ad ad

छापा खबर


आफूभन्दा १८ वर्ष जेठो भन्दै जब केटीले अस्वीकार गरिन्...

आफूभन्दा १८ वर्ष जेठो भन्दै जब केटीले अस्वीकार गरिन्...

नेपालखबर
मंसिर २६, २०७६ बिहिबार ३:१६,

करिब १ महिनाअघिको कुरा हो। अछामका २१ बर्से पुरन तिमल्सिना साइबर अपराधमा समातिए। भारतमा बस्ने उनले आफ्नै गाउँकी एक युवतीको ‘फेक’ फेसबुक अकाउन्ट खोले। युवती र उनका बुवाको फोटोमा अश्लील फोटो जोडेर म्यासेन्जरमा युवतीका आफन्तलाई पठाउन थाले।

काठमाडौंमा पढ्दै गरेकी युवतीलाई उनीमाथि शंका लागेपछि प्रहरीमा उजुरी गरिन् र तिमल्सिना समातिए।

सामाजिक सञ्जाल दुरुपयोग गर्दा समातिनेमा काठमाडौंमै बस्दै आएका ३८ बर्से शिवहरि थापा पनि पर्छन्। फेसबुकमार्फत् उनको २० वर्षीया युवतीसँग चिनजान भयो। सम्बन्ध अघि बढ्दै गएपछि उनले युवतीसँग बिहेको प्रस्ताव राखे र भेट्न बोलाए।

युवती संखुवासभादेखि काठमाडौं आइन्। बौद्धको होटलमा भेट भयो। सँगै बसेका केही तस्बिर मोबाइलमा खिचे। आफूभन्दा थापा १८ वर्ष जेठा भएको थाहा पाएपछि युवतीले सम्बन्ध अघि बढाउन चाहिनन्। थापा त्यसको प्रतिशोध लिन चाहन्थे। उनले युवतीको फेक फेसबुक आईडी बनाएर युवती सँगै बसेका तस्बिर पठाउन थाले। यस्तो गरेकामा उनी अहिले कारागारमा छन्।

कपिलवस्तुका २६ बर्से अकबर अलि मियाँले अपत्यारिलो साइबर अपराध गरे। सामान्य मजदुरी गर्ने उनले आमाको नामबाट सिमकार्ड किनेर एक महिलालाई राति १२ बजे फोन गरे। महिलाले चिन्न अस्विकार गरेपछि उक्त महिलाको टाउको अश्लील फोटोमा जोडेर म्यासेजमा पठाउँदा उनी समातिए।

सामाजिक सञ्जाल दुरुपयोग गरेर समातिनेमा बर्दिया घर भएका १७ वर्षीय भैरव विष्ट पनि हुन्। छानबिनमा विष्टसँग ५ वटा फेसबुक आईडी भएको पाइयो। उनले गृहजिल्लाकी १४ वर्षीया किशोरीको नाममा फेसबुक आईडी बनाएका थिए। त्यसपछि ती किशोरीको टाउको पोर्न फोटोमा जोडेर फेसबुक प्रोफाइलमा पोस्ट गरेका थिए। उनी बालिग भएकाले उनलाई सुधारगृहमा राखिएको छ।

महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीका अनुसार सम्बन्ध राम्रो रहेसम्म शारीरिक सम्बन्ध बनाउने र बिग्रिएपछि त्यही सम्बन्ध सामाजिक सञ्जालबाट सार्वजनिक गरी चरित्र हत्या गर्ने प्रवृत्ति बढेको छ। यस्ता अपराधमा प्रायः किशोरकिशोरी संलग्न भएको पाइन्छ। तर साइबर अपराधमा सबै उमेर समूहका व्यक्तिले गरेको तथ्यले औंल्याउँछ। डीएसपी बोगटी भन्छन्, ‘सम्बन्ध बिग्रिएपछि प्रतिशोध लिन पीडकले वैवाहिक सम्बन्धसमेत टुटाइदिने गरेका छन्।’

काठमाडौं प्रहरी कार्यालय टेकुमा ०७५र७६ मा १ सय ५२ साइबर क्राइमका उजुरी दर्ता छन्। ०७६ साउनमा १६ र भदौमा १७ उजुरी दर्ता भए। यीमध्ये अधिकांश सामाजिक सञ्जालसम्बन्धी अपराध छन्। यो खबर आजको अन्नपूर्ण पोस्टमा सपना महर्जनले लेखेकी हुन्।

प्रहरीमा दर्ता उजुरीका आधारमा सामाजिक सञ्जालको दुरुपयोग गरि भएका अपराधमा महिला र युवतीको चरित्र हत्या बढी छन्। अपराध गर्नेमा महिलासमेत छन्। तर महिलाले यस्तो अपराध प्रायः महिलामाथि नै गरेको देखिन्छ

भदौमा यस्तै साइबर अपराध भयो। ओखलढुंगाकी १४ वर्षीया निशा राई आफ्ना दिदीहरूसँग काठमाडौंमा बस्दै आएकी थिइन्। विदेशमा भएको केटा साथीले अन्य युवतीसँग कुरा गर्ने थाहा पाएपछि उनले उक्त युवतीको फोटो फेसबुकबाट तानिन्। फोटोसँगै उनले ती युवती यौनकर्मी भएको र रातको ५ सय मात्र लिने भन्दै फेसबुकमा विज्ञापन हालिदिइन्। यसको उजुरी परेपछि उनलाई प्रहरीले समातेर सुधारगृह पठाएको छ।

डीएसपी बोगटीका अनुसार सामाजिक सञ्जाल प्रयोग गरी पैसामा बार्गेनिङसमेत हुँदै आएको छ। महिलाले महिलाकै चरित्र हत्या गरे पनि पछिल्ला ९ महिनामा सामाजिक सञ्जाल प्रयोग गरेर कुनै पुरुषको चरित्र हत्या भएको उजुरी परेको छैन। साइबर अपराधमा धेरैजसो पीडक पुरुष नै देखिन्छन् भने महिला र किशोरी पीडित छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .