प्रचण्डको प्रस्तावले दुई शीर्ष नेताबीच सम्बन्ध चिसिएको विश्लेषण नेकपा वृत्तमा हुँदै आएको थियो।

खासगरी पछिल्ला सरकारी नियुक्तिहरुलगायतका विषयमा परामर्श नगरिएकोमा पनि प्रचण्ड असन्तुष्ट थिए।

उता सरकारले प्रभावकारी काम गरेको र यसमा सबैको सहयोग रहेकाले उच्चस्तरीय सर्वदलिय संयन्त्र खाँचो नरहेको प्रधानमन्त्रीको भनाइ आएको थियो।

पछिल्लो भेटमा ती सबै अविश्वास तोड्ने विषयमै केन्द्रित रहेर छलफल भएको बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad