पार्टीमा कार्यकारी अधिकार प्राप्त भएपछि नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाललाई चीन भ्रमणको साइत जुरेको थियो। तर चीन भ्रमणको मिति नजिकिँदै जाँदा पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली उपचारका निम्ति अस्पताल भर्ना हुनुपर्ने अवस्था आएपछि अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीको स्वास्थ्यलाई कारण बनाएर आफ्नो चीन भ्रमण स्थगन गरेको जनाएका थिए।
अध्यक्ष दाहालले प्रधानमन्त्री तथा नेकपा अर्का अध्यक्ष ओलीको स्वास्थ्यलाई कारण चीन भ्रमण गरेको स्थगन गरेको घटनाले नेकपाभित्र अध्यक्ष दाहालप्रति सद्भाव बढेको छ।
तर नेकपा अध्यक्ष दाहालले आफ्नो चीन भ्रमण प्रधानमन्त्रीको स्वास्थ्यका कारणले नभएर भित्री तथा बाह्य कारणले स्थगन गरेको नेकपा स्रोत बताउँछ।
प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य सामान्य अवस्थामा आएपछि उनी अस्पतालबाट बिदा भएर घर फर्किएको पनि चार दिन बितिसकेको छ। यदि प्रधानमन्त्री ओलीको स्वास्थ्यका कारण अध्यक्ष दाहालले चीन भ्रमण स्थगन गरेका थिए भने अब चीन भ्रमण कहिले भन्ने जिज्ञासा राजनीतिक क्षेत्रले प्रकट गर्न थालेको छ।
प्रधानमन्त्री ओलीको स्वास्थ्यका कारणले चीन भ्रमण रोकिएको हो भने अब पुनः प्रक्रिया अघि बढाउनुपर्ने हो। तर अध्यक्ष दाहालले प्रधानमन्त्रीको स्वास्थ्यका कारण होइन, चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेट हुन नसक्ने भएपछि चीन भ्रमण स्थगन गरेको नेकपाका नेताहरूको दाबी छ भनेर आज सोमबार प्रकाशित साँघु साप्ताहिकले समाचार छापेको छ।
नेपाल, चीन र भारतको राजनीतिप्रति ठाडो कान लगाउने कूटनीतिज्ञहरूचाहिँ भारतले कान फुकेपछि प्रचण्डले चीन भ्रमण नगरेका हुन्, भन्छन्।
अध्यक्ष दाहालले कार्यकारी अधिकार प्राप्त गरेपछि गर्न लागेको चीन भ्रमणमा आफू निकट आधा दर्जन नेतालाई भ्रमण टोलीमा समावेश गर्ने योजना बनाएका थिए। तर चिनियाँ कम्युनिस्ट पार्टीका तर्फबाट ६० जनाको नेकपा अध्यक्ष प्रचण्ड नेतृत्वको टोलीलाई स्वागत गर्ने जनाइएको थियो। तर अध्यक्ष दाहाललाई चिनियाँ राष्ट्रपति सीसँग भेट वार्ता भने तय भएको थिएन।
यही कारण प्रचण्डले चीनलाई घुर्की लगाएर चीन भ्रमण स्थगन गरेको स्रोतको दाबी छ। चीन भ्रमण गर्दा चीनका राष्ट्रपति सीसँग भेटवार्ता गर्न नपाउँदा आफ्नो व्यक्तित्वमा आँच पुग्ने भएपछि नै घुर्क्याएर नेकपा अध्यक्ष प्रचण्डले तय भएको चीन भ्रमण स्थगन गरेका हुन्।

प्रतिक्रिया