छापा खबर


ग्रेटवालको झल्को दिने सिन्धुपाल्चोकको ग्रेट ट्रेल

ग्रेटवालको झल्को दिने सिन्धुपाल्चोकको ग्रेट ट्रेल

नेपालखबर
माघ २०, २०७६ सोमबार ४:५७,

ह्योल्मो परम्पराको धर्मचक्र पर्खालअनुसार धमाधम बन्दै गरेको सम्भवतः ग्रेटवालको झल्को दिने ‘हिमालयन ग्रेट ट्रेल’ मा पुग्ने जोकोही दंग पर्छन् ।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले हिमाली क्षेत्र घोप्टेघ्याङमा विश्वकै अग्लो चिनको ग्रेटवालको अनुसरण गरी बनाइरहेको ६० किलोमिटरमा एक सय १० मिटरको काम सकिसकेको छ। हेलम्बु सरकारको ‘हिमालयन ग्रेट ट्रेल’ पुगेपछि वरिपरिका डाँडा र प्राकृतिक संरचनाले जसलाई पनि तान्छ।

पर्यटकीय गुरुयोजनाअन्तर्गत ठूलो योजना ‘हेलम्बु हिमालयन ग्रेट ट्रेल’ को डीपीआर सकेलगत्तै कामलाई तीव्र बनाइएको हेलम्बु गाउँपालिकाका प्रमुख निमाग्याल्जेन शेर्पाले बताए। ‘लामो ग्रेट ट्रेलभित्रको दस किमिको सुरुवाती चरणमा हालै सिँढी, बिसौना, पेटीलगायत संरचनाको काम धमाधम हुँदैछ,’ उनले भने ।

घोप्टेघ्याङमा एक सय १० मिटरको काम सकेर हालै नागिडाँडा–शेर्माथान र शेर्माथानबाट गुरु रेन्पोछे डाँडासम्म झन्डै चार सय मिटर संरचनाको काम थालिएको उनले सुनाए।

हेलम्बुको बुद्धपार्कबाट सुरु हुने पर्यटकीय ट्रेल शेर्माथाङ–ज्योमथाङ हुँदै पाँचपोखरी थाङपाल गाउँपालिका र हेलम्बुको सीमाक्षेत्र (ह्योल्मो परम्पराकी धनकी देवी) आमायांग्री क्षेत्रसँग जोडिनेछ। त्यहींबाट ढुक्पु–भेमेथाङ अर्थात् (गुरु रेन्पोछे तपस्यास्थल)–पासाङसिरी–गुफुपोखरी–जलंसा–दवालाङ्गगुफा–सेमीसिदाङ्ग हिमाल क्षेत्रमा पुग्नेछ।

‘ग्रेटवाल घुमिसक्दा यहाँका अधिकांश धार्मिक स्थल परिक्रमा र हेलम्बुको सम्पूर्ण दृश्यको आनन्द उठाउन सकिने गरी बन्दै छ,’ उनले भने।

इन्जिनियरिङ डिजाइनसहित ५० जना कामदारबाट हेलम्बु ट्रेलको ढुंगा कुँदेर सिंढी, बिसौनाको प्रारम्भिक काम तीव्र रूपमा भइरहेको खबर आजको कान्तिपुरमा अनिश तिवारीले लेखेका छन्।

हेलम्बु ग्रेट ट्रेलका सबइन्जिनियर शेरबहादुर राईका अनुसार ट्रेलमा सिमेन्ट थोरै र स्थानीय ढुंगा अत्यधिक प्रयोगमा ल्याइनेछ। ‘जसमा स्थानीय ढुंगा कुँदेर बन्ने ट्रेलमा हिँड्ने पदमार्गमा आकर्षक स्लेट ढुंगाको सिँढी बन्नेछ,’ उनले भने।

भौगोलिक अवस्थालाई नबिगारीकन निर्माण गर्न लागिएको हेलम्बु ट्रेलमा रुख नहुने स्थानमा वृक्षरोपण गरिने अनिवार्य नियम बनाइएको छ। यो ट्रेलको चौडाइ नौ फिट र भित्र मान्छे हिंड्ने ७ फिट अग्लो सिंढी संरचना बन्नेछ। स्थानअनुसार अढाई फिटसम्मको पाराफिट संरचनाको बन्ने ट्रेलको जंगलबीच जंगली जनावरबाट बच्न सुरक्षित व्यवस्थित पुल बनाइनेछ।

बौद्ध धर्मका गुरु रेन्पोछे, बुद्ध तपस्याभूमि, स्याब वा गुरु रेन्पोछेको पाउछाप, ढुक्पु तपस्या स्थल, झिचेन महायोगी मिलारेपा, पाल्चोक माईलाई हेलम्बु ट्रेलक्रमशः जोड्दै लगेको छ । हेलम्बुभरका धार्मिक स्थललाई जोडेर यो ट्रेल बन्नेछ।

नौ दिनको ट्रेकिङ रुट बनाएर १५ वर्षमा सक्ने लक्ष्य राखिएको छ। झन्डै ३ अरब बराबर लागत अनुमान गरिएको हेलम्बु हिमालयन ग्रेट ट्रेलमा कलात्मक ढुंगाको सिँढी कुदेर बनाइँदै छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad