छापा खबर


जाडोमा हृदयाघातले ज्यान जाला है! चिकित्सकले दिए यस्ताे सुझाव

जाडोमा हृदयाघातले ज्यान जाला है! चिकित्सकले दिए यस्ताे सुझाव

नेपालखबर
पुस ८, २०७६ मंगलबार ०:४३,

चिसोको समयमा तपाईंको रक्तचाप (ब्लडप्रेसर) बढेको छ? छ भने समयमै चिकित्सकसँग जाँच गर्नुहोला। बेवास्ता गर्नुभयो भने ज्यानै पनि जान सक्छ।

जाडोमा अन्य समयमा भन्दा हृदयाघात हुने सम्भावना ३० प्रतिशत बढी हुने भएकाले चिकित्सकले सतर्कता अपनाउन सुझाव दिएका हुन्।

चिसो भएपछि रगतको नली खुम्चिँदै जाने र रक्तचाप बढ्ने भएकाले विशेष सावधानी अपनाउन चिकित्सकले सुझाव दिएका हुन्। यो खबर आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन्।

चिकित्सकका अनुसार रक्तचाप जति बढ्यो मुटुका धमनी पनि बिग्रिँदै जान्छ। मुटुरोग विशेषज्ञ डा. प्रेमराज वैद्यले जाडो भएपछि चिल्लो र गुलियो बढी खाँदा सुगर र कोलेस्ट्रोल बढेर हृदयाघात हुने सम्भावना रहने बताए।

उनले भने, ‘जाडोमा अन्य समयभन्दा ३० प्रतिशत बढी हृदयाघात हुने सम्भावना रहन्छ। यस्तै, अन्य समयभन्दा २० प्रतिशत बढी पक्षघात रहने सम्भावना रहन्छ।’

चिकित्सकहरूका अनुसार जाडोको समयमा घाम कम हुने भएकाले भिटामिन डीको कमी भई अन्य समयभन्दा ५ प्रतिशत बढी हृदयाघात हुने सम्भावना रहन्छ।

वरिष्ठ मुटु रोग विशेषज्ञ डा. हरिहर खनालले मानिसको जीवनशैलीका कारण ‘सडेन कार्डिएक डेथ’ हुने गरेको बताए । उनले भने, ‘जीवनशैली, तनाव, अल्छीपना, मोटोपनाका कारण हृदयाघात हुने सम्भावना बढी हुन्छ त्यसैले जीवनशैली परिवर्तन गर्न जरुरी छ। मुटुको समस्या देखिए तुरुन्त अस्पतालमा जानुपर्छ ।’

नेपालमा केही वर्षयता युवाहरूको ‘सडेन कार्डिएक डेथ’ हुने क्रम बढेको मुटुरोग विशेषज्ञ बताउँछन्। यो अलिक बढी चिसोे समयमा हुने गर्छ।

कडा खालको हृदयाघात (मुटुको बृहत् क्षेत्रमा रक्तप्रवाह अवरोध), मुटुको चालमा गडबडी, मुटुको जन्मजात समस्या, मस्तिष्कको रक्तनलीमा रगतको थेग्ला जमेर मस्तिष्कघात हुँदा, मुटुको ठूलो धमनी फुट्दा, फोक्सोका ससाना नलीमा थेग्ला जम्दा, मुटुरोगीको मुटु फेल हुँदा आकस्मिक मृत्यु हुन सक्ने चिकित्सक बताउँछन् ।
चिसोमा मुटुको रक्त धमनी साँघुरिदा ब्लडप्रेसर बढ्ने डा. खनालले बताए।

चिकित्सकका अनुसार चिसोबाट जोगिनु नै यसबाट बच्ने उत्तम उपाय हो । विदेशमा गरिएका केही अध्ययनले गर्मीभन्दा जाडोमा समग्रमा हर्टअट्याकको घटना ५० प्रतिशतले बढ्ने देखाएको छ। यस्तै, चिसोको समयमा गुलियो र बढी चिल्लो खाँदा सुगर, कोलेस्ट्रोल भई त्यसले हर्टअट्याकसमेत हुन सक्छ।

केही दिनअघि अभिनेताद्वय केशव भट्टराई र दीपक क्षत्रीको हृदयाघातकै कारण ज्यान गएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad