नबिल बैंकले साना तथा मझौला उद्यम कर्जाको नयाँ प्रस्तुतिका रुपमा नबिल सजिलो एक्सप्रेस कर्जा योजना जारी गरेको छ।
कर्जासम्बन्धी निर्णय प्रक्रियालाई गति दिँदै जोखिममा आधारित मूल्यांकनसहित क्रेडिट स्कोरिङ मोडल कर्जा प्राप्तांकका आधारमा यो योजना आरम्भ गरिएको बैंकले जनाएको छ। सरल र शीघ्र प्रशोधनसहित अधिकतम १०.५ प्रतिशतको ब्याजदरमा यो कर्जा उपलब्ध हुनेछ।
बैंकका अनुसार नबिल सजिलो एक्सप्रेस कर्जा देशका सातैवटा प्रदेशमा लैजाने अभियानका क्रममा, यो कर्जा डिसेम्बर २३, २०१९ मा प्रदेश ३, काठमाडांैबाट सुरु गरिएको हो। नयाँ एसएमई कर्जा प्रदेश नं. ५ को भैरहवामा आयोजित एक समारोहका बीच उद्घाटन भएको बैंकको भनाइ छ। सो समारोहमा सिद्घार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष कुल प्रसाद न्यौपाने, बुटवल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष उज्वल कसजु तथा तिलोत्तमा उद्योग वाणिज्य संघका उपाध्यक्ष रामचन्द« पाण्डेको उपस्थिति थियो।
योजनाको शुभारम्भ अवसरमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले नबिल सजिलो एक्सप्रेस कर्जा देशका विभिन्न क्षेत्रमा रहेका साना तथा मझौला व्यवसायीहरुको अवश्यकताहरुलाई सम्बोधन गर्ने उद्देश्यले ल्याइएको जानकारी दिए। उनले भने, ‘हामी यहाँहरुको समय र व्यावसायिक सपनाको सम्मान गर्दछौं। अतः हामीले कर्जा प्रशोधन प्रक्रियालाई छिटोछरितो, सहज र सरल बनाउने दिशामा नबिल सजिलो एक्सप्रेस कर्जाजस्ता रचनात्मक योजनाहरु अघि सार्दै साना तथा मझौला उद्यमका ग्राहकको पहिलो रोजाइ बन्नेछौँ।’
साना तथा मझौला उद्यमको विकासका निम्ति नबिल बैंक र युके एड सक्षम एक्सेस टु फाइनान्स मिलेर सहकार्य गरिरहेका छन्। परिणामतः नबिल सजिलो कर्जा र नबिल नारी कर्जा योजना ल्याइएको बैंकको भनाइ छ। यी साना तथा मझौला कर्जा योजनाको सफलतापछि नबिल बैंकले नबिल सजिलो कर्जाकै स्तरोन्नतिका रुपमा नबिल सजिलो एक्सप्रेस कर्जा योजना सार्वजनिक गरेको छ।
क्रेडिट स्कोरिङ विधिको प्रयोग गर्दै कर्जा स्वीकृत गर्ने तथा ब्याज दर तोक्ने नबिल बैंक पहिलो बैंक बन्न पुगेको बैंकले जनाएको छ। यसबाट साना तथा मझौला उद्यमका ग्राहकका लागि ७५ लाखसम्मको कर्जा प्रतिस्पर्धी ब्याजदरमा उपलब्ध गराइने शाहले बताए। ऋणीको कर्जा आवेदनमा शीघ्र निर्णय लिँदै आवेदन प्राप्त भएको ३५ घण्टाभित्र स्वीकृति प्रदान गर्ने उद्देश्यले यो योजना जारी गरिएको बैंकले जनाएको छ।
नबिल सजिलो एक्सप्रेस कर्जा योजना निःशुल्क कारोबार सूचना, निःशुल्क मासिक विद्युतीय बैंकिङ विवरण, व्यवसायको मुख्य मानिसलाई निःशुल्क क्रेडिटकार्ड हस्तान्तरणका साथै ३५ घण्टाभित्र निर्णय दिइ सकिने आकर्षक प्याकेजका साथ आएको हो।
बैंकले सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समयअनुकूल सेवा प्रदान गर्दै आएको यस नबिल बैंकको १०२ शाखा १४३ एटीएम र १५ सयभन्दा बढी नबिल रेमिट एजेन्टहरु छन्। साथसाथै बैंकले देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै अघि बढ्ने विश्वाश लिएको छ।

प्रतिक्रिया