छापा खबर


फोटो र भिडियोमा लाइक र कमेन्ट नआउँदा मनोविद्सँग परामर्श!

फोटो र भिडियोमा लाइक र कमेन्ट नआउँदा मनोविद्सँग परामर्श!

नेपालखबर
मंसिर २२, २०७६ आइतबार १:३३,

केही समय अघि एक शिक्षित वयस्क मनोविद् मधुविलाश खनालकहाँ पुगे।

उनले सामान्य भन्दै राखेको समस्याको सार थियो, ‘मलाई फेसबुकमा फोटो हाल्न मन लाग्छ। फोटो खिच्छु, सम्पादन गर्छु, राम्रो क्याप्सन लेखेर पोष्ट गर्छु। तर सोचेजस्तो लाइक, कमेन्ट आउँदैन। मजस्तै साथीहरुको चाहिँ टन्नै आउँछ। त्यस्तो बेला मलाई तनाव र छटपटी हुन्छ। किन होला?’

सामाजिक सञ्जालका कारण मानसिक उल्झनमा फसेकाहरुलाई खनालले रोजै परामर्श दिन्छन्। तर ठ्याक्कै त्यस्तो पीडा कसैले व्यक्त गरेका थिएनन्।

खनालले उनको फेसबुक हेरे, नयाँ नयाँ पहिरनमा चाखलाग्दा कुरा लेखेर फोटो हाल्दा रहेछन्। निष्कर्ष निकाले, आम फेसबुक प्रयोगकर्ताझैँ उनलाई पनि लोकप्रिय हुने लत बसिसकेको रहेछ। यो खबर आजको नेपाल साप्ताहिकमा गोकर्ण गौतमले लेखेका छन्।

‘सोचेजस्तो लाइक आएन भने अलोकप्रिय भएँ, अरुले वास्ता गरेनन् भन्ने चिन्ता हुन्छ,’ खनाल भन्छन्, ‘मान्छेले आफ्नो अस्थित्व र लोकप्रियताको मानक सामाजिक सञ्जाललाई मान्न थालेको छ। सबैलाई यहीँ र यसैमार्फत अरुको ध्यान खिच्नुपरेको छ। जब कि यो पूरापूर भ्रम र नक्कली दुनियाँ हो।’

डिजिटल एडिक्सन अर्थात विद्युतीय दुव्र्यसनकै एउटा रुप हो यो।

कतिपय मान्छे ठान्छन्, फेसबुकमा प्रायः किशोर किशोरी सक्रिय हुन्छन्। त्यसैले उनीहरुमै चर्चाको भोक हुन्छ र अनेक हथकण्डा गर्छन्।

तर तथ्यहरुले देखउँछन् कि सामाजिक सञ्जालमा सक्रिय हरेक उमेर समूह, पेसा व्यवसायका मानिस आत्मरतिमा रमाउँछन्। रुप फरक होला, सार उही छ।

कोही सामाजिक सञ्जालमा चाकडी गरेर शक्तिशाली र सम्पन्नको प्यारो हुन खोज्छन्, कोही आक्रोस पोखेर विरोधी खेमासँग।

टिकटकको अवस्था झन् भयावह छ। टिकटकबारे ज्यादै चर्चा भएपछि मानवशास्त्री सञ्जीव पोखेलले तीनसाताअघि टिकटक खाता खोले।

प्रयोगकर्तालाई नियालेपछि पोखरेल थप चिन्तित भएका छन्।

कतिपय त दैनिक १५ वटा भिडियो हाल्दा रहेछन्। सामान्य युवतीदेखि सेलिब्रेटीसम्म पर्छन्, यसमा।

लाइक, सेयर र फलो माग्छन्। पोखरेल भन्छन्, ‘अरुले आफूलाई हेरिदिऊन् भन्नेबाहेक अर्को ध्याउन्न र फाइदा हुँदो रहेनछ।’

टिकटक भिडियो १५ सेकेन्डको हुन्छ। तर एउटा बनाउन औसत आधा घन्टा लाग्छ। अरु इफेक्ट्स राख्ने हो भने तीन चार घन्टा नै लाग्छ।

दिनमा चार पाँच वटा टिकटक बनाउने हो भने कति समय खर्च होला?

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad