ad ad

छापा खबर


बिदामा आएर साउदी नफर्के ३ वर्ष प्रतिबन्ध

बिदामा आएर साउदी नफर्के ३ वर्ष प्रतिबन्ध

नेपालखबर
मंसिर २७, २०७६ शुक्रबार ०:२३,

साउदी अरबले बिदामा आएका कामदार भिसाको म्यादभित्रै नफर्के तीन वर्ष प्रतिबन्ध लगाउने निर्णय गरेको छ। साउदीको राहदानी विभाग (जवाजत) ले भिसा रद्द नगरी साउदी छाडेपछि पुनः सोही रोजगारदातासँग काम गर्न नआए तीन वर्षसम्म फर्कन नदिने निर्णय गरेको हो।

बिदामा गएकाहरू समयमै नफर्कर्दां रोजगारदातालाई कामदार अभाव भएपछि साउदीले यस्तो नीति ल्याएको हो। साउदी रोजगारदातालाई नयाँ कामदार भर्ती गर्न कम्तीमा दुई महिना लाग्ने गर्छ। साउदी सरकारले गैरकानुनी हैसियतमा कामदार भर्ती गर्ने रोजगारदातालाई भने एक लाख रियालसम्म जरिवाना लगाउने नीति ल्याएको छ।

पछिल्लो समय भिसाको म्यादभित्र बिदामा आएका कामदार पुनः तोकिएको अवधिमा साउदी फर्कने गरेका छैनन्। जसमा नेपालीसमेत छन्। कामदारहरू कामका आधारमा ज्याला नपाउने र बचत नहुने भएपछि पुरानो रोजगारदातासँग काम गर्न इच्छुक नदेखिएका हुन्। ‘म भिसा रद्द नगरी आएको थिएँ। राम्रो तलब मिल्ने काम पाए अन्तै जाने योजना बनाएको छु,’ साउदीमा तीन वर्ष काम गरी फर्केका रूपन्देहीका उज्ज्वल मगरले भने, ‘अहिले पनि भिसाको अवधि बाँकी छ। तर जाने योजना बनाइसकेको छैन।’

उनका अनुसार साउदीमा पहिलाजस्तो भागेर अन्य रोजगारदातासँग काम गर्नसमेत कठिन छ। यो खबर आजको कान्तिपुरमा होम कार्कीले लेखेका छन्।

‘पहिला भागेका कामदारलाई रोजगारदाताले पनि सहजै लिन्थ्यो। पैसा पनि कमाइ हुन्थ्यो। अहिले त भागेका कामदारलाई ५० हजार रियाल जरिवाना र ६ महिना जेल बस्नुपर्ने नियम छ,’ झापाका उमेश रिजालले भने, ‘भिसाको म्याद छ। फेरि जाउँ कि नजाउँ भएको छ।’

कतिपय कम्पनीले कामदारसँग लेबी उठाउन थालेपछि पनि कामदारहरू फर्कन अनिच्छुक देखिएका हुन्। साउदी सरकारले सन् २०१७ देखि नै लागू हुने गरी प्रतिकामदारको लेबी कम्पनीसँग उठाउन थालेको छ। जसमा २०१८ मा ५० प्रतिशतभन्दा कम साउदीलाई रोजगार दिने कम्पनीले प्रतिकामदार महिनामा ४ सय रियाल, २०१९ देखि प्रतिकामदार ६ सय रियाल र २०२० देखि ८ सय रियाल लेबी तिर्नुपर्ने नीति ल्याएको थियो। यसको मार कामदारमाथि परेको छ। यो नीति ल्याएपछि धेरै कामदारले साउदी छाडेका छन्।

वैदेशिक रोजगार विभागका अनुसार गत वर्ष बिदामा आएका ४४ हजार ४ सय ९३ नेपाली फर्केर साउदी गएका थिए। जसमा चार सय ४६ महिला थिए। गत वर्ष पुरानासहित १ लाख १७ हजार ९ सय ४ जना साउदी गएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .