छापा खबर


इजलासमा आलम र न्यायाधीशबीच यस्तो सवालजबाफ

इजलासमा आलम र न्यायाधीशबीच यस्तो सवालजबाफ

नेपालखबर
कात्तिक २०, २०७६ बुधबार १:५१,

न्यायाधीशः तपाईंको नामथर र वतन के हो?

आलमः मेरो नाम मोहम्मद अफताब आलम हो। मेरो घर राजपुर हो।

न्यायाधीशः वारदात भएको मिति २०६४ चैत २७ गते तपाईंले प्रयोग गरेको मोबाइल नम्बर कति थियो?

आलमः त्यस बेलाको मोबाइल नम्बर मलाई सम्झना छैन।

न्यायाधीशः तपाईंको जन्ममिति कति हो? कति वर्षको हुनुभयो?

आलमः म २०१९ सालमा जन्मेको हो। अहिले ५७ वर्षको भएँ।

न्यायाधीशः तपाईंको स्थायी ठेगाना कहाँ हो?

आलमः म राजपुर नगरपालिका ४ मा बस्छु।

न्यायाधीशः तपाईंले कुन विद्यालय र कलेजबाट कतिसम्म अध्ययन गर्नुभएको छ?

आलमः मैले बीएससीसम्म अध्ययन गरेको छु।

न्यायाधीशः तपाईं के काम, पेसा, व्यवसाय गर्नुहुन्छ?

आलमः मैले २०३६ सालदेखि राजनीति गरेको छु। मेरो अन्य पेसा–व्यवसाय छैन।

न्यायाधीशः तपाईं र तपाईंको अंशबण्डा नभएका परिवारका सदस्यका नाममा के कति चलअचल सम्पत्ति छ?

आलमः मेरो १२ जनाको सगोलको परिवार छ। मेरो परिवारजनको समेत नाममा जोडेर २२ बिघाजति जग्गा छ। चल सम्पत्ति खासै छैन।

न्यायाधीशः तपाईंको स्वास्थ्य अवस्था के छ? प्रहरी हिरासतमा कुनै किसिमको यातना दिएको छ कि छैन?

आलमः मेरो स्वास्थ्य ठीक छ। म रक्तचापको बिरामी हुँ। प्रहरीले मलाई कुनै किसिमको यातना दिएको छैन।

न्यायाधीशः तपाईंले कानुन व्यवसायी नियुक्त गर्नुभएको छ कि छैन? छैन भने तपाईंले निःशुल्क रूपमा कानुनी सहायता पाउन सक्नुहुन्छ भन्ने जानकारी तपाईंलाई छ कि छैन?

आलम? मैले आफ्नो कानुन व्यवसायी नियुक्त गरेको छु। उहाँहरूले नै मेरो पक्षमा मुद्दा लड्नुहुन्छ।

०००
हत्या आरोपमा पक्राउ परेका निलम्बित सांसद मो. अफताब आलमसँग न्यायाधीश दीपक ढकालले लिएको बयान हो यो। इजलासमा मंगलबार नेता आलमसँग बयान लिइएको हो।

बयानका लागि बिहान साढे १० बजेतिर अदालत लगिएको थियो। तर, सवा ३ बजे मात्रै बयान सुरु भएको थियो। जिल्ला अदालतमा बुधबार पनि आलमसँग बयान लिइने भएको छ।

यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा रौतहटबाट फणि महतले लेखेका छन्।

आलमलाई साढे एक बजेतिर इजलासमा उपस्थित गराए पनि उनको पक्षमा रहेका कानुन व्यवसायीले केही समय बयान रोकेका थिए। आलमसँग मंगलबार नौ वटा प्रश्न सोधिएको छ। त्यसपछि कार्यालय समय सकिएकाले बयान रोकिएको हो।

आलम पक्षका कानुन व्यवसायीले मिसिलको फोटोकपी नपाएको भन्दै केहीबेर बयान रोकेका थिए। फोटोकपी वितरण भएपछि बयान थालिएको हो। बयान नसकिएकाले आलमलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा लगिएको छ।

आठ सयभन्दा बढी पृष्ठको मिसिल फोटो कपी गर्न समय लागेकाले वितरणमा ढिलाइ भएको सरकारी वकिल कार्यालयले जनाएको छ।

आलमलाई ३२ वर्ष कैद माग गर्दै सोमबार जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो। कर्तव्य ज्यान मुद्दामा २० वर्ष, ज्यान मार्ने उद्योगमा १० वर्ष र विस्फोटक पदार्थसम्बन्धी मुद्दामा २ वर्ष कैद माग गरेर मुद्दा दर्ता गरिएको जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad