१३औँ दक्षिण एसियाली खेलकुद (साग) सुरु हुन ५ दिन बाँकी छ। तर, स्वर्ण पदकको प्रबल दाबेदार उसु खेलाडी निमा घर्तीमगरले खेल्न पाउने अझै निश्चित भएको छैन।
निमा १३औँ सागका लागि छनोट भएर लामो समयदेखि बन्द प्रशिक्षणमा छिन्। उनी नान् छ्वान अलराउन्डर क्याटागोरीकी प्रतिस्पर्धी हुन्। यस स्पर्धामा अहिलेसम्म निमा र एक बंगलादेशी खेलाडीबाहेक अन्यको नाम नै दर्ता भएको छैन।
‘दुई खेलाडीले मात्रै प्रतिस्पर्धा गरेर सागमा उसुका कुनै इभेन्ट सम्पन्न हुन सक्दैन। उसु संघका पदाधिकारीहरूले अन्य देशबाट पनि खेलाडी बोलाउने प्रयास भइरहेको जनाएका छन्। त्यसो भयो भने निमाले प्रतिस्पर्धा गर्नेछिन्,’ राष्ट्रिय टिम तयारी समितिका संयोजक रिम रानाभाटले नयाँ भने। यो खबर आजको नयाँ पत्रिकामा दीपेन्द्र गुरुङले लेखेका छन्।
खेलाडी दर्ताको समयसीमा सकिइसकेपछि अन्य खेलाडीको नाम थप गर्न मिल्छ वा मिल्दैन भन्ने प्रश्नमा भने राष्ट्रिय खेलकुद परिषद् तथा नेपाल ओलम्पिक कमिटीका पदाधिकारीहरू खुल्न चाहेनन्। १३औँ सागका लागि खेलाडी दर्ताको समयसीमा सकिएको ६ दिन भइसकेको छ।
१२औँ सागमा व्यक्तिगत स्पर्धामा उसुकी निमा घर्तीमगर र जुडोकी फुपुल्हामु खत्रीले नेपाललाई स्वर्ण दिलाएका थिए।

प्रतिक्रिया