छापा खबर


इन्टरनेटमा यसरी फस्दैछन् बालबालिका

इन्टरनेटमा यसरी फस्दैछन् बालबालिका

नेपालखबर
पुस १३, २०७६ आइतबार ०:५०,

बालबालिका इन्टरनेटको असुरक्षित प्रयोगमा फस्दै गएको एक अध्ययनले देखाएको छ।

बालबालिकाको अधिकार बाल यौनहिंसाको क्षेत्रमा काम गरिरहेको अन्तर्राष्ट्रिय संस्था इम्प्याक्ट लक्जेमबर्गले ‘इन्टरनेट सेफ्टी एन्ड रिस्क अफ न्यु टेक्नोलोजिज टु चिल्ड्रेल इन नेपाल’ शीर्षकमा गरेको अध्ययनले यस्तो देखाएको हो।

हिमालका ४, पहाडका ६ र तराईका ५ जिल्लाका बालबालिका, विद्यालयका शिक्षक र अभिभावक गरी १२ हजार ९ सय ४४ जनामाझ गरिएको सर्वेक्षेणको निष्कर्षले बालबालिका इन्टरनेट सुरक्षा र सामाजिक सञ्जालको सचेत प्रयोगबारे जानकार नरहेको देखाएको छ। इक्याप्टको सर्वेक्षणले ७१.८० प्रतिशत बालबालिकासँग मोबाइल फोन र इन्टरनेटको पहुँच रहेको देखाएको छ।

शुक्रबार सार्वजनिक गरिएको सर्वेक्षणमा सरकारी र निजी स्कुलमा अध्ययनरत १८ वर्षमुनिका ५ हजार ११ बालबालिका र ३ हजार १ सय ५५ शिक्षक, ४ हजार ७ सय ७८ अभिभावक समेटिएका छन्। नेपाल दूरसञ्चार प्राधिकरणको ०७३ को तथ्यांकमा नेपालको जनसंख्याको ५२.७ प्रतिशतमा इन्टरनेटको पहुँच रहेको उल्लेख छ ।

इक्याप्टको सर्वेक्षणले ७१.८० प्रतिशत बालबालिकासँग मोबाइल फोन र इन्टरनेटको पहुँच रहेको देखाएको छ। इन्टरनेटको प्रयोग छात्राभन्दा छात्रले बढी गर्ने गरेका छन्। ७१.८ प्रतिशत छात्र र २८.२ प्रतिशत छात्राहरूले औसतमा दैनिक ६ घण्टा इन्टनरेट प्रयोग गर्ने गरेको सर्वेक्षणले देखाएको छ। सर्वेक्षणले २१.५० प्रतिशत बालबालिकाले दैनिक एक घण्टाभन्दा कम, २१ प्रतिशतले दैनिक एक घण्टाभन्दा धेरै र १५ प्रतिशतले दैनिक एकदेखि तीन घण्टासम्म मोबाइलमार्फत इन्टरनेट चलाउने गरेको भेटियो।

सर्वेक्षणमा ५४.५ प्रतिशत बालिका र ४५.५ प्रतिशत बालकले विद्यालयमा इन्टरनेट चलाउने गरेको बताएका छन्। त्यस्तै राति १० बजेपछि इन्टरनेट चलाउनेमा भने छात्राभन्दा छात्र अगाडि देखिन्छन्। सर्वेक्षणमा संलग्नमध्ये ४९.८ प्रतिशत छात्रा र ५०.२ प्रतिशत छात्रले राति १० बजेपछि पनि इन्टरनेट चलाउने गरेको बताएका छन्।

सर्वेक्षणका अनुसार विद्यार्थीले इन्टरनेटमा ‘यु-ट्युब’ धेरै हेर्ने गरेको बताएका छन्। अनलाइन गेम र सामाजिक सञ्जालमार्फत च्याट उनीहरूको दोस्रो र तेस्रो प्राथमिकता देखिएको छ। सर्वेक्षणले छात्राले भन्दा छात्रहरूले इन्टरनेट प्रयोग गर्दा एकान्त रोज्ने गरेको देखाएको छ। सहभागीमध्ये ५२.२ प्रतिशत छात्र र ४७.८ प्रतिशत छात्राले एक्लै भएको बेला मात्रै इन्टरनेट चलाउने गरेको बताएका छन्।

विद्यार्थीले विद्यालयमै इन्टरनेट चलाए पनि शिक्षकले त्यसको पर्याप्त निगरानी नगर्ने गरेको अध्ययनले देखाएको छ। सर्वेक्षणमा सहभागी ४५.९ प्रतिशत शिक्षकले मात्रै आफूले पढाएका बेला विद्यार्थीले इन्टरनेट चलाएका छन् कि छैनन् भनेर जाँच्ने गरेको बताएका छन् भने बाँकीले त्यस्तो जाँच नगर्ने गरेको जवाफ दिएका छन्। इन्टरनेटको माध्यमबाट अरूको सामाजिक प्रतिष्ठामा हानि पुग्ने, अपमान हुने वा साइबर अपराध हुनेबारे धेरैजसो बालबालिका जानकार देखिँदैनन्।

सर्वेक्षणमा सहभागी ४९.७ प्रतिशत छात्रले इन्टरनेटको माध्यमबाट साइबर अपराध हुने थाहा भएको बताएका छन् भने ४८.७ प्रतिशतले थाहा नभएको बताएका छन् । ५०.३ प्रतिशत छात्राले यसबारे थाहा भएको बताएका छन्, ५१.३ प्रतिशतले थाहा नभएको जवाफ दिएका छन्।

सर्वेक्षणमा सहभागीमध्ये आधाभन्दा धेरै अर्थात् ६०.९ प्रतिशत छात्रछात्राले आफ्नो फेसबुक अकाउन्ट रहेको बताएका छन्। उनीहरूमध्ये २०.५ प्रतिशतले एकभन्दा धेरै फेसबुक अकाउन्ट फरक नाम र फरक तस्बिर राखेर चलाएका छन्। सर्वेक्षणमा सहभागी ६.३ प्रतिशतले नक्कली नाम र नक्कली फोटो राखेर फेसबुक चलाउनले गरेको बताएका छन्। सर्वेक्षणले बालबालिका सामाजिक सञ्जालको पहुँचमा रहे पनि त्यसको विवेकपूर्ण र सुरक्षित प्रयोगबारे उतिसाह्रो जानकार छैनन् भन्ने तथ्य बाहिर ल्याएको छ।

फेसबुकपछि बालबालिकामाझ इन्स्टाग्राम र युट्युब लोकप्रिय देखिन्छ । सर्वेक्षणमा सहभागीमध्ये ३४.७ प्रतिशत बालबालिकाले आफैंले फेसबुक अकाउन्ट खोलेको बताएका छन्। त्यस्तै दुई तिहाइले अभिभावक र अन्य आफन्तको सहयोगमा फेसबुक अकाउन्ट खोलेको बताएका छन्। सर्वेक्षणले बालबालिकाले सामाजिक सञ्जालको सुरक्षित प्रयोग नगरेको तथ्यसमेत प्रकाश पारेको छ। फेसबुकको दुरुपयोग हुन नदिन यसको पासवर्ड गोप्य राख्नुपर्नेमा सर्वेक्षणका सहभागी ५२ प्रशितशत बालबालिकाले पासवर्ड आफ्ना अभिभावक, दाइ, दिदी वा भाइ, बहिनी, नातेदार र साथीभाइमाझ बाँडेको बताएका छन्। अनौठो त यो छ कि ९.३ प्रतिशत बालबालिकाले फेसबुकको पासवर्ड आफ्नो साथीसँग साटेको देखिन्छ।

फेसबुकको प्रयोग बालबालिका निम्ति सामाजिकीकरणमा सहयोगीभन्दा त्यसले जोखिम बढाइरहेकोतर्फ पनि सर्वेक्षणले संकेत गरेको छ। सर्वेक्षणमा सहभागीमध्ये १५.७ प्रतिशत बालबालिकाले आफूले फेसबुकलगायत सामाजिक सञ्जालको माध्यमबाट यौनजन्य गतिविधि समेटिएको फोटो र सन्देश पाएको बताएका छन्। जबकि इन्टरनेटको माध्यमबाट देखिने अश्लील गतिविधि, यौनजन्य फोटो, भिडियो र लेखलाई झन्डै ४९ प्रतिशतले अनदेखा गर्ने गरेको बताएका छन्।

त्यस्तै सर्वेक्षणमा सहभागीमध्ये ५६.६ प्रतिशत बालबालिकाले इन्टरनेटको माध्यमबाट हुने यौन शोषण र यौनजन्य कार्यविरुद्धको कानुनबारे थाहा नभएको बताएका छन्। सर्वेक्षणले अभिभावकहरू आफ्ना बालबालिकाले इन्टरनेटमा के हेरिरहेका छन् भन्नेबारे धेरै जानकार नदेखिएको समेत देखाएको छ। १८।२ प्रतिशत अभिभावकले मात्रै आफूले आफ्ना बालबालिकाले इन्टरनेटमा के हेर्छन् भन्नेबारे सधैं जाँच्ने गरेको बताएका छन्। जबकि १८ प्रतिशत ८ प्रतिशत अभिभवाकले भने त्यस्तो जाँच कहिल्यै नगर्ने बताएका छन्। यो खबर आजको कान्तिपुरमा जनकराज सापकोटाले लेखेका छन्।

सर्वेक्षणमा सहभागी अनुसन्धानकर्मी अधिवक्ता प्रवीन सुवेदीले नेपालका बालबालिका इन्टरनेटको पहुँचमा पुगे पनि त्यसको सुरक्षित प्रयोग नभइरहेको बताए। उनले सामाजिक सञ्जालको सुरक्षित प्रयोगबारे अभिभावक, शिक्षक र बालबालिका तीनै पक्ष अपुरो बुझाइमा रहेको बताए । उनले भने, ‘इन्टरनेटको पहुँचबाट हाम्रा बालबालिकाले फाइदा मात्रै लिइरहेका छैनन्, उनीहरू उत्तिकै जोखिममा पनि छन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad