छापा खबर


कुमार पौडेललाई गोली हान्ने तीन प्रहरीलाई कर्तव्य ज्यान मुद्दा

कुमार पौडेललाई गोली हान्ने तीन प्रहरीलाई कर्तव्य ज्यान मुद्दा

नेपालखबर
माघ २१, २०७६ मंगलबार ०:२५,

प्रतिबन्धित चन्द समूहका सर्लाही इन्चार्ज कुमार पौडेलको हत्या आरोपित प्रहरी निरीक्षक कृष्णदेव (केडी) तथा हवलदारद्वय श्रीविनोद साह र सत्यनारायण मिश्रका विषयमा थप अनुसन्धान गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ।

गृहले शुक्रबार प्रहरी प्रधान कार्यालयलार्य पत्र पठाई निरीक्षक साह तथा हवलदारद्वय साह र मिश्रविरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गर्न निर्देशन दिएको खबर आजको कान्तिपुरमा मातृका दाहालले खबर लेखेका छन्।

गृहको निर्देशन आएपछि प्रहरी प्रधान कार्यालयले उनीहरूलाई कारबाहीका लागि आइतबारै प्रदेश २ प्रहरी मुख्यालय धनुषालाई पत्र पठाएको छ।

प्रदेश २ का प्रहरी प्रमुख प्रद्युम्न कार्कीले कुमार पौडेल प्रकरणका आरोपितबारे प्रहरी प्रधान कार्यालयबाट पत्र आएको पुष्टि गरे। उक्त पत्र जिल्ला प्रहरी कार्यालय धुनषालाई पठाइएको उनले बताए।

०७६ असार ५ गते बिहीबार दिउँसो लालबन्दी १ लखन्देही खोलादेखि पूर्वको जंगलमा पौडेलको गोली हानी हत्या भएको थियो। हत्या ढाकछोप गर्न प्रहरीले पौडेल इन्काउन्टरमा मारिएको दाबी गर्दै आएको छ।

राष्ट्रिय मानवअधिकार आयोगले गत कात्तिक ३ मा पौडेल हत्या आरोपित उनीहरूलाई निलम्बन गरी फौजदारी कसुरमा मुद्दा चलाउन सरकारलाई सिफारिस गरेको थियो।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको प्रत्यक्ष कमान्डमा रहेको विशेष ब्युरोबाट खटिएको केडी साह नेतृत्वको घुमुवा टोलीले पौडेलमाथि गोली हानेको थियो।

ब्युरोको टोलीले हत्या गरेको विषय विवादमा आउने डरले पौडेललाई दोहोरो मुठभेडमा मारिएको भन्दै घटनाको सत्यतथ्य लुकाउन प्रहरी नेतृत्व लागेको आरोप थियो। आयोगले अनुसन्धान गर्न निर्देशन दिएको तीन महिनासम्म आरोपितहरू कार्यक्षत्रमै खटिएका थिए।

प्रहरीले इन्काउन्टरका नाममा मानिसको बाँच्न पाउने अधिकारलाई समेत कुण्ठित गरेर फेक इन्काउन्टरको दाबी गरेको भन्दै आयोगले गोली हान्ने र गोली हान्न आदेश दिने दुवै जनामाथि कारबाही सिफारिस गरेको थियो। कारबाही सिफारिस गरिएका तीनै जनालाई प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले घुमुवाका रूपमा प्रदेश २ अन्तर्गतका ८ वटा जिल्ला हेर्ने गरी तैनाथ गराएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad