प्रधानमन्त्री केपी ओलीले सबै मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गरेर जिम्मेवार तोकेका छन्।
अहिले सबैजसो मन्त्रालयमा कार्यसम्पादन सम्झौता हुन थालेको छ। यसको सुरुवात भने गृह मन्त्रालयबाट भएको थियो।
मन्त्रालयले महाशाखाका प्रमुख तथा ७७ जिल्लाकै प्रमुख जिल्ला अधिकारी (सिडिओ) सँग गत वर्ष सम्झौता गरेको थियो।
माघदेखि असारसम्मको कार्यसम्पादन मूल्यांकन गरेर मन्त्रालयले सिडिओहरुको प्राप्तांक, प्रतिशत र ग्रेडिङ गरेको खबर आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले लेखेका छन्।
यसबाट सिडिओहरुबीच काममा प्रतिस्पर्धाको भावना बढ्ने गृह मन्त्रालयले जनाएको छ।
गृह मन्त्रालयले तयार गरेको ७७ जिल्लाका सिडिओहरुको रिपोर्टकार्डअनुसार पाँच जिल्लाका सिडिओले ए प्लस ग्रेड ल्याएका छन्।
त्यसैगरी ३५ जिल्लाका सिडिओले ए, २८ जिल्लाका सिडिओले बी प्लस, ६ जिल्लाका सिडिओले बी र तीन जिल्लाका सिडिओले सी प्लस ग्रेड प्राप्त गरेका छन्।
बर्दियाका सिडिओ रामबहादुर कुरुम्बाङ, अर्घाखाँचीका प्रेमलाल लामिछाने, रसुवाका कृष्ण पौडेल र अर्जुन भण्डारी, चतिवनका जितेन्द्र बस्नेत र रुपन्देहीका उदय राना र अर्जुन पोखरेलले ए प्लस ग्रेड ल्याएका छन्।
यस्तो थियो मूल्यांकनको मापदण्ड
मन्त्रालयले हरेक कामको नम्बरसहितको सूचकअनुसार कार्यसम्पादन सम्झौता गरेको थियो । जसमा शान्तिसुरक्षा तथा अमनचयनमा ४६ नम्बर राखिएको छ । त्यस्तै सुशासन तथा सेवा प्रवाहमा २७, शासकीय सुधार र रूपान्तरणमा ८, विपद् व्यवस्थापनमा १०, समन्वय तथा सहजीकरणमा ५ तथा सदाचार तथा आर्थिक अनुशासनमा ६ नम्बर राखेर मूल्यांकन गरिएको छ।
हरेक सूचकभित्र अपराध घटाउनुपर्नेदेखि सेवा प्रवाहमा सुधार ल्याउनुपर्ने कामहरूको विवरण उल्लेख थियो । मन्त्रालयले अन्य देशसँग सीमा जोडिएका जिल्लाका सिडिओलाई १०२ तथा अन्य जिल्लाका सिडिओलाई ९९ नम्बरको पूर्णांकमा मूल्यांकन गरेको थियो ।
सिडिओहरूको नतिजा ६ वटा ग्रेडमा
देशमै पहिलोपटक कार्यालय प्रमुखसँग यस्तो सम्झौता भएर रिपोर्टकार्ड तयार पारिएको हो । पाँच जिल्लाका सिडिओले ए प्लस, ३५ ले ए, २८ ले बी प्लस र ६ जिल्लाका सिडिओले बी ग्रेड पाएका छन्।
हुम्ला, सिन्धुपाल्चोक र खोटाङका सिडिओले भने सी प्लस पाए । ९० भन्दा माथि नम्बर ल्याउनेलाई ए प्लस, ८० देखि ९० ल्याउनेलाई ए, ७० देखि ८० ल्याउनेलाई बी प्लस, ६० देखि ७० ल्याउनेलाई बी, ५० देखि ६० नम्बर ल्याउनेलाई सी प्लस ग्रेडमा राखिएको छ।
४० देखि ५० नम्बर ल्याउनेलाई सी ग्रेडमा राखिएको थियो । तर, त्यसमा कोही परेनन् । मन्त्रालयले आफुले गरेका कामहरूको विवरणसहितको फर्म भरेर पठाउन लगाई त्यसलाई परीक्षण गरिएको थियो । सोही आधारमा उनीहरूको मूल्याङकन भएको हो ।
गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले पछिल्लो सयम सिडिओहरुबीच प्रतिस्पर्धा बढेको बताए।

प्रतिक्रिया