नेपाली बजारमा सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको छ।
शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेर प्रतितोला ७४ हजार ५ सय रुपैयाँ पुगेको हो। यो अहिलेसम्मकै उच्च मूल्य हो।
साताको पहिलो दिन आइतबार प्रतितोला ७३ हजार ३ सय रुपैया रहेको प्रतितोला सुनको मूल्य तोलामा १ हजार २ सय रुपैयाँ बढेर अन्तिम दिन शुक्रबार ७४ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। यो खबर आजको कारोबार दैनिकले छापेको छ।
बुधबार र बिहीबार स्थिर रहको सुनको मूल्य शुक्रबार एकै दिन तोलामा १ हजार बढेर प्रति तोला ७४ हजार ५ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ।
महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले अमेरिका र इरानबीच तनाव बढिरहेकाले सुनको भाउ बढ्न गएको बताए। गत भदौ महिनामा बढेको सुनको मूल्य त्यसयता घट्दै आएको अहिले आएर सुनको मूल्यमा एक्कासी वृद्धि भएको उनको भनाइ छ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य अझै बढ्ने संकेत देखिएको उनको भनाइ छ ।अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्यमा वृद्धि भएको छ । शुक्रबार अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस एक हजार ५ सय ४२ डलर पुगेको छ।
अन्तर्राष्ट्रिय मूल्यले प्रभाव पारेको तथा अमेरिका र इरानबीच टकाराव बढेकाले सुनको मूल्य अझै बढ्न सक्ने महासंघले जनाएको छ । यसअघि गएको भदौ १८ गते सुनको भाउ बढेर तोलाको ७३ हजार ५ सय रुपैयाँ पुगेको थियो। त्यसयता घटेर तोलाको ७० हजार रुपैयाँसम्म झरेको सुनको भाउ गएको महिनादेखि उकालो लाग्दै गएको हो।
Shares
प्रतिक्रिया