ad ad

छापा खबर


शिशु च्यापेकी महिलामाथि इन्स्पेक्टरको लाठी, के हो खास कारण?

शिशु च्यापेकी महिलामाथि इन्स्पेक्टरको लाठी, के हो खास कारण?

नेपालखबर
फागुन १७, २०७६ शनिबार २:४४,

सामाजिक सञ्जालमा शुक्रबार बिहान एउटा भिडियो भाइरल भयो । महानगरीय प्रहरी प्रभाग भैंसेपाटीका इन्चार्जसमेत रहेका इन्स्पेक्टर देवीप्रसाद पौडेलले काखमा शिशु च्यापेर दौडिरहेकी एक महिलालाई बारम्बार लाठी प्रहार गरेको दृश्य उक्त भिडियोमा थियो।

बिहीबार खिचिएको यो दृश्य भैंसेपाटीस्थित नेपाली सेनाका पूर्वजर्नेल हेम खत्रीको घरको कम्पाउन्डभित्रको हो । आजको कान्तिपुर दैनिकमा जनकराज सापकोटाले लेखेको समाचारअनुसार प्रहरीको कुटाइ खाने महिला हुन्, हेमा श्रेष्ठ ।

पूर्वजर्नेल खत्रीले सम्बन्ध राखेर आफूलाई श्रीमतीका रूपमा नस्विकारेको भन्दै माला शाह बिहीबार बिहानै एक हूल महिलासहित घरमा धर्ना दिन पुगेकी थिइन्। त्यतिबेला खत्री घरमा थिएनन्।

उनले छोरीमार्फत घरमा तोडफोड हुन लागेको खबर पाएको भन्दै नजिकैको प्रहरी प्रभागमा खबर गरे । इन्स्पेक्टर पौडेल दुई महिला प्रहरीसहितको टोली लिएर खत्रीको घर पुगे । प्रहरीले महिलाहरूलाई हटाउन खोज्ने क्रममा विवाद सुरु भयो । त्यस क्रममा इन्स्पेक्टर पौडेलले लाठी प्रहार गरेका हुन्।

प्रहरी परिसर ललितपुरले खत्रीको घरभित्र छिरेर तोडफोड गरेको आरोपमा चार जनालाई पक्राउ गरी मुद्दा चलाएको छ । पक्राउ पर्नेमा दोलखा चरिकोट घर भई काठमाडौं बस्ने गोमा केसी, बारा निजगढ घर भई काठमाडौं रातोपुल बस्ने माला शाह, मोरङ उर्लाबारी घर भई काठमाडौं मित्रपार्क बस्ने रूपा घिसिङ र ललितपुर भैंसीपाटीकी शोभा खड्का छन्।

प्रहरी प्रवक्ता डीआईजी शैलेश थापा क्षत्रीले भिडियो बाहिरिएलगत्तै प्रहरी प्रधान कार्यालयलाई फेसबुक र ट्वीटरमा ‘मेन्सन’ गर्दै व्यापक रूपमा पोस्ट भएपछि आफूहरूले यसलाई गम्भीर रूपमा लिएको बताए ।

ललितपुर प्रहरी परिसरका एसएसपी टेकप्रसाद राईका अनुसार घटनाबारे बुझ्न एसपी दुर्गा सिंहको नेतृत्वमा तीन सदस्यीय छानबिन टोली गठन गरिएको छ । उनले भने, ‘टोलीले तीन दिनभित्र प्रतिवेदन बुझाएपछि के गर्ने भन्ने निष्कर्ष निकाल्छौं ।’

डिजिटल प्लेटफर्मका गतिविधि अध्ययनमा सक्रिय प्रहरी महानिरीक्षकको सचिवालयका एक सदस्यका अनुसार यो भिडियो बिहीबार सबैभन्दा पहिला रिदम अनलाइन टीभी नामक एक युट्युब च्यानलमा अपलोड भएको थियो । यही नामको टिकटक अकाउन्टमा सानो अंश राखिएपछि भने भिडियो भाइरल भएको थियो।

घटना कसरी भयो?
पूर्वजर्नेल खत्री र माला शाहबीचको विवाद नयाँ होइन । आफूसँग वर्षौंदेखि सम्बन्ध राखेर पनि श्रीमतीका रूपमा स्वीकार नगरेको आरोप शाहले लगाउँदै आएकी छन् । खत्रीले भने आरोप अस्वीकार गर्दै आएका छन्।

प्रहरी परिसर ललितपुरका अनुसार गत कात्तिक २७ गते खत्रीले आफूलाई घर नजिकैको मन्दिरमा शाहसहितका तीन महिलाले कुटपिट गरेको र मोबाइल खोसेको भन्दै प्रहरी प्रभाग बुङमतीमा जाहेरी दिएका थिए ।

त्यसको भोलिपल्टै अर्थात् कात्तिक २८ मा शाहले खत्रीविरुद्ध जाहेरी दिएकी थिइन् । शाहले २२ वर्षदेखि दम्पतीका रूपमा बसे पनि खत्रीले आफूलाई निकालेको भन्दै नाता प्रमाणित गराइपाउँ भनेर जाहेरी दिएकी थिइन्।

परिसरका एसएसपी राईका अनुसार शाह र खत्रीबीच ६ पटक छलफल गराइएको थियो । तर दुवै पक्षले अडान नछाडेपछि प्रहरीले निष्कर्ष निकाल्न सकेको थिएन।

‘नाता प्रमाणित प्रहरीले नगर्ने भएकाले उसले मालालाई अदालतमा जान सुझाएको थियो,’ एसएसपी राईले भने । आफूसँग खर्च नभएको र नागरिकता पनि नरहेको शाहले बताएपछि प्रहरीले उनलाई निःशुल्क कानुनी सहायता प्रदान गर्ने संस्था वा महिला आयोग जान भनेर सुझाएको पनि राईले बताए।

एसएसपी राईका अनुसार केही दिनयता शाह आफ्ना समर्थकसहित हरेक दिनजसो पूर्वजर्नेल खत्रीको घर जाने गरेको देखिएको थियो । घर पुगेर होहल्ला गरेको भन्दै प्रत्येकपल्ट खत्रीले प्रहरी प्रभागमा बुङमतीमा खबर गर्थे।

प्रहरीले शाहलाई पक्राउ गर्थ्यो । यसअघि पनि शाह होहल्ला गरेर शान्ति भंग गरेको आरोपमा पाँच पटक पक्राउ परेको र आइन्दा यस्तो नगर्ने सर्तमा कागज गरेर छुटेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .