समाज


कोरोना भाइरसको त्रास : चीनले बन्द गर्‍याे ओलाङचुङगोला नाका

कोरोना भाइरसको त्रास : चीनले बन्द गर्‍याे ओलाङचुङगोला नाका

नेपालखबर
माघ २२, २०७६ बुधबार १:२४,

कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने भन्दै चीनले ताप्लेजुङको ओलाङचुङगोला नाका बन्द गरेको छ।

चीनमा फैलिएको कोरोना भाइरस सीमा क्षेत्र हुँदै छिमेकी मुलुकमा समेत फैलन सक्ने भन्दै नाकामा आवतजावत बन्द गरिएको हो।

यही माघ १६ गते चीनको तिब्बतस्थित रिउ प्रशासनबाट केही अवधिसम्मका लागि आवतजावत नगर्न नगराउन जानकारी भएको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाका वडाध्यक्ष छेतेन शेर्पाले बताए।

‘सडक निर्माणका लागि आएका चिनियाँ कामदारको टोली फर्किएलगत्तै रिउ प्रशासनबाट आवतजावतमा रोक लगाउन अनुरोध आयो,’ उनले भने, ‘चीनमा कोरोना भाइरसको सङ्क्रमण फैलिएको र आवतजावतका कारण अन्यत्रसमेत फैलनसक्ने भन्दै यसबाट बच्न केही समयसम्मका लागि आवतजावतमा रोक लगाइदिन भनेर रिउ प्रशासनबाट अनुरोध आएकाले आवतजावत बन्द गरेका छौँ।’

नाका बन्द हुँदा एक/दुई महिनासम्म कुनै समस्या नहुने तर त्यो भन्दा पछि बर्खाको समयमा पनि बन्द नै रहे समस्या हुने गाउँपालिकाका प्रवक्तासमेत रहेका शेर्पाको भनाई छ।

बर्खाको समयमा याङ्मा, थुदाम, ओलाङचुङगोला र तोक्पेगालावासी दैनिक उपभोग्य सामग्रीका लागि चिनियाँबजारकै भरमा रहने गरेका छन्। बर्खामा बाढीपहिरोलगायतका कारण त्यहाँका बासिन्दा सदरमुकाम फुङलिङसम्म आइपुग्न सक्दैनन्।

‘अहिले सीमाक्षेत्रमा हिउँ परेकाले रिउ बजारमा ओहोरदोहर पनि हुँदैन। बर्खामा बाढीपहिरोका कारण सदरमुकामलगायत नजिकका नेपाली बजारमा आउन जान नसकिने हुनाले सो समयमा खाद्यान्नलगायतका दैनिक उपभोग्य सामानका लागि रिउ बजारकै भर पर्नुपर्छ,’, प्रवक्ता शेर्पाले भने, ‘विशेषगरी याङ्मा र थुदामका बासिन्दा बर्खाभर चिनियाँबजारकै भरमा रहनुपर्ने बाध्यता छ।’

सीमावर्ती क्षेत्रका बासिन्दाले रिउ बजारबाट याक र चौँरीलाई बोकाएर सामान ढुवानी गर्ने गर्छन्।

यहाँका स्थानीयले उत्पादन गरेका गलैँचालगायतका सामग्रीको मुख्य बजार रिउ नै हो। ढुवानीका हिसाबले पनि सहज हुने भएकाले रिउलाई मुख्य बजारका रूपमा लिने गरिएको शेर्पाको भनाई छ।

सदरमुकाम फुङलिङबाट ओलाङचुङगोला पुग्न पैदल दुई दिन लाग्छ। याङ्मा, थुदाममा पुग्न भने त्यो भन्दा बढी समय लाग्ने गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad