ad ad

छापा खबर


श्रीमती भेट्न चीन गएका नेपाली चिकित्सक कोरोनाले परे अलपत्र

श्रीमती भेट्न चीन गएका नेपाली चिकित्सक कोरोनाले परे अलपत्र

नेपालखबर
माघ १८, २०७६ शनिबार ०:४६,

चीन घुम्न आएका शल्य चिकित्सक समीर भट्टराई कोरोना भाइरसको सबैभन्दा प्रभावित क्षेत्र हुपेईमा अलपत्र परेका छन्।

चीनले हुपेई प्रान्तको सदरमुकाम उहानलाई सिल्ड गरेपछि उनी नेपाल फर्किन नपाउने भएका हुन्।

झापाको दमकस्थित लाइफलाइन अस्पतालका शल्य चिकित्सक उनी डिसेम्बर १० मा ७ वर्षीया छोरी स्मारिकालाई लिएर चीन घुम्न आएका थिए।

डा. भट्टराईको फर्किने टिकट जनवरी ३० तारिखको थियो। दुई महिने भिसामा आएका उनको भिसा अवधि पनि फेब्रुअरी ९ मा सकिँदै छ।

भट्टराईको फर्किने कार्यतालिकाभन्दा १ साताअगाडि चीन सरकारले हुपेई प्रान्तलाई सिल्ड गरेको थियो, बेइजिङबाट चेतनाथ आचार्यले आजको नागरिक दैनिकमा खबर लेखेका छन्।

डा. भट्टराईकी पत्नी जानुका भुसाल उहाननजिकैको चिङ्चौ सहरस्थित याङ्चे विश्वविद्यालयमा स्त्री तथा प्रसूति रोग विषयमा एमडी गर्दै छिन्। उनले नै जाडो बिदा पारेर पति र छोरीलाई चीन घुम्न बोलाएकी थिइन्।

आगामी सेप्टेम्बरमा एमडी सकिने र खोज तथा अनुसन्धानमा निकै व्यस्त हुनुपर्ने भएकाले त्यसअघि नै चीन घुमाउने विचार गरेर उनले पति र छोरीलाई बोलाएकी थिइन्।

कोरोना भाइरसका कारण कोठामै थुनिनुपरेपछि आफूहरू उकुसमुकस भएको डा. भट्टराईले बताए।

‘हुेपईबाट कतै बाहिर जान पाइन्न। कहिलेसम्म यसरी थुनिएर बस्नुपर्ने हो?,’ उनले भने, ‘साथमा सानी छोरी पनि छे। आफ्नो नेपालको काम पनि चौपट हुने भयो।’

उनका अनुसार वुहानबाट अहिलेसम्म अमेरिका, कोरिया, बंगलादेश, श्रीलंका, जापान, भारतलगायत देशले आफ्ना नागरिक उद्धार गरेर स्वदेश फिर्ता गरिसकेका छन्।

दक्षिण एसियाली एक मात्र मुलुक पाकिस्तानले चीनलाई सदावहार अभिन्न मित्र मान्दै चीनको क्षमता र दक्षतामा विश्वास लागेकाले आफ्ना नागरिकको उद्धार नगर्ने बताइसकेको छ।

तर अन्य विभिन्न देशले आफ्ना नागरिकलाई उद्धार गरेर लगेपछि नेपाली विद्यार्थीमा मानिसक दबाब र त्रास बढेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .