प्रकाश सपुतको ‘गलबन्दी’ गीत भाइरल भयो। युट्युबमा भ्युजको रेकर्ड राख्दै गर्दा शम्भु राईले आफ्नो पुरानो गीत ‘आऊ नाचौं साथी हो....’ सँग लय मिलेको आरोप लगाए।
विवाद चर्किंदै गएपछि गत बुधबार दुई सर्जकबीच सम्झौता भएको छ। सम्झौतापछि कान्तिपुरको कोसेलीले सपुतसँग गरेको संवादको छोटो अंशः
‘गलबन्दी’ सिर्जना गरिरहँदा यस्तो विवादमा फसिएला भन्ने कल्पना गर्नुभएको थियो?
न यो गीतले यति धेरै सफलता पाउँछ भन्ने सोचेको थिएँ, न समस्यामा परिन्छ भन्ने। स्वविवेकले सिर्जना गरेको थिएँ। तर यस्तो आइलाग्यो।
विवाद कहाँबाट सुरु भयो?
एक जना अग्रज कलाकारबाट थाहा पाएँ। मैले त शम्भु राई सरको ‘आऊ नाचौं...’ गीत सुनेकै थिइनँ। त्यसैले यो गीत सुनें, मिलेको जस्तै लागेन। तैपनि शम्भु सरसँग बसेर छलफल गरौं न भनेको थिएँ। पछि अचानक कुरा नियन्त्रणभन्दा बाहिर गयो।
यो विवादलाई कतिपयले जातीयतासँग लगेर जोडे। तपाईंलाई ‘दलित भएकै कारण ममाथि आक्रमण भयो’ भन्ने लाग्छ?
धैर गैरदलितले मेरो संगीतलाई मन पराएर सपोर्ट गर्नुभएको छ। तर सत्य यो पनि हो, हाम्रो समाजमा दलित समुदायलाई होच्याइन्छ, विभेद गरिन्छ। त्यसैले कहीँ न कहीँ यो अन्धविश्वासको सोचले सामाजिक सञ्जालमा ममाथि प्रहार गरियो होला। तर शम्भु सरले चाहिँ म दलित भएकै कारण दबाउनुपर्छ भनेर यस्तो गर्नुभयो भन्ने लाग्दैन।

प्रतिक्रिया