छापा खबर


आलमले कारागारबाटै दिए आफूलाई पक्राउ गर्ने एसपीलाई यस्तो धम्की

आलमले कारागारबाटै दिए आफूलाई पक्राउ गर्ने एसपीलाई यस्तो धम्की

नेपालखबर
मंसिर ३, २०७६ मंगलबार २:२१,

कर्तव्य ज्यान मुद्दामा नख्खु कारागारमा रहेका पूर्वमन्त्री तथा कांग्रेस सांसद मोहम्मद आफताब आलमले रौतहट कारागार जान चलखेल थालेका छन्।

आफूलाई जबर्जस्ती नख्खु कारागार ल्याइएको भन्दै आलमले रौतहट स्थानान्तरणका लागि कांग्रेस नेता रामचन्द्र गिरीलाई परिचालन गरेका खबर आजको कान्तिपुर दैनिकमा मातृका दाहालले लेखेका छन्।

गिरीले आइतबार दिउँसो नख्खु कारागार पुगेर आलमसँग भेट गरेका थिए । भेटपछि आलमले कारागार स्थानान्तरणका लागि हिन्दीमा लेखेको मागपत्र कारागार प्रशासनलाई बुझाएका छन् । उक्त मागपत्र कारागार प्रशासनले कारागार व्यवस्थापन विभागमा पठाएको छ।

स्थानान्तरणका लागि आलमको माग आफ्ना समर्थक भड्काएर मुद्दा प्रभावित बनाउने खेलअनुसार आएको हुन सक्ने सुरक्षा निकायको विश्लेषण छ।

मागपत्रमा रौतहटका प्रहरीप्रति टिप्पणी गर्दै आलमले उनीहरूलाई राम्रो नहुने चेतावनी दिएका छन् । वो एसपी (भूपेन्द्र खत्री, रौतहट) ने मेरे साथ गलत किया, उसका भी बुरा होगा,’ आलमले लेखेका छन्।

प्रहरीले आलमलाई भेट्न आउनेमाथि विशेष निगरानी राखेको छ । नख्खु कारागार आफ्ना लागि सहज नभएको उल्लेख गर्दै आलमले आफन्त र नातेदारबाहेक अरूलाई भेट्न नदिइएकोप्रति पनि असन्तुष्टि जनाएका छन्।

‘मेरा सारा दोस्त मेरा रिस्तेदार है,’ उनले लेखेका छन्, ‘यहाँ (रौतहट) सुरक्षा दिन सकिँदैन भनेर रातारात कारागार स्थानान्तरण (नख्खु) गरियो, सुरक्षा दिने काम प्रशासनको हो न कि स्थानान्तरण ।’

असोज २६ मा पक्राउ गर्न गएका प्रहरीलाई समेत दुर्व्यवहार गरेका आलमले एसपी खत्री र डीएसपी नवीन कार्कीलाई हत्कडी लगाउने र जिल्ला अशान्त पार्ने धम्की दिएका थिए । त्यस क्रममा आलमले आफूलाई पक्राउ गरिएको प्रतिशोधमा जिल्ला अशान्त पार्ने र त्यसको जिम्मेवारी प्रहरीले नै लिनुपर्ने बताएका थिए ।

आफू रौतहट कारागारमा बस्न चाहे पनि सुरक्षाको कारण देखाउँदै नख्खु ल्याइएकोप्रति पनि उनको आक्रोश छ । उनले नेता गिरीलाई कारागार विभागका महानिर्देशकसँग कुरा गरेर रौतहट स्थानान्तरणको व्यवस्था मिलाउन आग्रह गरेका थिए ।

गिरीले यसबारे ‘माथि कुरा गर्छु’ भन्ने आश्वासन दिएको स्रोतको भनाइ छ । शान्तिसुरक्षा र परिस्थितिको विश्लेषण गरेर नै उनलाई रौतहटबाट नख्खु ल्याइएको र तत्काल स्थानान्तरणको अवस्था नरहेको विभाग स्रोतले बताएको छ ।

पक्राउपछि ३ साता लामो अनुसन्धान गरेर प्रहरीले आलमलाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थ भण्डारण कसुरमा कैद सजाय हुने रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय रौतहटमा बुझाएको थियो ।

सोही प्रतिवेदनकै आधारमा जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटवालले अदालतमा कात्तिक १८ मा मुद्दा चलाएका थिए । १० दिन लामो थुनछेक बहसपछि जिल्ला न्यायाधीश दीपक ढकालको इजलासले गत शुक्रबार आलमलाई पुर्पक्षका लागि कारागारमा राख्न र पीडित एवं साक्षीको संरक्षण गर्न आदेश दिएको थियो।

आदेशलगत्तै शुक्रबार राति नै प्रहरीले उनलाई नख्खु कारागार ल्याएको थियो । ०६४ चैत २७ गते राजपुर बम विस्फोटका घाइतेलाई इँटाभट्टामा हालेर मारेको अभियोग आलममाथि छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad