छापा खबर


व्यवसायीले १५ करोडकाे चल्ला मारेर ब्रोइलरको मासु किलोको ४२० पुर्‍याए

व्यवसायीले १५ करोडकाे चल्ला मारेर ब्रोइलरको मासु किलोको ४२० पुर्‍याए

नेपालखबर
माघ २२, २०७६ बुधबार २:५७,

कुखुराको मासुको भाउ घटेको निहुँमा ह्याचरी व्यवसायीले चल्ला र अन्डा निर्मम रूपमा नष्ट गरेका छन्।

डेढ महिनाको बीचमा उनीहरूले ३० लाख चल्ला मारेका खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

मारिएका ३० लाख चल्लाको मूल्य मात्र करिब १५ करोड हुन आउँछ । त्यस्तै, चल्ला कोरल्न राखिएका ४५ करोड मूल्यबराबरका करिब ३ करोड ५० लाख अन्डासमेत नष्ट गरेका छन् ।

त्यति मात्रै होइन, ह्याचरी व्यवसायीले आफ्नै उद्योगमा आफैँले १० दिन हडताल गरी चल्ला र मासु उत्पादन बन्द गरेका थिए । उत्पादन लागतभन्दा सस्तोमा चल्ला बेच्न बाध्य हुनुपरेको भन्दै ह्याचरी उद्योगीले २९ मंसिरदेखि ८ पुससम्म हडताल गरेका थिए ।

१० दिन उनीहरूले गरेको आन्दोलनका कारण अहिले कुखुराको मासुको मूल्य ४ सय २० रुपैयाँ प्रतिकिलो पुगेको छ । गएको डेढ महिनामा कुखुराको मासुको मूल्य ५० प्रतिशतले बढेको हो ।

मंसिरको अन्तिममा कुखुराको मासु प्रतिकिलो २ सय ८० रुपैयाँ थियो । त्यसैगरी, अन्डाको भाउ प्रतिगोटा १५ रुपैयाँमा किनबेच भयो । यो मूल्य अहिलेसम्मकै उच्च हो ।

चल्ला उत्पादन गर्ने ह्याचरी उद्योगीले मंसिर २९ देखि ८ पुससम्म देशभर चल्ला उत्पादन बन्द गरेका थिए । यसबीचमा चल्ला खाल्डोमा हालेर नष्ट गरिएको थियो । केही फार्ममा जबर्जस्ती घुसेर चल्ला बसेको क्रेटमा तातोपानी खन्याएर मारिएको थियो ।

यसरी भएका चल्ला नष्ट गर्ने र १० दिन उत्पादन नगर्ने संघको निर्णयले देशभर चल्लाको हाकाकार भयो र १० रुपैयाँ प्रतिगोटाको चल्लाको भाउ डेढ महिनामा ६० रुपैयाँ पुग्यो । त्यसभन्दा अघि देशभर रहेका करिब ३ सय ह्याचरी उद्योगले प्रतिसाता ४५ लाख चल्ला उत्पादन गर्दै आएका थिए । बजार माग भने ३५ लाख चल्लाको मात्र थियो ।

नेपाल ह्याचरी संघका अध्यक्ष टीकाराम पोखरेलले क्रमशः बजार मूल्य सुधार हुँदै गएको बताए ।

‘चल्लाको लागत ५५ रुपैयाँसम्म पर्छ,’ उनले भने, ‘तर, हामी १०–१५ रुपैयाँमा बेच्न बाध्य थियौँ ।’ पुस पहिलो सातासम्म उत्पादन नगरेपछि चल्लाको मूल्यमा सुधार भई २० रुपैयाँ पुगेको थियो । पुस अन्तिम साता ३० रुपैयाँ पुगेको चल्लाको भाउ माघ लागेपछि ४० रुपैयाँमा बिक्री हुन थाल्यो । बिहीबारसम्म ४० रुपैयाँ प्रतिगोटा रहेको चल्लाको भाउ आइतबारबाट बढाएर ६० रुपैयाँ पुर्‍याइएको छ ।

अन्डा उत्पादकले आइतबार प्रतिक्रेट ३ सय ५ रुपैयाँमा बिक्री गरेका थिए भने उपभोक्ताले न्यूनतम ३ सय ८० रुपौयाँमा किन्नुपरेको छ । उत्पादकले बेचेको अन्डा तीन तह पार गरेर उपभोक्तासम्म आइपुग्ने भएकाले थप महँगिने गर्छ ।

अन्डा उत्पादक महासंघका अध्यक्ष शिवराम केसीका अनुसार उत्पादकबाट डिलरले अन्डा किन्छन् । डिलरले खुद्रा विक्रेतालाई दिन्छन् । त्यहाँबाट किराना पसल हुँदै उपभोक्तासम्म पुग्छ ।

आइतबार काठमाडौंका खुद्रा व्यवसायीले प्रतिक्रेट ३ सय ५० रुपैयाँमा किनेर उपभोक्तालाई अन्डा ३ सय ८० रुपैयाँमा बिक्री गरेका छन् । एक साताअघि भने ३ सय ४० रुपैयाँ थियो ।

मंसिर अन्तिम साता काठमाडौंमा प्रतिक्रेट अन्डा ३ सय २० रुपैयाँ थियो । हाल मुुलुकभर करिब ३२ लाख अन्डा प्रतिदिन आपूर्ति भइरहेको छ । मागअनुसारकै उत्पादन र आपूर्ति रहेको अध्यक्ष केसीले जानकारी दिए ।

चितवनका पोल्ट्री व्यवसायीले आइतबार जिउँदो कुखुरा २ सय २० रुपैयाँमा बिक्री गरे । काठमाडौंमा २ सय ५० रुपैयाँसम्म किनबेच भयो । कोल्डस्टोरले भने कुखुराको मासु प्रतिकिलो ४ सय २० रुपैयाँमा बिक्री गरेका छन् । यो मूल्य अहिलेसम्मकै उच्च हो।

कुखुरापालक संघका अध्यक्ष झनक पौडेल २ सय ५० रुपैयाँमा पोल्ट्री व्यवसायीले बिक्री गरेको कुखुरा उपभोक्ताले बढीमा ३ सय ५० रुपैयाँमा पाउनुपर्ने बताउँछन् ।

‘कोल्डस्टोरले जाडोमा ९० रुपैयाँसम्म जोडेर बिक्री गर्न पाउने मौखिक सहमति छ,’ उनले भने, ‘त्यसपछि मासु पसलले प्रतिकिलो १०–२० रुपैयाँ नाफा राखेर उपभोक्तालाई बेच्ने हो ।’ अहिले काठमाडौंको बजारमा बढेको मूल्य कृत्रिम भएको र यसले कुखुरा उत्पादनमा असर पर्ने उनको भनाइ छ।

संघका अनुसार देशभर करिब ९ लाख किलो कुखुराको मासुको माग छ । अहिले ३० प्रतिशत उत्पादन घटेको छ।

‘चल्लाको भाउ बढेको छ । पहिले १५–२० रुपैयाँमा किनेको चल्ला अहिले ६० रुपैयाँ प्रतिगोटामा किन्नुपरेको छ । ह्याचरी सञ्चालकले चल्लाको भाउ मनपरी ढंगले बढाएका छन्,’ उनले भने, ‘तीन दिनअघि ४० रुपैयाँमा चल्ला किनेका थियौँ । आइतबार ६० रुपैयाँ मूल्य तोकिएको छ । यसरी मूल्य बढाउनु न्यायोचित होइन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad