छापा खबर


मध्यपूर्वमा युद्ध भए ११ लाख नेपाली जोखिममा

मध्यपूर्वमा युद्ध भए ११ लाख नेपाली जोखिममा

नेपालखबर
पुस २५, २०७६ शुक्रबार १:२२,

इरान र अमेरिकाबीच तनाव बढ्दै गए मध्यपूर्वमा रोजगारीको सिलसिलामा रहेका १० लाखभन्दा बढी नेपाली जोखिममा पर्ने भएका छन्।

इराकलगायत मुलुकमा रहेका नेपाली अहिलेसम्म सुरक्षित रहे पनि संकट थपिँदै जाँदा उनीहरूको उद्धार गर्न तयारी हालतमा बस्नुपर्ने निष्कर्ष सरकारले निकालेको छ ।

मध्यपूर्वमा रहेका नेपालीको उद्धार गर्न नेपाल वायुसेवा निगमको जहाज तयारी अवस्थामा राख्ने निर्णय परराष्ट्र मन्त्रालयमा बिहीबार बसेको सबै सरोकारवाला निकायबीचको बैठकले गरेको खबर आजको नयाँ पत्रिका दैनिकमा पर्शुराम काफ्ले र मुना कुँवरले लेखेकी छन्।

बैठकमा परराष्ट्रसहित प्रधानमन्त्री कार्यालय, श्रम, रक्षा, संस्कृति तथा पर्यटन, अर्थ, गृह मन्त्रालयका अधिकारी, नेपाली सेना, वैदेशिक रोजगार विभाग र अध्यागमन विभागका अधिकारी सहभागी थिए ।

नेपाल सरकार पछिल्लो परिस्थितिपछि सतर्क अवस्थामा रहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले बताए ।

‘अहिलेसम्म परिस्थिति बिग्रिसकेको छैन । आवश्यक परे नेपाली नागरिकको उद्धार गर्न तत्पर अवस्थामा हामी छौँ,’ उनले भने । इराकमा रहेका नेपाली कामदारलाई विमान चार्टर्ड गरेरै उद्धार गर्ने तयारीका लागि पर्यटन मन्त्रालयले नेपाल वायुसेवा निगमलाई निर्देशन दिएको छ ।

त्यसको विकल्पमा सरकारले इराकमा रहेका कामदारलई समुद्री मार्ग हुँदै भारत वा साउदी अरबसम्म ल्याउने, भारतसम्म ल्याइएका कामदारलाई बसबाट र साउदी अरबसम्म ल्याइएका कामदारलाई जहाजबाट उद्धार गर्ने गरी योजना बनाएको छ ।

बैठकले खाडी मुलुकको परिस्थिति र नेपालीको सुरक्षा अवस्था विश्लेषण गर्न परराष्ट्र मन्त्रालयका पश्चिम एसिया महाशाखा प्रमुख हरिश्चन्द्र घिमिरेको संयोजकत्वमा अन्तर्निकाय समन्वय समिति गठन गरेको छ ।

हालसम्म इराकमा युद्धको प्रभाव नपरे पनि सम्भावित जोखिमलाई मध्यनजर गरी सरकारले खाडी क्षेत्रका सबै राजदूतावासलाई समेत सतर्क रहन निर्देशन दिने पनि निर्णय भएको छ ।

बैठकले सम्बन्धित मुलुकको पछिल्लो विकासक्रमको अध्ययन गर्ने र नियमित रिपोर्टिङ गर्ने, नेपालीसँग निकट सम्पर्कमा रहने, उनीहरूलाई पनि दूतावासको सम्पर्कमा रहन आग्रह गर्ने र अतिआवश्यकबाहेकको अवस्थामा बाहिर हिँडडुल नगर्न आग्रह गर्ने दूतावासहरूलाई तीनबुँदे सर्कुलर जारी गरेको छ ।

इराकमा रोजगारीका लागि सरकारले अनुमति दिएको छैन । तर, गैरकानुनी प्रक्रियाबाट नेपालीहरू इराक पुगेका छन् । श्रममन्त्री रामेश्वर राय यादवका अनुसार करिब २० हजार नेपाली इराकमा छन् ।

‘वैदेशिक रोजगार विभागलाई कामदारको तथ्यांक संकलन गर्न निर्देशन दिएको छु । जसरी गएका भए पनि नेपाली नागरिकको उद्धार गर्नु सरकारको दायित्व हो,’ यादवले भने ।

अमेरिका र इरानबीचको तनावले मध्यपूर्वी क्षेत्र (पश्चिम एसिया) प्रभावित छ । नेपाली दूतावासहरूका अनुसार खाडी क्षेत्रमा रहेका नेपाली कामदार हालसम्म सुरक्षित छन्।

वैदेशिक रोजगारीका लागि बिदेसिने नेपाली कामदारमध्ये ९० प्रतिशत खाडी क्षेत्रमा छन् । त्यसो हुँदा इराक र अमेरिका युद्ध चर्कियो भने नेपाली अर्थतन्त्र प्रभावित हुने नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले बताए ।

उनका अनुसार नेपाल भित्रने कुल रेमिट्यान्समध्ये ५० प्रतिशत हिस्सा खाडी मुलुकको छ । कामदार फर्कनबित्तिकै रेमिट्यान्स आप्रवाहमा आधाले घट्ने उनले बताए ।

‘रेमिट्यान्स घट्दा सामाजिक आर्थिक सूचक पूर्णरूपमा प्रभावित हुन्छ । उपभोगमा कमी आउने, आयात रोकिने, निर्माण कार्य प्रभावित हुनेछ,’ उनले भने ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad