छापा खबर


११ वर्षे बालकको सुसाइड नोटः मलाई कसैले माया गरेन !

११ वर्षे बालकको सुसाइड नोटः मलाई कसैले माया गरेन !

नेपालखबर
असार १०, २०७६ मंगलबार ०:५२,

११ वर्षीय समीर लुङवा ललितपुरको वाग्मती गाउँपालिका–२ माल्टास्थित कालीदेवी माविमा कक्षा ५ मा पढ्थे।

शनिबार राति बुबाआमा घरमा नभएको मौका छोपेर उनले आफैँलाई सिध्याए।

अभिभावकहरु राती साढे ९ बजेतिर घर फर्किंदा समीर दलिनमा पासो लगाएर झुण्डिएको अवस्थामा फेला परे।

प्रहरीले उनको सुसाइड नोट फेला पा¥यो। जसमा लेखिएको थियो, ‘म धेरै दुःखमा छु, मलाई कसैले माया गर्दैन।’ यो खबर आजको कान्तिपुर दैनिकमा जनकराज सापकोटाले लेखेका छन्।

महानगरीय प्रहरी वृत्त चापागाउँका डीएसपी राजकुमार छिउजुका अनुसार सुसाइड नोटमा केही कारण लेखिएको देखिन्छ।

नोटमा बालक समीरले घरमा दाइ–भाउजूले हेला गर्ने र स्कुलमा सर–मिसहरूले आफ्नो कुरा नबुझ्ने उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘कक्षामा केटाहरूलाई पिट्ने, केटीहरूलाई नपिट्ने र घरमा मलाई दाजु–भाउजूले हेला गर्ने ।’ उनले स्कुलका केही शिक्षकहरूको नाम तोकेर आफू बिरामी भएको कुरा पनि नपत्याएको उल्लेख गरेका छन् ।

शनिबार राति घटना भए पनि प्रहरी आइतबार दिउँसो मात्रै घटनास्थल पुगेको थियो । महानगरीय प्रहरी वृत्त चापागाउँका इन्स्पेक्टर दिवस बस्नेतले घटनास्थलको मुचुल्का उठाएका थिए । उनले बालकको शव पोस्टमार्टमका लागि पाटन अस्पताल पुर्‍याइएको बताए । उनले भने, ‘घरमा कोही नभएको मौका छोपेर आत्महत्या सुसाइड गरेको देखियो ।’

कलिलै उमेरका बालबालिकाको आत्महत्याको घटना नेपाली समाजका निम्ति नौलो कुरा रहेन । २६ जेठमा धादिङको ज्वालामुखी गाउँपालिकाका १३ वर्षीय सुनील परियारले नजिकैको जंगलमा पासो लगाएर आत्महत्या गरेका थिए ।

७ कक्षाका विद्यार्थी सुनीलको साथबाट फेला परेको सुसाइड नोटमा पनि बाबुआमाले माया नगरेकाले आत्महत्या गर्न लागेको उल्लेख छ । सुनीलको साथबाट फेला परेको सुसाइड नोटमा भाइलाई सम्बोधन गर्दै लेखिएको छ, ‘भाइ, तिमीलाई बाबुआमाले माया गर्नुहुन्छ, मलाई माया गर्नुहुन्न र पिट्नुहुन्छ । त्यसैले तिमी बाबुआमासँगै बस्नु, म मर्छु ।’

आत्महत्याका यी दुई घटनामा देखिने समानता भनेको बालकहरूले कमी महसुस गरेको माया र अभिभावकले निर्वाह गर्नुपर्ने दायित्वमा चुक हो । मनोविद् गंगा पाठक कलिलो उमेरका बालबालिकाको आत्महत्यासम्बन्धी खबरले हाम्रा अभिभावकले बालबालिकालाई समय सापेक्षित रूपमा हुर्काउन सकिरहेका छैनन् र हाम्रो शिक्षा प्रणालीमा पनि केही कमजोरी छ भन्ने संकेत गर्छ ।

उनले भनिन, ‘बच्चासँग अन्तरक्रियाको कमी छ । विद्यालयमा पनि बाल मनोविज्ञान बुझ्नेभन्दा उनीहरूलाई किताब घोकाउने र दबाब दिएर पढ्न मात्रै लगाउने गरिन्छ ।’

समीर अध्ययनरत कालीदेवी माविका प्रधानाध्यापक कुमार चौलाईले विद्यार्थीको आत्महत्याको घटनाले तनाव गराएको बताए ।

विद्यार्थीले सुसाइड नोटमा विद्यालयका केही शिक्षकको नाम लेखेका कारण आफूहरू गम्भीर भएको बताउँदै उनले भने, ‘उसले किन आत्महत्या गर्‍यो भनेर अचम्ममा परेका छौं । कोही शिक्षकले उसलाई दण्डित गरेको रेकर्ड पनि छैन । शिक्षकहरूको बोलीले पो उसलाई भावनात्मक चोट पुग्यो कि ?’ उनले आफ्नो विद्यालयले तीन वर्षयता दण्डरहित शिक्षण विधि अपनाएको बताए ।

स्कुलमा सहायक प्रधानाध्यापक, एक शिक्षिका र प्रधानाध्यापक चौलाई सम्मिलित मनोसामाजिक परामर्श विभाग पनि भएको उनले जानकारी दिए । ‘आत्महत्या गर्ने विद्यार्थीलाई कहिल्यै विभागमा ल्याउनुपर्ने गरी परामर्श दिनुपर्ने अवस्था भएको पनि देखिन्न,’ उनले भने ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad