छापा खबर


चेपुवामा परेपछि प्रधानमन्त्री ओलीको यसरी फेरियो अवतार

चेपुवामा परेपछि प्रधानमन्त्री ओलीको यसरी फेरियो अवतार

नेपालखबर
माघ २२, २०७६ बुधबार १:३९,

दोस्रो पटक सरकारको नेतृत्व सम्हालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीबारे एउटा भनाइ चर्चित छ-उनी सुन्ने कम, बोल्ने बढी गर्छन् ।

एकोहोरो बोलेरै उनले मन्त्रिपरिषद्का लामा-लामा बैठकहरू सक्ने गरेका दृष्टान्त यसबीचमा थुप्रै सुनिएका छन्।

मंगलबार अपराह्न बालुवाटार निवासमा दुई दर्जन सम्पादक-पत्रकारसँग भने उनी फरक शैलीमा प्रस्तुत भएका खबर आजको कान्तिपुर दैनिकमा सुधीर शर्माले लेखेका छन्। पहिले दुई घण्टा हाम्रा प्रश्न र धारणा सुन्न चाहे, त्यसपछि एक घण्टा आफ्ना कुरा राखे ।

सरकारका सकारात्मक पक्षबारे नलेखेको आरोप लगाउँदै नेपाली सम्पादकहरूको मन र मुटु छैन भन्दै यसअघि गुनासो गरेका प्रधानमन्त्री ओलीले लामो अन्तरालमा प्रेससँग प्रत्यक्ष अन्तर्क्रिया गरेका हुन्।

यस क्रममा उनले सरकारको कार्यशैलीदेखि एमसीसी, केन्द्रीय समिति बैठक, मिर्गौला प्रत्यारोपण, यति प्रकरण, ललिता निवासदेखि पुष्पकमल दाहालसम्म अनेक प्रसंगबारे बोले, तर निकै नरम शैलीमा।

विगतमा जस्तो कटाक्ष भरिएका आक्रामक शब्दावली सायद सोचेरै प्रयोग गरिएन । प्रधानमन्त्री ओलीको यस्तो रक्षात्मक अवतार विरलै देखिने गर्छ।

सरकारले विभिन्न नियम–कानुन ल्याएर आमसञ्चार, सामाजिक सञ्जाल र नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने प्रयत्न किन गरेको भन्ने धेरैजनाको प्रश्नमा प्रधानमन्त्रीको प्रस्टीकरण थियो, ‘प्रेस स्वतन्त्रतालाई सीमित गर्ने वा आम स्वतन्त्रताको हक कुण्ठित गर्ने काम कुनै हालतमा हुँदैन । कहींकतै गल्ती वा त्रुटि भएको छ भने त्यसलाई सच्याइनेछ।’

प्रधानमन्त्री ओलीले स्वतन्त्रताका लागि आफैं ५५ वर्ष लडेको दृष्टान्त प्रस्तुत गर्दै सरकारले प्रेस स्वतन्त्रताको हक संकुचित नपार्ने बताए । ‘मानवअधिकार र स्वतन्त्रताको अभाव कस्तो हुन्छ साथीहरूले अलि बढी देख्नुभएको छ, थोरै भोग्नुभएको छ तर मैले धेरै भोगेको छु,’ उनले भने।

यद्यपि प्रधानमन्त्रीले अभिव्यक्ति स्वतन्त्रताको एउटा सीमा तोकिनुपर्ने र आफूले बनाउन चाहेको ‘शालीन र सभ्य समाज’का लागि त्यो अपरिहार्य रहेको तर्क भने गरिरहे । ‘मैले अभिव्यक्ति स्वतन्त्रताको प्रयोग गर्दा अर्को व्यक्तिको स्वतन्त्रता हनन हुनुभएन, त्यसमा हाम्रो सजगता आवश्यक छ,’ उनले थपे।

‘अरूलाई चाहिँ सुन्नुपर्छ, सुन्न सक्नुपर्छ भन्ने, मैलेचाहिँ तपाईंहरूको राम्रो कुराको प्रशंसा गर्ने मुटु छैन भन्दा उत्पात मच्चाउने? किन त्यस्तो असहिष्णुता?’ उनले हस्यौली पारामा सोधे ।

सञ्चारमाध्यमले लेख्दा, छाप्दा र कार्टुन बनाइरहँदा ‘यो त अति नै भयो’ भनेर आफूले प्रतिक्रिया मात्रै दिएको ओलीको प्रस्टीकरण थियो । ‘तपाईंहरूले बलिङ गरेको गर्‍यै गरेपछि हामीले कहिलेकाहीं ब्याटिङ त गर्नैपर्‍यो,’ ओलीको गुनासो थियो, ‘यसो हामी पनि ब्याटिङ गरौं न त भन्यो सरकार प्रेसको शत्रु भयो भन्नुहुन्छ।’

नेपाललाई समृद्ध मात्रै नभएर सभ्य र पारस्परिक
सद्भावनायुक्त बनाउन खोजेको तर्क गर्दै प्रधानमन्त्री ओलीले भने, ‘म देशको नाम लिन्नँ । दुइटा विकसित देशमध्ये एउटा विकास र सभ्यतामा गर्व गर्छ, अर्को विकासमा मात्रै गर्व गर्छ । हामीले विकसित र सभ्य देश बनाउन खोजेका हौं।’

सरकार र पार्टीबीचको सम्बन्ध, र अर्का अध्यक्ष दाहालबारे भने प्रधानमन्त्रीका अभिव्यक्ति तौलिएर बोलेजस्ता लाग्थे ।

सत्तारूढ नेकपाको भीमकाय केन्द्रीय समितिको दोस्रो बैठक तुलनात्मक रूपले व्यवस्थित ढंगबाट हालै सम्पन्न भएको छ । तर त्यो बैठक प्रधानमन्त्री ओलीका हकमा खासै अनुकूल भएन ।

बैठकले अमेरिकी परियोजना ‘एमसीसी’लाई संसद्बाट जस्ताको त्यस्तै पारित नगर्ने संकेत दिँदै तीन सदस्यीय अध्ययन कार्यदल बनाएको छ, जसमा एमसीसीको आलोचना गरिरहेका दुई नेता झलनाथ खनाल र भीम रावल रहेकाले अर्का सदस्य एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली अल्पमतमा पर्न सक्ने देखिन्छ ।

यद्यपि प्रधानमन्त्री ओलीले कार्यदलको प्रतिवेदन ‘सकारात्मक’ आउने संकेत गर्दै संसद्को यही बैठकले एमसीसीलाई ‘चाँडै’ अनुमोदन गर्ने दाबी गरे।

केहीअघि नेपाल भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चिनफिङसँग ‘रणनीतिक साझेदारी’ गरेका ओली आफू कुनै मुलुक विशेषतर्फ ढल्किएको देखिन चाहँदैनन् । चीनपछि अमेरिकासँग घनिष्ठ साझेदारीको नमुना सहकार्यका रूपमा उनले एमसीसीलाई लिएको देखिन्छ।

उनकै पार्टीका कतिपय वरिष्ठ नेताले भने यसलाई चीनलक्षित अमेरिकी इन्डो–प्यासिफिक रणनीति ९आईपीएस० को हिस्साका रूपमा अर्थ्याएको र सरकारविरुद्ध राजनीतिक प्रहार गर्न यसैलाई अस्त्र बनाएको कारण प्रधानमन्त्री ओली अहिले चेपुवामा परेको भान हुन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad