छापा खबर


अवैध बाटो हुँदै अमेरिका छिर्नेको कथा : १६ महिना जेल, ४० लाख स्वाहा

अवैध बाटो हुँदै अमेरिका छिर्नेको कथा : १६ महिना जेल, ४० लाख स्वाहा

नेपालखबर
मंसिर २९, २०७६ आइतबार २:५३,

घरको आर्थिक संकट टार्न र केही कमाउन श्रमिकको हैसियतमा कतार उड्दा बैरिया–७, रौतहटका मोहम्मद आफताब आलमले भर्खरै १२ पास गरेका थिए ।

स्थानीय एजेन्टलाई डेढ लाख रुपैयाँ बुझाएपछि उनको राहदानीमा पाँचवर्षे भिसा टाँसिएको थियो । ०७० माघ २६ मा कतार उडेका उनी पाँच वर्षपछि ०७५ माघ २८ मा स्वदेश फर्किए तर कतारबाट होइन, अमेरिकाबाट।

यो खबर आजको कान्तिपुर दैनिकमा जनकराज सापकोटाले लेखेका छन्।

कतारमा मोहम्मदले एक फोन कम्पनीको सेल्स डिपार्टमेन्टमा काम पाएका थिए । पैसा ठीकै थियो, काम पनि उनका निम्ति उति गाह्रो थिएन । त्यहाँ रहँदा बस्दा उनले आफूजस्तै एक बंगलादेशी कामदारलाई चिनेका थिए । एकदिन फेसबुक चलाइरहेका बेला थाहा पाए, केही दिनअघिसम्म आफ्नै छेउमा बस्ने बंगाली साथी अमेरिका छिरेछ ।

खुबै चासो राखेर उनले बंगाली साथीलाई फेसबुक म्यासेन्जरबाटै सोधे, ‘तिमी कसरी पुग्यौ अमेरिका ?’ एक बंगाली एजेन्टमार्फत मेक्सिको हुँदै अमेरिका छिरेको सुनाएर उसले मोहम्मदको इच्छा बुझे जसरी भन्यो, ‘तिमी पनि आउने भए त्यही एजेन्टलाई भेट।’

कमाइको केही पैसा जोगाएका मोहम्मदलाई अमेरिका छिर्न पाए झनै धेरै कमाउन सकिन्थ्यो र जीवन सजिलो बन्थ्यो भन्ने लाग्यो । उनले मोहिब अली नामको बंगाली एजेन्टसँग सम्पर्क गरिहाले ।

एजेन्टले सुनायो, ‘४५ हजार रियाल (करिब १४ लाख नेपाली रुपैयाँ) लाग्छ ।’ अमेरिका नै पुगिन्छ भने त्यति पैसा किन नतिर्ने भनेर उनी किस्ता–किस्तामा पैसा बुझाउन तयार भए ।

एजेन्टले ब्राजिलको पर्यटक भिसा मिलाइदियो । ब्राजिलको साओ पाउलो पुगेपछि उनको अवैध यात्रा सुरु भयो । एजेन्टले भनेअनुसार उनी पेरु हुँदै इक्वेडर पुगे अनि कोलम्बिया छिरे । अमेरिका छिर्न हिँडेकाहरूलाई मानव तस्करले पानामा पुर्‍याउन डेरियन ग्याप भनिने जंगली बाटो पैदल हिँडाउँछन् ।

विषालु सर्प र सन् १९६४ देखि कोलम्बिया सरकारसँग लडिरहेका हतियारधारी गुरिल्ला समूहका कारण यो बाटोलाई धेरैले मृत्युमार्ग पनि भन्छन् । मोहम्मदले सुनाए, ‘डेरियन ग्यापमा हिँड्दा मेरो समूहमा पाकिस्तान, बंगलादेश, भारत र अफ्रिकालगायत विभिन्न देशका गरी झन्डै सय जना जति थिए ।’

क्युबा, सोमालिया, सिरिया, पाकिस्तान, बंगलादेश, नेपाललगायत अफ्रिका र एसियाका देशबाट लुकिछिपी अमेरिका छिर्न हिँडेकालाई मानव तस्करका एजेन्टहरूले यही बाटो हिँडाउने गरेका छन् । यो जंगल छिचोल्न चाहनेहरू प्रत्येक वर्ष सयौं जना सशस्त्र समूहबाट मारिन्छन् वा बेपत्ता बनाइन्छन् ।

पानामा छिरेपछि मोहम्मद केही दिन शरणार्थी शिविरमा बसे । त्यहाँबाट बस चढेर कोस्टारिका पुगे । आप्रवासीले सजिलै देश छोडुन् भनेर सरकारले दिने ‘कन्ट्री आउट पेपर’ बनाएर उनी कोस्टारिकाबाट एजेन्टकै सहयोगमा एक साता जंगलको बाटो हिँडेर निकारागुवा–होन्डुरस हुँदै ग्वाटेमाला पुगे ।

देशपिच्छेका स्थानीय एजेन्ट, अनेकन् नियम र कष्टकर यात्रा पार गर्दै ग्वाटेमाला पुगेपछि उनी आफूजस्तै ४० जनासँग २५ दिन एउटा घरमा बन्धक जस्तै बने ।

स्थिति ‘अनुकूल’ भएपछि एजेन्टकै सहयोगमा उनी मेक्सिको छिरे । उनले सुनाए, ‘ट्युबले बनेको खतरनाक डुंगामा क्षमताभन्दा धेरै मान्छेसँग अटेसमटेस गरेर ढलपल ढलपल गर्दै मेक्सिको छिरेका थियौं ।’

अमेरिका छिर्न हिँडेका सयौं मान्छेको हूलमा उनी केही दिन मेक्सिको–अमेरिका सिमानामा रहेको तिज्वाना सहरमा बसे । एक दिन एजेन्टले सिकाएअनुसार सरासर मूल बाटो हुँदै अमेरिकी भूमि टेके।

कागजातबिना सीमा पार गर्न लागेको भन्दै उनलाई अमेरिकी सीमा सुरक्षा अधिकारीले तत्काल पक्राउ गरे । खासमा उनले खोजेकै यही थियो किनकि यसरी पक्राउ परेपछि अध्यागमनको नियन्त्रणमा पुगिन्थ्यो अनि बल्ल सुरु हुन्थ्यो, आप्रवासी बन्ने कानुनी प्रक्रिया । अनेकन् कागजी प्रक्रिया पूरा गर्दै उनी १६ महिनासम्म अमेरिकी अध्यागमनको थुनामा बसे।

शरणार्थीको मान्यता पाइने आसमा उनी लामो कानुनी चक्करमा प्रवेश गरे । एउटा वकिलले उनीसँग तीन हजार डलर अर्थात् तीन लाखभन्दा धेरै नेपाली रुपैयाँ असुल्यो ।

उसबाट भनेजस्तो काम नभएपछि उनले अर्को वकिल गुहारे । त्यसले त एउटा सानो कामकै ७ सय ५० डलर असुल्यो । अध्यागमनको थुनामा बसेर कानुनी लडाइँ लड्दालड्दै उनले करिब १० लाख रुपैयाँ गुमाए । तर निष्कर्ष उनले सोचेअनुसार भएन ।

अन्ततःउनी देश निकाला (डिपोर्ट) मा परे । कतारबाट हिँडेको १९ महिनापछि काठमाडौं उत्रिँदा उनीसँग विभिन्न चरणमा एजेन्टलाई बुझाएको ३० लाख रुपैयाँ र कानुनी प्रक्रियामा खर्च भएको अर्को १० लाख रुपैयाँको ऋणको भारी, हतास मन र अँध्यारो भविष्य मात्रै थियो।

डिपोर्टपछि उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा त उत्रिए, तर कहाँ जाने, कसलाई भेट्ने, कोसँग गुहार माग्ने ? उनीसँग कुनै विकल्प थिएन । उनको हालत देखेर विमानस्थलकै प्रहरीले उनलाई सय रुपैयाँ दिए । त्यही पैसाले उनी तीनकुनेतिर सोझिए ।

वर्षौं पुरानो सम्झनाको भरमा राति झन्डै १० बजेतिर उनी एक जना साथीको भाइको कोठा ढकढक्याउन पुगे । कतार पुगेको दाइ अचानक कोठामा आइपुगेको देखेर ती भाइ छक्कै परे । मोहम्मदले भने ओत त लाग्न पाइयो भनेर सन्तोष माने ।

भाइकै मोबाइलबाट उनले रौतहतमा बुबालाई फोन गरेर आफू नेपाल फर्केको बताए ।

उनलाई हारेको अनुहार लिएर घर फर्किन पनि मन लागेन । सुनाए, ‘त्यतिबेला म डिप्रेसनमै गएजस्तो भएको थिएँ । मन थीर थिएन । दिमागमा ऋण मात्रै घुमिराख्थ्यो ।’ कतै पनि मन नअडिएपछि मोहम्मद कामको खोजीमा मुम्बई गए । एउटा होटलमा सात महिना काम गरे अनि बल्ल रौतहट फर्किए ।

अमेरिकाबाट डिपोर्ट भएको झन्डै एक वर्ष पुग्न लागिसक्यो । तर पनि अवैध यात्राको घाउ उनको मनमा चस्किराख्छ किनकि त्यतिबेला एजेन्टलाई बुझाउन लिएको ऋण अझै तिरिसकिएको छैन ।

नेपालबाट ल्याटिन अमेरिकी र अफ्रिकी देश हुँदै मेक्सिकोबाट अवैध रूपमा अमेरिका छिराइदिने गिरोहको अन्तर्राष्ट्रिय सञ्जालसँग नेपाली एजेन्टहरूको सम्पर्क बढ्दै जाँदा दुर्गम गाउँमा नेपालीको सर्वस्व गुम्ने मात्र हैन, मुलुकको बदनाम हुने जोखिम पनि बढ्दै गएको छ ।

संगठित मानव तस्कर गिरोहका साथ लागेर अवैध रूपमा अमेरिका छिरेर बितेका दुई आर्थिक वर्ष (०७५–७६ र ०७६–७७) मा ९२ नेपाली डिपोर्ट भएका छन् ।

सबै जना महिनौंसम्म अध्यागमनको नियन्त्रणमा बसेर शरणार्थीको आवेदन अस्वीकार भएपछि डिपोर्ट भएका हुन् । तीमध्ये ८४ जनाले प्रहरीलाई दिएको प्रारम्भिक बयानलाई आधार मान्दा उनीहरूले २१ करोड ४७ लाख रुपैयाँ गुमाएको देखिन्छ ।

सात जनाले चाहिँ आफूले गुमाएको रकमबारे प्रहरीलाई बताएका छैनन् । प्रहरीका अनुसार एजेन्ट नै आफन्त परेको घटनामा पीडित कानुनी प्रक्रियाबाहिरबाटै रकम उठाउने प्रयत्नमा लाग्ने गर्छन् र प्रहरीलाई फसेको रकमबारे बताउँदैनन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad