ad ad

छापा खबर


बालुवाटारको जग्गा किन्नेविरुद्ध पनि मुद्दा चलाइने

बालुवाटारको जग्गा किन्नेविरुद्ध पनि मुद्दा चलाइने

नेपालखबर
मंसिर २५, २०७६ बुधबार ४:१३,

बालुवाटारको दुई सय १४ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा बनाउने योजनाकारहरू मात्र होइन, जग्गा किन्नेहरूविरुद्ध पनि मुद्दा चल्ने भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सरकारी जग्गा किनबेच गर्ने दुबै पक्षलाई मुद्दा लगाउने निष्कर्ष निकालेको खबर आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले लेखेका छन्।

‘जग्गाधनीलाई पनि मुद्दा चल्छ,’ अनुसन्धान टिममा रहेका अख्तियारका एक अधिकारी भन्छन्, ‘तर, कुन तह र कुन हदसम्म कारवाही हुने भन्ने निर्क्योल हुन बाँकी छ ।’ राणा परिवार र उनीहरूसँग जग्गा किन्ने दुई तहसम्मलाई मुद्दा चल्ने सम्भावना रहेको उनले बताए ।

प्रधानमन्त्रीनिवाससँगै जोडिएको ललिता निवासको जग्गा हाल सयभन्दा धेरै व्यक्तिको नाममा छ । अख्तियारले ती सबै जग्गाधनीसँग बयान सकेर मुद्दा चलाउन प्रक्रिया अघि बढाइसकेको छ ।

मुख्य योजनाकार शोभाकान्त ढकाल र रामप्रसाद सुवेदीले नै विभिन्न व्यक्तिलाई बिक्री गरेका हुन् । भाटभटेनी सुपरमार्केटले सोही जग्गामा गोदाम बनाएको छ।

यो जग्गामा नेकपाका महासचिव विष्णु पौडेलको छोराको नाममा समेत घडेरी छ । धेरैजसो जग्गा बैंकमा धितो राखेर करिब दुई अर्ब कर्जा निकालिएको छ । जसकारण यो मुद्दामा बैंकहरूको लगानी संकटमा पर्ने देखिएको छ।

प्रहरीको सिआइबीले पनि अनुसन्धानलाई अन्तिम चरणमा पुर्‍याएको छ । अख्तियारले मुद्दा दायर गरिसकेपछि कागजपत्र किर्ते देखिएमा मुद्दा दायर गर्ने सिआइबीको तयारी छ । सो प्रकरणमा सरकारी जग्गा कसरी व्यक्तिको नाममा गयो भनेर थप छानबिन गर्ने जिम्मेवारी सरकारले सिआइबीलाई दिएको थियो।

‘केही ल्याब रिपोर्ट आउन बाँकी छ, एक–दुईजनासँग थप बुझ्नुपर्नेछ,’ ब्युरोका निर्देशक डिआइजी नीरज शाही भन्छन्, ‘अब छिटै प्रतिवेदन बुझाउँछौँ ।’

नक्कली मोही खडा गरी सरकारी जग्गा कब्जा गरिएको आशंकामा सिआइबीले मोही भनिएका व्यक्तिको औँठाछाप परीक्षण गरिरहेको छ । त्यससम्बन्धी परीक्षणका लागि प्रयोगशाला पठाइएको र रिपोर्ट प्रतीक्षा भइरहेको सिआइबीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .