छापा खबर


बलात्कारका अभियुक्तले गाउँ फर्केर भोजभतेर गरे, बलात्कृत आँसु बोकेर काठमाडौं आइन्

बलात्कारका अभियुक्तले गाउँ फर्केर भोजभतेर गरे, बलात्कृत आँसु बोकेर काठमाडौं आइन्

नेपालखबर
पुस २३, २०७६ बुधबार ०:४८,

बलात्कारपछि भारतको दिल्लीमा बेचिएकी नेपालगन्जकी २२ वर्षीया अनिशा शर्मा (नाम परिवर्तन) तब झस्किइन्, जब उच्च अदालत तुल्सीपुरको नेपालगन्ज इजलासले जिल्ला अदालत बाँकेको आदेश उल्ट्याएर घटनाका अभियुक्तलाई एक–एक लाख धरौटीमा छाड्न आदेश दियो ।

आदेशलगत्तै अभियुक्त निजामुद्दिन साँई र मुवारक नाउ जेलमुक्त भए । उनीहरूले गाउँ फर्किएर भोजभतेर गरे।

पीडित भने गाउँबाट विस्थापित हुनुपर्‍यो । निजामुद्दिन र मुवारकका परिवारले निरन्तर ज्यान मार्ने धम्की दिएपछि उनी माइतीको शरणमा पुगिन् । पीडा भुल्ने कोसिस गरिन्, तर सकिनन्।

माइती पक्षसँग सल्लाह गरिन् । ढाडस पाएपछि न्यायको लडाइँ लड्न सर्वोच्च अदालतको दैलोमा जाने निर्णयमा पुगिन् । दोषीलाई कानुनी कठघरामा उभ्याउने अठोटसहित तीन दिनअघि उनी नेपालगन्जबाट बस चढेर काठमाडौं आएकी छिन् ।

यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

काठमाडौंको एक गेस्टहाउसमा गोप्य रूपमा बसेकी उनलाई निजामुद्दिन र मुवारकका परिवारबाट धम्की रोकिएको छैन । मुद्दा बोकेर काठमाडौं हिँडेलगत्तै घटनाका प्रतिवादी पनि आएको सूचना पाएपछि उनी झन् डराएकी छिन् ।

‘जबर्जस्ती करणी मात्र होइन, मानव बेचबिखनजस्तो जघन्य अपराधमा उच्च अदालत नेपालगन्जले धरौटीमा अभियुक्त छाड्यो । पुर्पक्षमा रहेका उनीहरू कैदमुक्त भए । यसले साह्रै पीडा दियो । न्याय माग्न सर्वोच्च अदालत जानुको हामीसँग विकल्प भएन । पीडितले न्याय पाउने आशा बोकेर हामी नेपालगन्जदेखि काठमाडौं आएका छौँ । हेरौँ अब के हुन्छ,’ पीडितका मामाले भने ।

घटना १३ कात्तिकको हो । अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीका अनुसार नेपालगन्ज फुलटेक्रा आँखा अस्पतालमा आँखाको उपचार गराएर अनिशा श्रीमान्सँग साइकलमा घर फर्किँदै थिइन् ।

घरनजिकै आइपुगेपछि श्रीमान् खेततिर लागे । आफू सरासर घर आइन् । धान काट्ने चटारो भएकाले घरमा कोही थिएनन् । बुर्का फेर्न कोठामा छिरिन् । लगत्तै कोठामा दुई युवा छिरे । फर्किएर हेर्दा छिमेकी निजामुद्दिन साँई र मुवारक नाउलाई देखिन् ।

निजामुद्दिन र मुवारकले उनलाई धम्क्याउँदै धनमाल बुझाउन भने । निर्देशनअनुसार गलाका गहना खोलेर टक्र्याइन् । बाकसका गहना पनि झिकेर सुम्पिइन् । भएजति पैसा पनि दिइन् ।

अब त छाडिदिने आसमा थिइन् अनिशा । तर, दुई युवाले आफूहरूसँगै जानुपर्ने दबाब दिए । इन्कार गरेपछि बलजफ्ती मुखमा रुमाल कोचिदिए । हातखुट्टा बाँधेर बाहिर निकाले । मोटरसाइकलमा राखेर भारतको रुपैडियातिर लगे ।

बाटोमा केहीबेर बिस्कुट खान दिए, तिर्खा मेट्न भन्दै पेप्सी पनि दिए । बिस्कुट र पेप्सी खाएपछि उनी बेहोस भइन् ।

भोलिपल्ट बिहान उनले आफूलाई ट्याक्सीभित्र पाइन् । ट्याक्सीमा अपरिचित एक व्यक्ति उनीनजिकै बसेका थिए । चालक पनि थिए । आत्तिएकी उनले आफूलाई लिएर आउने दुई युवाबारे सोधिन् । एक लाख भारुमा बेचेर उनीहरू हिँडेको ट्याक्सीका व्यक्तिले जवाफ दिए ।

उनलाई ट्याक्सीमै राखेर एउटा घरमा लगेर कोठामा थुने । दुईजनाले बलात्कार गरे । रातभर रोएर बसेकी उनलाई भोलिपल्ट एक भारतीय महिलाको जिम्मा लगाएर अपरिचित व्यक्ति पनि हिँडे ।

याचना गरेपछि ती महिलाले घरमा सम्पर्क गर्न अनिशालाई फोन दिइन् । त्यही फोनबाट अनिशाले बुबालाई फोन गरिन् ।

भारतीय महिलाले दिएको ठेगानाअनुसार अनिशाका बुबाले दिल्लीमा रहेका आफन्तलाई खबर गरेर उद्धारमा खटाए । १७ कात्तिकमा उद्धार गरेर नेपाल ल्याइयो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad