ad ad

छापा खबर


चीनका तीन जना कुख्यात अपराधी नेपालमा, पक्राउ गरिदिन चीनले पठायो पत्र

चीनका तीन जना कुख्यात अपराधी नेपालमा, पक्राउ गरिदिन चीनले पठायो पत्र

नेपालखबर
पुस १०, २०७६ बिहिबार १:४८,

तीन जना कुख्यात अपराधी नेपालमा लुकेर बसेको भन्दै उनीहरूलाई पक्राउ गरिदिन चीनले नेपाल सरकारलाई पत्राचार गरेको छ।

रेडकर्नर नोटिसमा सूचीकृत अन्य तीन जनाको पनि खोजी गरिदिन चीनको विदेश मन्त्रालयले नेपालस्थित दूतावासमार्फत सरकारलाई पत्राचार गरेको खबर आजको कान्तिपुर दैनिकमा मातृका दाहालले लेखेका छन्।

‘ईडी ८७८९४६५’ नम्बरको राहदानीवाहक यु अइहाई, ‘ईजी ००९१७४५’ राहदानी भएका जहाङ जोङमोउ र ‘ईई ७८६२३१०’ राहदानीवाहक क्यु क्विङलाई पक्राउ गर्न इन्टरपोल चीन र त्यहाँको विदेश मन्त्रालयबाट पत्र आएको हो।

फरार रहेकामध्ये युको राहदानी सन् २०१८ सेप्टेम्बर १७ तारिख र जहाङको २०१९ अप्रिल १७ तारिखमा जारी भएको हो । चीन सरकारकै अनुरोधमा नेपालमा बसेका अन्य १ सय २२ चिनियाँलाई गत सोमबार प्रहरीले पक्राउ गरिसकेको छ।

चीनमा अपराध गरेर भागेका आफ्ना नागरिकको निगरानी गर्न चिनियाँ सुरक्षाकर्मीको विशेष टोली अहिले काठमाडौंमै छ।

चिनियाँ दूतावासले पठाएको पत्र परराष्ट्र, गृह मन्त्रालय हुँदै मंसिर तेस्रो साता प्रहरी प्रधान कार्यालय पठाइएको थियो । त्यसको जानकारी अध्यागमन विभागलाई पनि दिइएको छ।

अध्यागमन विभाग स्रोतले उनीहरू कहिले नेपाल आएको भन्ने विवरण दिन चाहेन । रेड नोटिसधारी विदेशी नेपालको अध्यागमन कानुन छलेर कसरी भित्रिए भन्नेमा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ।

काठमाडौंका विभिन्न स्थानबाट गत सोमबार पक्राउ गरिएका १ सय २२ चिनियाँहरूका साथबाट ७ सय ४७ वटा मोबाइल सेट र ३ सय ३१ वटा ल्यापटप नियन्त्रणमा लिइएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सार्वजनिक गरेको छ ।

ब्युरोद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा डीआईजी नीरज शाहीले ९८ वटा कम्प्युटरका सीपीयू, ९९ वटा मनिटर, ५२ वटा पेनड्राइभ, ३ सय २७ वटा सिमकार्ड र ४८ हजार ८ सय ५० रुपैयाँ बराबरका रिचार्जकार्ड बरामद भएको बताए । प्रहरीले १ सय २२ जनालाई पक्राउ गरे पनि ६७ जनाको मात्रै राहदानी फेला परेको छ।

पक्राउ परेमध्येका ३८ जना मात्रै राहदानीवाहक चिनियाँ रहेको पाइएको छ । पक्राउ परेका सबैविरुद्ध अभद्र व्यवहारको आरोपमा पाँच दिन थुनामा राख्न प्रहरीले अदालतबाट अनुमति लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .