छापा खबर


युवतीलाई भारतमा लगेर बेच्ने युवकलाई न्यायाधीशले एक लाख धरौटीमा छाडे

युवतीलाई भारतमा लगेर बेच्ने युवकलाई न्यायाधीशले एक लाख धरौटीमा छाडे

नेपालखबर
पुस १७, २०७६ बिहिबार ३:३२,

२२ वर्षीया नग्मा (नाम परिवर्तन) कहिल्यै बुर्का छुटाउँदिनन् ।

त्यस दिन पनि बुर्का लगाएरै पतिसँग आँखाको उपचारका लागि अस्पताल गएकी थिइन् । जाँच सकिएपछि उनलाई घर जाने बाटोसम्म पुर्‍याएर पति काममा फर्किए । त्यस बेला धान काट्ने चटारो थियो।

कोठामा पुगेर नग्मा लुगा फेर्न थालिन् । त्यही बेला दुई जना पुरुष कोठाभित्र छिरे । उनलाई अँठ्याएर घरमा भएका सबै सामान दिन धम्क्याए ।

उनले भएजति जिम्मा लगाइदिइन् । ती व्यक्तिले नगद र गहना मात्र होइन, नग्मालाई पनि जबर्जस्ती मोटरसाइकलमा राखे । मुख थुनिएकाले चिच्याउन सकिनन् । उनलाई गाउँको बाटो हुँदै भारतको रुपैडिया पुर्‍याए ।

जबर्जस्ती नशालु पेय र बिस्कुट खुवाए । होस नखुल्दै उनलाई नयाँदिल्ली पुर्‍याइयो । होसमा आउँदा ट्याक्सीमा आफूलाई दुई पुरुषसँग पाइन् ।

आफूलाई दिल्ली पुर्‍याउनेले एक लाख भारतीय रुपैयाँमा बिक्री गरेर छाडेको उनले पछि थाहा पाइन् । उम्कने प्रयास गर्दा सकिनन् ।

भाग्न खोज्दा उनीसँग जबर्जस्ती गरेको भिडियो र निर्वस्त्र तस्बिर मोबाइलमा देखाएर त्यसलाई ‘भाइरल’ बनाउने धम्की दिए । उनलाई एक महिलाको घरमा बन्धक बनाएर राखियो । हारगुहारपछि ती महिलाले फोन गर्न दिइन् ।

नग्माले आफ्नो बाबुलाई फोन गरिन् । आफूलाई राखिएको ठेगाना बताइन् । बाबुले दिल्लीमा भएका आफन्तलाई खबर गरे । उनीहरूले घरबाट उठाइएको चार दिनपछि नग्मालाई फिर्ता ल्याए ।

नेपालगञ्जबाट आजको कान्तिपुरमा रुपा गहतराजले लेखेको समाचार अनुसार यो गएको कात्तिकको घटना हो ।

नेपाल आएपछि नग्माले आफूलाई बन्धक बनाएर लग्ने दुई पुरुषविरुद्ध मानव बेचबिखन कसुरमा उजुरी दिइन् । गाउँकै ती युवा निजामुद्दिन साई र मुबारक नाउ पक्राउ परे ।

प्रहरीले धेरै केरकार गरेर मुद्दा अदालत पठायो । गत पुस १० मा उच्च अदालत तुलसीपुरको नेपालगन्ज इजलासका न्यायाधीशद्वय पवनकुमार शर्मा र ऋषिप्रसाद अधिकारीले दुवै युवकलाई एक एक लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिए ।

दुवै युवक रिहा भइसकेका छन् । स्थानीयका अनुसार रिहा भएपछि गाउँमा खुसियाली मनाइयो । भोज आयोजना गरियो।

नग्माले न्याय पाएको अनुभूति गर्न सकिनन् । अहिले बोल्न पनि डर लाग्ने गरेको उनी सुनाउँछिन् । ‘मेरो सबै लुटियो । जिन्दगी बर्बाद भयो,’ उनले भनिन्, ‘मलाई यस्तो गर्ने मेरै अगाडि खुलेआम घुम्छन्।’

नग्माको पक्षमा बहस गरेकी कानुन व्यवसायी सुनिता शर्मा मानव बेचबिखनको मुद्दामा आरोपितलाई धरौटीमा छाड्नै नमिल्ने बताउँछिन् ।

नग्मालाई न्याय दिलाउन माइती परिवारले साथ दिइरहेको छ । गत कात्तिकदेखि उनीहरू अदालत धाइरहेका छन् । परिवार त्रासमा छ।

‘नग्माका बहिनीहरू स्कुल जान डराउँछन्,’ नग्माकी कान्छी आमाले भनिन्, ‘अम्मी, हामीलाई स्कुलबाट छुटाइदिनुस् भनेर हैरान गरिरहेका छन् ।’ आरोपित गाउँकै भएकाले नग्मासित देखादेख भइरहन्छ।

त्यसैले सम्हाल्न गाह्रो भएको नग्माले बताइन् । ‘मैले जे भोगेँ, यसको कुनै औषधि छैन । तर, मैले न्याय पाउनुपर्छ,’ उनले भनिन्, ‘मलाई यस्तो गर्नेले भोलि अरूलाई पनि गर्न सक्छन् ।’

उनका पति त्यो घटनापछि देखापरेका छैनन् । ‘पतिको घरबाट सबै आउँछन् । कुरा गर्छन्,’ नग्माले भनिन्, ‘उनी आउँदैनन् । अब सबै थाहा पाएपछि मलाई कसरी स्विकार्लान्!’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad