छापा खबर


एसईईको नतिजाः प्रदेश २ कमजोर, प्रदेश ३ अगाडि

एसईईको नतिजाः प्रदेश २ कमजोर, प्रदेश ३ अगाडि

नेपालखबर
असार १३, २०७६ शुक्रबार ०:४४,

प्रदेशअनुसार छुट्टाछुट्टै प्रश्नपत्र बनाएर लिइएको एसईई परीक्षामा प्रदेश २ सबभन्दा कमजोर देखिएको छ भने अन्य प्रदेशहरुको तुलनामा संघीय राजधानीसमेत रहेको प्रदेश ३ सबभन्दा अगाडि देखिएको छ।

अनिवार्य विषयतर्फ सातै प्रदेशमा फरक–फरक प्रश्नपत्र अनुसार परीक्षा लिइएको थियो। यो खबर आजको कान्तिपुर दैनिकमा सुदीप कैनीले लेखेका छन्।

परीक्षाफल अनुसार १.६ देखि ४ जीपीए ल्याउने विद्यार्थीको प्रतिशत सबभन्दा बढी प्रदेश ३ मा छ । कुल एक लाख ३३ हजार विद्यार्थी मध्ये ९५.३८ प्रतिशतले उक्त समुहको जीपीए प्राप्त गरेका छन्।

प्रदेश २ मा भने उक्त समूहको जीपीए ल्याउने विद्यार्थी संख्या ७७ प्रतिशत मात्र छ । उक्त प्रदेशबाट ६४ हजार ८ सय विद्यार्थीले परीक्षा दिएका थिए । सोही प्रदेशमा प्रश्नपत्र परीक्षा अगाबै बाहिरिएर परीक्षा स्थगित भएको थियो । प्रदेश २ कै साक्षरता प्रदेश पनि सबभन्दा कमजोर छ।

गण्डकी प्रदेशले पनि प्रदेश ३ कै हाराहारीमा नतिजा ल्याएको छ। ४६ हजार ४ सय विद्यार्थीले एसईई दिएकोमा उक्त समूहको जीपीए प्राप्त गर्ने विद्यार्थी ९४।८१ प्रतिशत छन् ।

सुदुरपश्चिम प्रदेशको नतिजा भने प्रदेश २ पछिको कमजोर देखिन्छ । सुदूरपश्चिमबाट ७९ प्रतिशत विद्यार्थीले मात्र उक्त समुहको जीपीए ल्याएका छन् । २१ प्रतिशत परीक्षार्थीले १.६ भन्दा कम जीपीए ल्याएका छन् । त्यहाँबाट ४९ हजार ६ सय जनाले परीक्षा दिएका थिए।

सुदूरपश्चिमपछि कर्णाली प्रदेशको नतिजा कमजोर देखिन्छ । ३२ हजार ३ सय परीक्षार्थी रहेकामा सोही समूहको जीपीए ल्याउने ८३ प्रतिशतमात्र छन्।

उक्त जीपीएअर्न्तगत प्रदेश १ र ५ मा क्रमशः ८८ र ८७ प्रतिशत नतिजा देखिन्छ । प्रदेश १ बाट ७९ हजार ३ सय परीक्षार्थी थिए भने ५ बाट ७३ हजार ६ सय विद्यार्थी सहभागी थिए।

बोर्डले ग्रेडवृद्धि परीक्षाको नतिजा भने सार्वजनिक गरेको छैन । सार्वजनिक नतिजामा बढीमा दुई विषयमा ‘सी’ वा ‘सी’ भन्दा तल्लो ग्रेड प्राप्त गरेका वा दुई विषयसम्म अनुपस्थित भएका परीक्षार्थीहरुले ग्रेडवृद्धिको लागि पुरक ग्रेडवृद्धि परीक्षा दिन सक्नेछन्।

उक्त परीक्षाको लागि समय तालिका छिट्टै सार्वजनिक गरिने परिक्षा नियन्त्रकले जनाए । परीक्षाले नतिजामा चित्त नबुझे पुनर्योग गराउन सक्नेछन्।

नतिजा प्रकाशन भएको १५ दिनभित्र परीक्षा नियन्त्रण कार्यालय, प्रदेशस्थित शिक्षा विकास निर्देशनालय वा जिल्ला स्थित शिक्षा विकास तथा समन्वय इकाईमा निवेदन दिनसक्ने व्यवस्था छ । चैत १० गतेदेखि परीक्षा सञ्चालन भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad