सत्तारुढ नेकपाको केन्द्रीय कमिटी बैठकमा अधिकांश सदस्य अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)को विपक्षमा उभिएपछि त्यसबारे निर्णय गर्न तीन सदस्यीय कार्यदल गठन भएको छ।
पार्टीका वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा गठित समितिमा स्थायी समिति सदस्य भीम रावल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सदस्य छन्।
खनाल र रावल दुबैजना एमसिसीको विपक्षमा छन्।
पार्टीले कार्यदलको संयोजक खनाललाई बनाएपछि नेपालमा एमसिसी संकटमा परेको नेकपाका नेताहरुले बताएका छन्। यो खबर आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन्।
‘वरिष्ठ नेता खनाल र रावल दुबै एमसिसी विरोधी हुन्। उनीहरुले दिने सुझाब सरकारको पक्षमा हुँदैन। त्यसकारण एमसिसी सम्झौता संकटमा पर्ने सम्भावना छ,’ नेकपाका एक नेताले भने।
वरिष्ठ नेता खनालले एमसिसी नेपालको हितमा नरहेको र त्यसलाई जस्ताको तस्तै पारित गर्नुहुन्न भन्ने अभिव्यक्ति दिँदै आएका छन्।

प्रतिक्रिया