नेपालमा पछिल्ला पाँच वर्षमा सबैभन्दा बढी सैन्य सहयोग उत्तरी छिमेक चीनबाट भित्रिएको छ।
नेपाली सेनालाई सहयोग गर्ने अन्य मुख्य मुलुक अमेरिका र भारतभन्दा चीनको सहयोग बढेको सैनिक मुख्यालय जंगीअड्डा स्रोतबाट प्राप्त तथ्यांकमा देखिएको खबर आजको कान्तिपुर दैनिकमा जगदीश्वर पाण्डेले लेखेका छन्।
यो अवधिमा चीनबाट करिब १२ अर्बको सहयोग आउँदा अमेरिकाबाट करिब ५ अर्ब हाराहारी सहयोग भित्रिएको छ।
नेपालले सैन्य सहयोगका रूपमा विभिन्न मुलुकबाट हवाई जहाज, सञ्चारका साधन, बम निष्क्रिय गर्ने साधन, हेभी र लाइट सवारीसाधन, ढुंगा, हतियार, विस्फोटक पदार्थ, संयुक्त राष्ट्रसंघअन्तर्गत शान्ति स्थापनार्थ चाहिने आर्मोरेट पर्सनल क्यारियर (एपीसी) लगायतका सामान लिन्छ ।
सुरक्षाविद् गेजा शर्मा वाग्ले नेपाली सेनालाई चीनको सहयोग बढ्दै जानुलाई स्वाभाविक मान्छन् ।
‘नेपालका सुरक्षा निकायहरूलाई आर्थिक, प्राविधिक र सैन्य सहयोग गरेर आफ्नो सुरक्षा चासोलाई सम्बोधन गर्ने शक्ति राष्ट्रहरूको घोषित रणनीति नै छ,’ उनले भने, ‘त्यही कारण हरेक वर्ष उदीयमान शक्ति चीन, अर्को छिमेकी भारत र महाशक्ति अमेरिकाले नेपालका सुरक्षा निकायलाई सहयोग बढाउँदै लगेका छन् । यो नेपालमा भएको उनीहरूको सामरिक प्रतिस्पर्धाको प्रतिविम्ब पनि हो ।’
उनीहरूले सुरक्षा निकायलाई सहयोग गरेर आ–आफ्नो देशको चासो सम्बोधन गर्ने रणनीति अख्तियारी गर्दै आइरहेको वाग्लेको भनाइ छ ।
चीनले ०७२ सालमा नेपाललाई करिब ८० करोड रुपैयाँ बराबरको मेडिकल सामग्री दिएको थियो । त्यही वर्ष ९७ करोडको मोबाइल फिल्ड अस्पताल र एक अर्ब ३१ करोड रुपैयाँको यूएनको शान्ति स्थापनार्थ प्रयोग गर्न एपीसी, टेन्ट र सञ्चारका सामग्री नेपाली सेनाले चीनबाट पायो ।
०७४ सालमा एपीसी, ‘चार बाई चार इन्धन’ ट्यांकर र ट्रकहरू सेनाले पायो । जसमा गाडी २०, रेडियो सेट ५१ र वाटर ट्यांकर ३ वटा थिए । त्यसको मूल्य करिब ३ अर्ब ८० करोड थियो । ती सामान सम्झौताको दुई वर्षपछि सन् २०१९ मा चीनबाट नेपाल आइपुगेका थिए।
यसैगरी, प्रधानसेनापति पूर्णचन्द्र थापाले गत वर्ष चीन भ्रमणका दौरान बेइजिङमा ह्युमन एसिस्टेन्ट र विपद् व्यवस्थापनका लागि भनेर गाडी, ईओडी (बम डिस्पोज) गर्ने मेसिन, इन्जिनियरको सामग्री, विपद् पर्दा आवश्यक मेडिकल सामग्रीको सहयोगसम्बन्धी प्रोटोकलमा हस्ताक्षर गरेका थिए । उक्त सम्झौताअनुसार सेनाले चीनबाट करिब २ अर्ब ४७ करोडको सहयोग पाएको छ ।
यस्तै, ०७६ सालमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको चीन भ्रमणका बेला नेपालले करिब २ अर्ब ४७ करोडको सैन्य सामग्री पाउने सम्झौतामा हस्ताक्षर गरेको छ।

प्रतिक्रिया