ad ad

छापा खबर


जब २२ महिने बालक स्कुल बसमुनि छिरेर खेल्न थाले...

जब २२ महिने बालक स्कुल बसमुनि छिरेर खेल्न थाले...

नेपालखबर
मंसिर २६, २०७६ बिहिबार २:५४,

रोकिएको सवारीसाधन फुत्तै कुदाउने गर्नुभएको छ ? अहँ, त्यसो नगर्नुहोस्। त्यसको मुनि वा आडमा मान्छे, पशु–पन्छी जे पनि हुन सक्छन्। किचिएपछि चुकचुकाएर सल्टिँदैन।

मोरङ बेलबारी–५ रामपुरमा यस्तै भयो। रोकेको स्कुल बसमुनि बालक खेल्न छिरेको चालकलाई थाहै भएन। जब बस अघि बढ्यो, किचिएपछि मात्र उनले देखे। अबोध शिशुको त्यहीं निधन भयो।

शिवकुमारी साह बुधबार बिहान ९ बजे स्कुल पठाउन ५ वर्षीय छोरा सोनुलाई तयार पार्दै थिइन्। एलकेजीमा अध्ययनरत उनलाई खाना खुवाएर कपडा लगाइदिँदै गर्दा सडकमै आँगन जोडिएको घरअगाडि स्कुल बस आइपुग्यो।

हतारहतार जेठो छोरा सोनुलाई लिएर उनी बसतिर अघि बढिन्। आँगनमा खेल्दै थिए कान्छो छोरा २२ महिनाका यसराज। उनको ध्यान जेठालाई बस चढाउनमा केन्द्रित भयो। तर खेल्न छाडेर आमा पछ्याउँदै आएका थिए यसराज। तर, ढोकातिर नगईकन बसपछाडि पुगे।

लगभग पाँच मिनेटजति रोकिएको बसमुनि छिरेर खेल्न थाले। जेठो छोरालाई बस चढाउनमै व्यस्त शिवकुमारीले यो कुरा ख्यालै गरिनन्। बसका चालक, सहचालक र अन्य विद्यार्थीले पनि उनी बसमुनि छिरेको देख्दै देखेनन्।

सोनु चढेर सिटमा बसिसकेपछि कसेनी मोडल इङ्लिस बोर्डिङ स्कुलको को१ख ३०४६ नम्बरको बस अगाडि बढ्यो। लगत्तै केही पड्किएजस्तो ठूलो आवाज आयो। हेर्दा बसले किचेर यसराज छट्पटाइरहेका थिए। निमेषभरमै उनको प्राणपखेरु उड्यो। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा विराटनरबाट किशोर बुढाथोकीले लेखेका छन्।

आँगनमा खेलिरहेको छोरालाई बसले किचेर यस्तो बनाएको दृश्य देखेपछि शिवकुमारी बेहोस भएर ढलिन्। बुवा प्रमोद साह भावविह्वल बने। वडाध्यक्ष विश्वबन्धु बस्नेतले साँझ मात्रै शिवकुमारीको होस खुलेको बताए।

उनका अनुसार होसमा आएपछि उनले छोराले पछ्याउँदै आएर बसमुनि छिरेको आफूले नदेखेको बताएकी छन्।

घटनापछि बस रोकेर ओर्लिएका चालक तथा बसभित्र रहेका विद्यार्थी र वरपरबाट भेला भएका स्थानीय बासिन्दा पनि यो दृश्य देखेर आत्तिए। ‘विद्यार्थी चढाउन रोकेको स्कुल बसले अगाडि बढ्ने क्रममा नाबालकलाई किचेको दृश्य निकै दर्दनाक थियो,’ बस्नेतले भने।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिउजूका अनुसार पोस्टमार्टम गरेर शव साँझ परिवारलाई जिम्मा लगाइएको छ। चालक ४५ वर्षीय डम्बरबहादुर खड्कालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालिएको उनले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .