छापा खबर


जो कुहिना र खुट्टाले लेख्छन्, ओठ र नाकले कम्प्युटर चलाउँछन् 

जो कुहिना र खुट्टाले लेख्छन्, ओठ र नाकले कम्प्युटर चलाउँछन् 

नेपालखबर
असार २२, २०७६ आइतबार २:२५,

‘छोरालाई निकै महत्त्व दिने सुदूरपश्चिमेली समाजमा म जन्मिँदा भने बाआमाका अनुहारमा खुसी थिएन अरे,’ उनले भने, ‘बरु बोझ भएर जन्मिएकामा उहाँहरू हैरान हुनुभएछ।’

उनी अर्थात नन्दराज भट्ट जन्मिँदै अपांगताको सिकार बने। उनका हातखुट्टा पूर्ण थिएनन्। हात कुहिनासम्म र खुट्टा घुँडासम्म मात्रै थिए।

त्यतिबेला छिमेकले बाआमालाई खोलामा मिल्काउन सुझाएको कुरा उनले ठूलो भएपछि थाहा पाए। त्यतिबेला उनलाई दिक्दार बनायो। ‘न्वारानमा घरमा आएका आफन्त र छिमेकले यस्तो सन्तान पालेर के गर्छौ? खोलामा मिल्काइदेऊ भनेका थिए रे,’ नन्दराजले भने ।

बाल्यकालमा उनी धेरैको ‘हेलाँ’ को पात्र बन्नुपर्‍यो । अहिले भने उनी अपांगता भएकाका लागि मात्र होइन, सबलांगहरूका लागि पनि प्रेरणादायी पात्र बनेका छन्। उनका दुवै हातखुट्टा अपूर्ण भए पनि संघर्षले सफलता चुमेको छ। स्नातकोत्तर गरेका उनी सामाजिक अभियन्ताका रूपमा परिचित छन्।

०४५ सालमा बैतडीको सुर्नया गाउँपालिका ३ मा जन्मिए उनलाई शारीरिक कठिनाइ त थियो नै, कतिपय आफन्त, साथीभाइले हेलाँ गर्दा मन साह्रै दुख्थ्यो। ‘तर मैले अपांगतालाई कहिल्यै आफ्नो कमजोरी ठानिनँ,’ नन्दराजले भने। नन्दराजले सुरुमा मुखले कलम च्यापेर लेख्न थाले। त्यसो गर्दा सुरुमा घाँटी साह्रै दुख्थ्यो । ‘त्यसपछि दुवै हातका कुहिना जोडेर लेख्न थालें,’ उनले सुनाए, ‘कक्षा ५ सम्म पुग्दा मुख र खुट्टा दुवैले लेख्न सक्ने भएँ।’

खुट्टाले लेख्दा कापी फोहोर हुन थालेपछि कुहिनाले लेख्ने प्रयास थालेको उनले बताए । उनी अहिले मुख, कुहिना र खुट्टा तीनै अंगको सहारामा कलम चलाउन सक्छन्। यति मात्र होइन, हिँड्ने, लेख्ने, पढ्ने, मोबाइल चलाउने, आफ्नो दारी खौरनेसम्मका काम आफैं गर्न सक्छन् । ‘प्राय: आफ्नो काम म आफैं गर्छु,’ नन्दराजले भने ।

कमजोर आर्थिक अवस्था हुँदाहुँदै पनि बाआमाले नन्दराजलाई ३ कक्षासम्म घरमै अध्ययनको व्यवस्था मिलाए। त्यसपछि उनी बैतडीको वीरेन्द्र उच्च माविमा भर्ना भए। उच्च माविसम्मको शिक्षा त्यहीँबाट पूरा गरे। यो खबर धनगढीबाट निर्मला खडायतले आजको कान्तिपुरमा लेखेकी छन्।

बुबाआमाले नै काँधमा बोकेर विद्यालय पुर्‍याउँथे, ल्याउँथे । ‘वीरेन्द्र माविबाट राम्रो अंकमा एसएलसी उत्तीर्ण गरेपछि बुबाआमा धेरै खुसी हुनुभयो,’ नन्दराजले भने, ‘सायद त्यही दिन पहिलो थियो, जब मेरा बाआमाले मलाई उहाँको छोरो भएकामा गर्व गर्नुभएको थियो ।’

आमाबुबाकै अनुमतिमा उच्चशिक्षा हासिल गर्न उनी कैलाली झरे । र धनगढीकै समाजसेवी घनबहादुर शाहको सहयोगमा आफूले कैलाली बहुमुखी क्याम्पसमा भर्ना हुने अवसर पाएको उनको भनाइ छ ।

कम्प्युटरमा पनि डिप्लोमा कोर्स पूरा गरिसकेका उनी ओठ र नाकको सहायताले मोबाइल र कम्प्युटर चलाउँछन् । अहिले उनी अपांगता भएका व्यक्तिलाई सामाजिक समायोजनको क्षेत्रमा काम गर्दै छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad