ad ad

छापा खबर


युवतीको मृत्यु भएपछि सातामै भत्काइए ५४५ छाउगोठ, धामीझाँक्रीले गरे हस्ताक्षर

युवतीको मृत्यु भएपछि सातामै भत्काइए ५४५ छाउगोठ, धामीझाँक्रीले गरे हस्ताक्षर

नेपालखबर
पुस १६, २०७६ बुधबार २:२८,

अछाममा छाउगोठ भत्काउने अभियानले तीव्रता पाएको छ। जिल्लाका १० स्थानीय तहका ९१ वडा र प्रत्येक टोलमा छाउगोठ भत्काउने अभियान अघि बढेको हो।

गत मंसिर १५ मा साँफेबगर–३ सिद्धेश्वरकी २१ वर्षीया पार्वती बुढा रावतको छाउ बार्न गोठमा बसेका बेला मृत्यु भएको थियो।

उक्त घटनापछि गृह मन्त्रालयको निर्देशनमा प्रहरीको नेतृत्वमा छाउगोठ भत्काउन थालिएको हो। भत्काउने अभियानको सुरुवात साँफेबगर नगरपालिकाले गरेपछि अन्य नौवटा स्थानीय तहले पनि चासो देखाएको खबर आजको कान्तिपुरमा छापिएको छ।

महान्यायाधिवक्ताको कार्यालय, प्रहरी हेडक्वार्टर र गृह मन्त्रालयले छाउगोठ नष्ट गर्नु, जनचेतनाका कार्यक्रम सँगसँगै गर्नु र अटेर गर्नेलाई कारबाही गर्नु भन्ने लिखित निर्देशन दिएको अछामका प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठले बताए।

स्थानीयस्तरमा पटकपटक छलफल गर्दा र कानुनका बारेमा जानकारी दिँदा पनि छाउगोठमा मृत्यु हुने क्रम नरोकिएपछि प्रहरी र प्रशासनले नेतृत्व लिनुपरेको उनले बताए ।

‘१० वटै स्थानीय तहका सरोकारवालासँग सर्वदलीय बैठक गर्दैछौं। कहिलेसम्म छाउगोठ हटाइसक्ने भन्नेबारे छलफल थालेका छौं,’ प्रमुख जिल्ला अधिकारी श्रेष्ठले भने, ‘अटेर गर्नेलाई कारबाही गर्ने र सेवा सुविधा रोक्न सक्ने अवस्था पनि आउने देखिन्छ।’

स्थानीयसँगको सहकार्यमा एक सातामा अछामका विभिन्न ठाउँमा हालसम्म ५ सय ४५ वटा छाउगोठ भत्काइएको प्रहरी प्रमुख डीएसपी दीपक भारतीले बताए। ‘मनमा बसेको कुरा हट्न समय लाग्ने देखिन्छ। तर स्थानीयको साथले मात्रै छाउगोठ भत्काउन सम्भव भएको हो,’ उनले भने ।

धामीझाँक्रीले गरे हस्ताक्षर
७० प्रतिशत जमिन नै देवीदेवताको नाममा भएको पञ्चदेवल नगरपालिका-८ बारलामा पनि ७० छाउगोठ भत्काइएको वडाध्यक्ष तारा खनालले बताए। ‘

पहिले ३/४ घरमा मात्रै छाउगोठ थिएनन्। ती परिवारलाई समाजले छाउ नबार्ने भन्दै बहिष्कार गरेका थिए,’ उनले भने, ‘गाउँमा ठूलो छलफल भयो। धामी र पुजारीसँग बहस भएको छ।’

बारला गाउँका ३० जना धामी र पुजारीले महिनावारी भएकी महिलालाई घरमा सुरक्षित रूपमा राख्ने र कानुन मान्ने भन्दै हस्ताक्षर गरेका छन्।

महिनावारी भएकी महिलालाई छाउगोठमा नराख्ने, राखे कानुनअनुसार कैद र जरिवानाको सजाय भोग्न तयार रहेको भन्दै उनीहरूले हस्ताक्षर गरेका हुन्।

‘धामी र पुजारीकै घरमा राति पनि प्रहरी बसे । उनीहरूलाई सम्झाए,’ वडाध्यक्ष खनालले भने, ‘बारलामा त यो धेरै प्रगति भएको हो। कानुन लाग्छ भनेपछि सबै डराएका छन्।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .