छापा खबर


क्वारेन्टाइनमा बसेका १० हजारकै कोरोना परीक्षण गरिने

क्वारेन्टाइनमा बसेका १० हजारकै कोरोना परीक्षण गरिने

नेपालखबर
चैत २३, २०७६ आइतबार २३:५८,

सरकारले क्वारेन्टाइनमा बसेका सबैको कोरोना परीक्षण गर्ने भएको छ।

भारतबाट फर्किएकामा संक्रमण देखिएपछि आइतबार बसेको कोरोना संक्रमण नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको बैठकले परीक्षणलाई व्यापकता दिने निर्णय गरेको हो।

यो खबर आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले लेखेका छन्।हाल देशभरका क्वारेन्टाइनमा करिब १० हजारजना छन्।

‘खरिपाटीको क्वारेन्टाइनमा बसेकालाई जस्तै देशैभरिका क्वारेन्टाइनमा बसेकाको स्वाब परीक्षण गर्ने निर्णय भएको छ,’ समितिका सदस्यसचिव नारायणप्रसाद बिडारीले भने, ‘रिपोर्ट आएपछि मात्र क्वारेन्टाइनबाट घर जान पाइनेछ, पोजेटिभ रिपोर्ट देखिएमा आइसोलेसनमा राखेर उपचार गरिनेछ।’

क्वारेन्टाइनमा बसेकाहरूमध्ये धेरैजसो भारतबाट आएका छन्। क्वारेन्टाइनमै बसेर घर गएकी धनगढीकी एक महिलामा लक्षण नदेखिए पनि रिपोर्ट पोजेटिभ आएको थियो । त्यही कारण पनि सरकारले सबैको कोरोना परीक्षण गर्ने निर्णय गरेको हो।

शनिबार बसेको मन्त्रिपरिषद् बैठकले कैलाली, कञ्चनपुर र बाग्लुङमा र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडिटी) गर्ने निर्णय गरेको थियो । ती जिल्लामा भेटिएका संक्रमितले अरू धेरैलाई सारेको आशंकामा टेस्ट व्यापक बनाइएको हो । आरडिटी टेस्टको काम सोमबारबाट सुरु हुँदै छ।

सरकारले तीनवटै जिल्लामा खटिने स्वास्थ्यकर्मीको विशेष टिम बनाएको छ । कैलालीमा तीन संक्रमित भेटिइसकेका छन् । शनिबार संक्रमण देखिएका एक युवक भारतबाट आउँदा ठूलो समूहमा आएकाले उनले धेरैमा सारेको आशंका गरिएको छ । शनिबार नै नेपालमा पहिलो आन्तरिक संक्रमित पनि भेटिएका थिए।

यसका साथै विदेशबाट धेरैजना फर्किएका जिल्लामा पनि आरडिटी टेस्ट गर्ने निर्णय सरकारले गरेको छ । र्‍यापिड टेस्टको नतिजा शतप्रतिशत सही हुँदैन।

त्यसैले कसैको रिपोर्ट पोजेटिभ देखिएमा त्यसको पिसिआर प्रविधिबाट पुनः परीक्षण गरिनेछ । १ चैतपछि विदेशबाट फर्किएकाहरूको हकमा सकेसम्म धेरैको टेस्ट गर्ने तयारी भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad