छापा खबर


सुदखोर रामबाबुलाई कारबाही नगर्न राजपाको दबाब

सुदखोर रामबाबुलाई कारबाही नगर्न राजपाको दबाब

नेपालखबर
पुस २५, २०७६ शुक्रबार १:३५,

लाख दिएर करोड असुल्दै सयौँ व्यक्ति ठग्ने साहुकार रामबाबु राय यादवलाई प्रहरीले पक्राउ गरेर हिरासतमा राखेपछि छुटाउन राजनीतिक दबाब सुरु भएको छ।

राष्ट्रिय जनता पार्टी (राजपा) का केन्द्रीय सदस्यसमेत रहेका रायलाई छुटाउन पार्टीका जिल्ला नेताहरूले प्रशासन र प्रहरीलाई दबाब दिन थालेका खबर आजको नयाँ पत्रिका दैनिकमा टेकराज थामी र वीरेन्द्र ओलीले लेखेका छन्।

राजपा सर्लाही संयोजक सुशील यादवको नेतृत्वमा डेढ सयको संख्यामा रहेको समूहले बिहीबार प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई भेटेर आफ्ना नेतालाई छाड्न चेतावनी दिएका हुन् । कुनै उजुरीविना नै पक्राउ गर्नु गलत भएको भन्दै उनीहरूले आपत्ति जनाएका छन्।

‘राजपा जिल्ला संयोजकसहित नेता–कार्यकर्ता आउनुभएको थियो,’ सिडिओ मोहनबहादुर जिसीले भने, ‘उजुरी र प्रमाणविना किन पक्राउ गरियो भन्दै हुनुहुन्थ्यो ।’ उनीहरूले ज्ञापनपत्रसमेत बुझाएका छन् । बिहीबारै प्रहरी प्रमुख एसपी विश्वमणि पोखरेललाई पनि भेटेर उनीहरूले यही माग गरेका छन्।

सिडिओ र एसपीलाई दबाब दिन जिल्ला संयोजक सुशील यादवसँगै कविलासी नगरपालिकाका मेयर कौशल यादव, कौडेना गाउँपालिका अध्यक्ष रामप्रसाद यादवलगायत गएका थिए । सिडिओलाई ज्ञापनपत्र बुझाउनुअघि उनीहरूले नारा–जुलुससहित मलंगवा बजारमा प्रदर्शनसमेत गरेका थिए।

सर्लाही, महोत्तरी, धनुषा, सिराहालगायतका हजारभन्दा धेरैलाई ऋण दिएभन्दा बढीको कागज गराएर ठग्ने अर्का साहुकार सञ्जय रौनियार भने बिहारस्थित सीतामढी पुगेको सूचना प्रहरीले पाएको छ । भारतीय नागरिकतासमेत भएका उनी सीतामढीस्थित आफ्नै होटेलमा रहेको सूचना पाएको एसपी पोखरेलले बताए।

‘हामीले सञ्जय रौनियारको खोजी गर्‍यौँ । उनी लुक्न सक्ने ठाउँमा पुग्यौँ । तर, नेपालमा नभएको सूचना प्राप्त भयो । सीतामढीमा उनको ठूलो होटेल छ । त्यहीँ लुकेर बसेको सूचना छ, पक्रिने व्यवस्था मिलाउँदै छौँ,’ उनले भने।

बुधबार गृह मन्त्रालयमै जाहेरी दर्ता गराएका सर्लाही बरहथवा–१ हजारियाका ६७ वर्षीय मिरुगन राय यादवको जाहेरी मात्रै बिहीबार प्रहरीले दर्ता गरेको छ ।

प्रमाणका लागि कागजातसहित सर्लाही जिल्ला प्रहरी कार्यालय पुगेका २० भन्दा बढी पीडितलाई भने प्रक्रिया पुर्‍याएर भोलि आउनू भन्दै प्रहरीले फर्काइदिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad