छापा खबर


हिमालमा मासियो पर्यावरण, पाइन छाड्यो यार्चा

 हिमालमा मासियो पर्यावरण, पाइन छाड्यो यार्चा

नेपालखबर
असार २१, २०७६ शनिबार २:३१,

यार्चागुन्बु टिप्न डोल्पा उक्लिएका रुकुम ‍(पश्चिम) का १८ वर्षीय भीम परियारले २५ दिन पाटनमा डुल्दा जम्मा पाँचवटा यार्चा भेटाए।

कमाउने सपना बोकेर लेक चढेका यी तन्नेरीलाई उल्टै केही हजार रुपैयाँ ऋण लाग्यो। दुःखी मन लिएर गाउँ फर्केका छन् उनी।

यसपालि परियारजस्ता धेरैको सपना तुहियो। थोरैले मात्र यार्चा टिपेर कमाउने अवसर पाए। रुकुम (पश्चिम) को आठबीस गाउँबाट आएका ४३ वर्षे सत्यबहादुर शाहीले पोहोरजति पनि यार्चा संकलन गर्न सकेनन्।

‘जेठ २१ देखि असार १३ गतेसम्म टिप्दा जम्मा ७० वटामात्रै पाएँ’, उनले भने, ‘प्रतिगोटा चार सयदेखि ५ सय रुपैयाँसम्ममा बेचें।’ यो खबर आजको नागरिक दैनिकले लेखेका छन्।

पोहोर खर्च कटाएर ९० हजार रुपैयाँसहित गाउँ फर्केका थिए उनी। यसपालिचाहिँ १५ हजार रुपैयाँ मात्र लिएर फर्के। उनको गाउँबाट डेढ सयजनाको हाराहारीमा यार्चा संकलन गर्न डोल्पाका पाटन आएका थिए।

यसपटक यार्चा संकलन गर्न पाटन पुगेका धेरैको अवस्था शाही र परियारकै जस्तै भयो। उत्पादनभन्दा संकलक धेरै भएकाले यस्तो अवस्था आएको अनुमान गरिएको छ।

विशेषतः चीनमा खपत हुने यार्चा उत्पादनका दृष्टिले डोल्पाजस्ता नेपालका हिमाली जिल्ला प्रख्यात छन्। धेरैले ‘यार्सागुम्बा’ भनेर चिन्ने यो हिमाली जडीबुटीलाई डोल्पाली ‘यार्चागुन्बु’ भन्छन्। भोटे भाषामा यार्चाको अर्थ ‘बर्खे च्याउ’ हुन्छ भने गुन्बुको अर्थ (हिउँदे किरा)। यार्चागुन्बु हिउँदमा किराको रुपमा रहन्छ भने बर्खामा च्याउका रुपमा।

पहिलापहिलाका केही वर्ष पाटनहरूमा सीमित संकलक मात्र यार्चा संकलनका लागि पुगे। उनीहरूले राम्रै आम्दानी पनि गरे। तर पछिल्ला वर्षमा पाटनहरूमा यार्चाको मौसममा मेलै लाग्न थालेको छ।

यसले गर्दा एकातिर यार्चा खोजीमा निस्केकाले भरथेग हुनेगरी संकलन गर्न पाएका छैनन् भने अर्कातिर मान्छेको भीडले वातावरण पनि बिग्रिँदै गएको देखिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad