छापा खबर


एसएसबीको आडमा नेपाली भूमिमा खेती गर्छन् भारतीय

एसएसबीको आडमा नेपाली भूमिमा खेती गर्छन् भारतीय

नेपालखबर
कात्तिक २४, २०७६ आइतबार २३:४३,

पश्चिम नवलपरासीस्थित सुस्ता गाउँपालिका–५ को भारतीय सीमावर्ती क्षेत्र अहिले घनाजंगल बनेको छ । यहाँ दशगजा कहाँ छ भन्ने न राज्यलाई थाहा छ न त स्थानीयलाई।

भारतीय पक्षले एउटा सिमलको रूखलाई सीमास्तम्भ भन्छ । सुरक्षाकर्मीले त्यहीँसम्म गस्ती गर्छन् । दुवैतर्फका किसानले त्यही रूखलाई आधार मानेर भूमि उपभोग गर्दै आएका खबर आजको कान्तिपुर दैनिकले छापेको छ।

तर, सुस्ता बचाउ अभियानका अध्यक्ष गोपाल गुरुङ रूखलाई सिमाना मान्न तयार छैनन् । ‘त्यहाँभन्दा धेरै परसम्म नेपाली भूभाग हो । भारतले अतिक्रमण गरेर विवाद बढेपछि रूखलाई काल्पनिक स्तम्भ मानिएको छ,’ उनले भने, ‘राज्यको बलियो उपस्थिति र कूटनीतिक पहल नहुँदा आफ्नै भूमि जोतभोग गर्न पाएका छैनौं।’

केही स्थानमा कुलेसोलाई सिमाना मानिएको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी) को आडमा सीमापारिकाले नेपाली भूमिमा खेती गरिरहेका छन्।

भारतीय पक्षले अहिले धनैया क्षेत्रमा नेपालीलाई खेती गर्न रोक लगाएको छ। जबकि आफूहरूसँग उक्त जग्गाको लालपुर्जा रहेको स्थानीय बताउँछन्।

अभियानका उपाध्यक्ष आदम खाँका अनुसार सुस्ताको ४० हजार ९ सय ८० हेक्टर क्षेत्रफलमध्ये १४ हजार हेक्टर अतिक्रमणमा परेको छ । एसएसबीले ०६२ सालदेखि विवादित भूमि भन्दै १९ हजार ९ सय ८० हेक्टरमा खेती गर्न रोक लगाएको छ।

‘द्वन्द्वकाल थियो, सुरक्षाकर्मीको उपस्थिति थिएन । हामी भूमि बचाउन भारतीय एसएसबीसँग जुधेका थियौं,’ उनले भने, ‘विडम्बना, पछि दुवै देशका सुरक्षा अधिकारीले नेपाली लालपुर्जा भएको भूमिलाई पनि विवादित भन्दै खेती गर्न रोक लगाए । अहिले सुस्ता जम्मा ७ हजार हेक्टरमा खुम्चिएको छ।’

स्थानीयका अनुसार यहाँ सरकारले ०२२ सालमा बस्ती बसालेको थियो । तर ०३४ सालमा नारायणी बाढीले डुबानमा पारेपछि उनीहरूलाई त्रिवेणी क्षेत्रमा लगियो।

त्यही मौकामा भारतीय पक्षले नेपाली भूमि अतिक्रमण गरेको ६५ वर्षीया दीपरानी हरिजनले बताइन् । ‘बाढी आएपछि ज्यान जोगाउन गएका थियौं,’ उनले भनिन्, ‘फर्केर आउँदा हाम्रो जमिन भारतले कब्जा गरेको थियो।’

सुस्ता–५ का ओमप्रकाश चौधरीले आफ्नै साढे तीन बिघा जग्गा भोगचलन गर्न पाएका छैनन् । ‘नापी कार्यालयमा हाम्रो नाममा रहेको जग्गा अहिले भारतीयले आफ्नो बनाइसके,’ अर्की स्थानीय माधुरी भरले भनिन्।

सीमास्थित सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक भरत खनियाँले सिमलको रूखबाट वारि र पारि भन्ने गरिए पनि त्यो आधिकारिक सिमाना नरहेको बताए।

‘भारत सिमलको रूखसम्म आएपछि अतिक्रमण रोकिएको थियो,’ उनले भने, ‘अहिले त्यसैलाई आधार मानिएको छ । दुई देशबीच उच्चस्तरमा नापनक्सा गरेपछि मात्र सिमाना तय हुनेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad