छापा खबर


डीआईजी आशा सिंहले शान्ति मिसनमा नगई यूएनको तक्मा लगाएको खुलासा

डीआईजी आशा सिंहले शान्ति मिसनमा नगई यूएनको तक्मा लगाएको खुलासा

नेपालखबर
पुस २१, २०७६ सोमबार ३:४३,

गृहसचिव प्रेमकुमार राईको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिले पुस १४ गते नेपाल प्रहरी अस्पतालको प्राविधिक अतिरिक्त महानिरीक्षक औएआईजीओ तथा कार्यकारी निर्देशकमा प्राविधिक डीआईजी आशा सिंहलाई सिफारिस गर्‍यो।

डीएसपीदेखि डीआईजीसम्म बढुवाको वरीयताक्रममा १ नम्बरमा रहेका मीनराज पाठकको सट्टा दोस्रो नम्बरकी सिंहलाई एआईजीमा सिफारिस गरिएको थियो ।

तिनै सिंहले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा सहभागी नभई यूएनको तक्मा लगाएको भेटिएको खबर आजको कान्तिपुर दैनिकमा मातृका दाहालले लेखेका छन्।

अस्पतालकी एआईजी दुर्गा थापा पुस ४ गते अवकाश भएपछि वरिष्ठ डीआईजीका रूपमा पाठकलाई निमित्तको जिम्मेवारी दिइएको थियो ।

तर ०७४ र ०७५ को कार्यसम्पादन मूल्यांकनमा अस्पतालका वरिष्ठ डीआईजी पाठकभन्दा सिंह अगाडि रहेको पाइएपछि बढुवा सिफारिस गरिएको गृह मन्त्रालयले जनाएको छ ।

पाठक वरिष्ठ बालरोग विशेषज्ञ र सिंह महिला रोग विशेषज्ञ हुन् । ०५२ सालमा सँगै सेवा प्रवेश गर्दा निरीक्षकमा सिंह पहिलो नम्बरमा थिइन् । त्यसपछि पाठक लगातार पहिलो र सिंह दोस्रो नम्बरमा थिए ।

सिंहको डीआईजी पोसाक रहेको तस्बिरको बायाँतर्फ तल्लो भागको पदक यूएनमा सेवा गरेबापत पाउने सम्मान हो । सिंहले कार्यालय पोसाकमै सुडान मिसनमा सहभागी भएबापत प्रदान गरिने तक्मा लगाएको देखिन्छ ।

युनाइटेड नेसन्स मिसन इन सुडान (अनमिस) बाट प्राप्त हुने तक्मा सिंहले लगाएकी छन् ।

तर प्रहरीको अभिलेखअनुसार सिंहले कुनै पनि मिसनमा भाग लिएकी छैनन् । सिंहले पनि आफू शान्ति मिसन नगएको बताइन् ।

प्रहरी प्रवक्ता डीआईजी शैलेश थापाले यस विषयमा आफूलाई जानकारी नभएको बताए । तर प्रवक्ता थापाले मिसनमा सहभागी नभई ‘राष्ट्रसंघमा योगदान गरेबापत पाउने सम्मान वा पदक’ लगाउनु गैरकानुनी हुने बताए ।

‘सिंहले मिसन नगई तक्मा लगाएको विषयमा मौखिक उजुरी आए पनि लिखित रूपमा कुनै निवेदन परेको छैन,’ गृह मन्त्रालय स्रोतले भन्यो।

अनधिकृत रूपमा राष्ट्रसंघको तक्मा लगाएको विषयमा प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा र गृहसचिव राईलाई जानकारी गराइएको प्रहरी स्रोतले बतायो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad