छापा खबर


बलात्कार आरोपमा नौ महिना जेल बसेपछि निर्दोष ठहर

बलात्कार आरोपमा नौ महिना जेल बसेपछि निर्दोष ठहर

नेपालखबर
पुस २२, २०७६ मंगलबार २:४७,

कसूरअनुसार सजाय भोग्नु त कानुनी शासनको नियम नै हो। तर, कसूरबिना नै नौ–नौ महिनासम्म जेल बस्नुपर्दा कति पीडा होला निर्दोषलाई?

यसरी नै जेल बस्नुपर्दा कम्ता पीडा भएको छैन सिन्धुपाल्चोक सुनकोसी गाउँपालिका–६ थुम्पाखरका रेशमबहादुर पाख्रिनलाई, त्यो पनि बलात्कारको आरोपमा।

२०७५ कात्तिक १३ गतेका दिन एक अपरिचित महिलाले बलात्कारको आरोपमा उहाँविरुद्ध महानगरीय प्रहरी परिसर ललितपुरमा मुद्दा दर्ता गराइन्।

त्यसको १४ दिनपछि कात्तिक २७ गते प्रहरीले पाख्रिनलाई जावलाखेलको एक रेस्टुरेन्टबाट पक्रियो।

तत्कालीन प्रहरी नायक उपरीक्षक नारायण चिमौरियाको निर्देशनमा खटिएको प्रहरी टोलीले बलात्कार आरोपमा ती महिलाले दिएको जाहेरी पढेर सुनाएपछि उनी छाँगाबाट खसेजस्तै भए।

जाहेरीमा २०७५ असोज १ गते साढे दुई बजे ललितपुर महानगरपालिकाको ज्वागल हुँदै कुसुन्ती जाने क्रममा पाख्रिनले स्कारपियोमा राखेर कुसुन्ती पुर्याइदिने भन्दै कुपण्डोलस्थित कार्यालयमा लगी करणी गरेको आरोप लगाइएको थियो।

उनले करणीको भिडियोसमेत बनाएको किटानी जाहेरी दिएकी थिइन्। त्यति मात्र हैन उनले पछि पनि पटक–पटक र अन्तिमपटक असोज ६ गते बलात्कार गरेको दोष लगाएकी थिइन्।

पाख्रिनले आरोपी महिलालाई नचिनेको दाबी गरे पनि प्रहरीले छोडेन।

बरु थुनामै राखेर पाटन अस्पतालमा उहाँ र महिलाको स्वास्थ्य परीक्षण गरायो। तर, विशेषज्ञ डा.सिर्जना कुँवरको टोलीले जाहेरीवालाको शरीरमा आलो घाउ वा चोटपटक नदेखिएको, अवस्था सामान्य भएको र घटना भएको मितिले एक महिनापछाडि शारीरिक सम्पर्क राख्दा कुनै संकेत नभेटिने हुँदा घटना घटे–नघटेको भन्न नसकिने भनी रिपोर्ट दियो।

दोषी देखिने आधार फेला नपरे पनि उनलाई पुर्पक्षका लागि २४ दिन जेल चलान गरिएको थियो।

पाख्रिनले कानुनी उपचार खोजिरहे। एकातिर डा. सिर्जनाको उक्त रिपोर्ट जिल्ला अदालत पाटनमा पेस भयो भने अर्कोतिर पाख्रिनका चालक जय खड्काले आरोप लगाइएको दिन पाख्रिन दिनभर कार्यालय नै नगएको बयान अदालतमा दिए।

अन्ततः २०७६ असार २४ गते जिल्ला अदालत पाटनले पाख्रिन निर्दोष भएको फैसला सुनाएको खबर आजको समाचारपत्र दैनिकमा मधुसूधन रायमाझीले लेखेका छन्।

उक्त फैसलामा अदालतले जाहेरी दिने पीडितको विवेचित तथ्य र प्रमाणलाई दृष्टिगत गर्दा प्रस्तुत मुद्दामा जाहेरवालाको कथनबाहेक जबरजस्ती करणीको वारदाता भएको तथ्य पुष्टि गर्ने वस्तुनिष्ठ प्रमाण नरहेको उल्लेख गरिएको थियो।

जिल्ला अदालत पाटनका न्यायाधिश मदनबहादुर धामीको एकल इजलासले गरेको उक्त फैसलाको बुँदा नम्बर ४२ मा ती महिलाको जाहेरीमा उल्लिखित ब्यहोरा, प्रहरीलाई दिएको बयानको कागज र अदालतमाा गरेको बकपत्रमा लेखाएको ब्यहोरासमेत आपसमा संगतयुक्त नदिएको उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad