ad ad

छापा खबर


कोरोना सल्किन्छ भन्दै थानकोटकी एक घरबेटीले डायलाइसिस गराइरहेका बिरामीलाई डेराबाट निकालिन्

कोरोना सल्किन्छ भन्दै थानकोटकी एक घरबेटीले डायलाइसिस गराइरहेका बिरामीलाई डेराबाट निकालिन्

नेपालखबर
चैत २४, २०७६ सोमबार ३:८,

कोरोना सल्किन्छ भन्दै काठमाडौं थानकोटका एक घरबेटीले डेरामा बस्दै आएका मिर्गौला रोगीलाई घरबाट निकालेकी छिन् ।

नियमित डायलाइसिस गर्नुपर्ने तनहुँका ४६ वर्षीय बुद्धिराज गुरुङलाई गत शुक्रबार घरबेटी शशी थमालले कोठाबाट निकालेकी खबर आजको नयाँ पत्रिका दैनिकमा अर्जुन अधिकारीले लेखेका छन्।

अस्पताल जाँदा–आउँदा कोरोना सल्किने भन्दै डेरा छाड्न बाध्य पारेको पीडित गुरुङले बताए । ‘सातामा दुईपटक नियमित डायलाइसिस नगरे ज्यानै तलमाथि हुन्छ, तर घरबेटीले अस्पताल नजानू, नत्र घर छाड्नू भनेर मानसिक तनाव दिनुभयो,’ गुरुङले भने, ‘डायलाइसिसका लागि डेरा छाड्नुपर्‍यो।’

शशीको घरमा गुरुङका सालीका परिवार बस्थे । एक वर्षदेखि उनी सालीकै परिवारसँग बसेर धापाखेलस्थित सुमेरु सिटी अस्पतालमा डायलाइसिस गराउँदै आए।

तनहुँमै घरपायक पारेर डायलाइसिस गराउने प्रयास असफल भएपछि बाध्यताले उनी सालीको परिवारको शरणमा आइपुगेका थिए । गाडी बन्द हुँदा गुरुङलाई साढु भाइले नै स्कुटीमा राखेर अस्पताल लैजाने ल्याउने गर्थे । तर, घरबेटीले साली र साढुलाई नै धम्क्याएपछि आफू कोठा छाडेर निस्किन बाध्य भएको गुरुङले बताए ।

‘सुरुमा सालीलाई कराएको सुनेँ, मन कटक्क खायो । जसको शरणमा म बस्दै आएँ, उनीहरूलाई मेरै कारण दुःख दिन हुन्न भन्ने लाग्न थाल्यो । पछि मलाई पनि सीधै कराउन थाले, अनि डेरा छाडेर निस्किएँ,’ उनले भने, ‘लकडाउनअघि श्रीमती पनि आएकी थिइन् । दुई साता बसेपछि तनहुँ पठाइदिएँ । तीनजना बच्चा छन्, उनीहरूको रेखदेख पनि गर्नैपर्‍यो । तर, लगत्तै मैमाथि यत्रो आपत् आइलाग्यो।’

देशभर चार हजार ६ सय मिर्गौला बिरामी डायलाइसिस गराउँछन्। अधिकांश गरिब र विपन्न छन् । धेरैजसोलाई सहरमा डेरामा बसेर नियमित डायलाइसिस गराउनुपर्ने बाध्यता छ।

तर, कोरोनाका कारण जोखिम बढेको भन्दै घरबेटीले छिछि र दूरदूर गर्न थालेका छन् । यस्तो पीडा लिएर धेरै बिरामी आउने गरेको चिकित्सकहरू बताउँछन्।

भाडामा बसेका चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मीसमेत पीडित बनेको डा. ऋषिकुमार काफ्ले बताउँछन् । आफ्नै अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई समेत घरधनीले डेरा छाड्न भनेको उनले बताए।

‘भर्खर यस्तो समस्या देखिन थालेको छ, कोरोनाका केस बढ्दै जाँदा अझ ठूलो रूप लिने देखिन्छ,’ डा। काफ्लेले भने, ‘राज्यले समयमै चासो देखाउनुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .