पुराना ६ मन्त्रीलाई बिदावारी गर्दै प्रधानमन्त्री केपी ओलीले बिहीबार मन्त्री–राज्यमन्त्रीसहित ९ जनालाई आफ्नो मन्त्रीमण्डलमा भित्र्याएका छन् ।
मन्त्रीमण्डलमा प्रवेश पाएका ९ मध्ये मधेसी पृष्ठभूमिका दुई मन्त्रीको सम्बन्ध भने निकै रोचक छ । ती हुन्, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठी र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादव ।
यी दुवै नेता पछिल्लो चुनावमा वामगठबन्धनको तर्फबाट प्रतिनिधिसभामा निर्वाचित हुन् । ०७४ को निर्वाचनबाहेक ०४८ यता दुवैको कम्युनिस्ट राजनीतिसँग कुनै साइनो–सम्बन्ध नै थिएन । यो खबर आजको नयाँ पत्रिकाले छापेको छ।
बिहीबार मन्त्री बनेका यी दुईमध्ये राजपा छाडेका त्रिपाठी तत्कालीन एमालेको सूर्य चुनाव चिह्नबाट ‘स्वतन्त्र उम्मेदवार’को रूपमा नवलपरासी–३ बाट निर्वाचित भएका हुन् भने यादव तत्कालीन माओवादी केन्द्रका तर्फबाट सर्लाही–३ बाट ।
राजपाको महामन्त्रीसमेत रहेका प्रदेश–२ का भौतिक योजनामन्त्री जितेन्द्र सोनलका भनाइमा यादव र त्रिपाठी दुवैले सद्भावना पार्टीबाट बहुदलीय राजनीति सुरु गरेका हुन् । तर, यतिवेला दुवैलाई कम्युनिस्ट पार्टीबाट एउटै मन्त्रीमण्डलको सदस्य बन्ने रोचक अवसर जुरेको छ ।
विद्यार्थी कालमा वामपन्थी राजनीतिमा लागेका त्रिपाठी ०४७ को परिवर्तनपछि गजेन्द्रनारायण सिंहले स्थापना गरेको नेपाल सद्भावना पार्टीको राजनीतिमा लागे । र, नवलपरासीबाट प्रतिनिधिसभामा निर्वाचित भए ।
०५१ को निर्वाचनमा पनि उनी सद्भावनाकै सांसदको रूपमा प्रतिनिधि सभामा पुगे । ०५६ को निर्वाचनमा पनि उनलाई सफलता हात पर्यो ।
तर, सद्भावनाको राजनीति रामेश्वरलाई कहिल्यै फाबेन । बहुदलीय व्यवस्थाका तीनवटै निर्वाचनमा उनी पराजित भए । यद्यपि, ०५४ मा उनी सद्भावनाको तर्फबाट राष्ट्रिय सभाको सदस्य बने ।
बहुदलीय व्यवस्था कालभर सद्भावनाको राजनीति गरेका हृदयेश र रामेश्वर पार्टीभित्र एउटै खेमामा रहे । परिणामस्वरूप ०५४ मा सद्भावना पार्टीमा विवाद सिर्जना हुँदा दुवैको नेतृत्वमा पार्टी विभाजित भयो । र, दुवै मिलेर नेपाल समाजवादी जनता दल नामको पार्टी खोले ।
सूर्यबहादुर थापाको मन्त्रीमण्डलमा यादव जनता दलको तर्फबाट वनमन्त्री बने । यादवलाई मन्त्री बनाउन त्रिपाठीको भूमिका महत्वपूर्ण रह्यो ।
खासमा तत्कालीन सद्भावना पार्टीमा बढ्दै गएको राजेन्द्र महतोको दबदबाका कारण दुवैले सद्भावना विभाजन गरी नयाँ दल गठन गरेका थिए । तर, विभाजित पार्टीको भविष्य नदेखेपछि केही वर्षभित्रै उनीहरू सद्भावना पार्टीमै फर्किए ।
०६२–०६३ को आन्दोलनअघि दुवै सद्भावनाको राजनीतिमा थिए । अर्को रोचक पक्ष के छ भने तत्कालीन राजा ज्ञानेन्द्र शाहले ०६१ सालमा गरेको ‘कू’ को हृदयेश विरोधी थिए भने रामेश्वर समर्थक ।
Shares

प्रतिक्रिया