त्रिभुवन विश्वविद्यालय मातहतको परिक्षण नियन्त्रण कार्यालयबाटै मानविकी विषयमा स्नातक तहको नक्कली लब्धांकपत्र र चारित्रिक प्रमाणपत्र जारी भएको पाइएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनबाट त्रिविका तत्कालीन परीक्षा प्रशासन महाशाखा प्रमुख वैकुण्ठप्रसाद थपलियाले स्नातक तहको नक्कली लब्धांकपत्र र चारित्रिक प्रमाणपत्र जारी गरेको पाइएको खबर आजको कान्तिपुर दैनिकले छापेको छ।
अख्तियारका अनुसार थपलियाले गोरखापत्र संस्थानका तत्कालीन उपसम्पादक वासुदेव पोखरेललाई स्नातक तहको नक्कली प्रमाणपत्र बनाइदिएका हुन् । पोखरेलले उक्त नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा गोरखापत्र संस्थानमा सेवा प्रवेश गर्नुका साथै बढुवासमेत भएका थिए।
पोखरेलको शैक्षिक प्रमाणपत्रको छानबिनका क्रममा त्रिविबाट जारी उनको स्नातक तहको लब्धांकपत्र र चारित्रिक प्रमाणपत्र नक्कली भएको फेला परेको अख्तियारले जनाएको छ।
थपलियाले नक्कली शैक्षिक प्रमाणपत्र जारी गरेको र गोरखापत्र संस्थानका तत्कालीन उपसम्पादक पोखरेलले त्यसैका आधारमा सेवा प्रवेश गरी बढुवासमेत भएका छानबिनबाट पुष्टि भएकाले दुवै विरुद्ध सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।
थपलियाले गलत मनसायका साथ नक्कली लब्धांकपत्र र चारित्रिक प्रमाणपत्र प्रमाणीकरण गरेकोसमेत अख्तियारले उल्लेख गरेको छ।

प्रतिक्रिया